‘प्रधानमन्त्री र उपप्रधानमन्त्रीकै मिलेमतोमा नेपाल ट्रस्टको जग्गा हिनामिना’

काठमाडौं, पुस ७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलकै मिलेमतोमा नेपाल ट्रस्टको जग्गा हिनामिना भइरहेको आरोप लगाएका छन् ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा बोल्दै सांसद अधिकारीले प्रधानमन्त्री ओलीकै संरक्षणमा नेपाल ट्रस्टको जग्गा हिनामिना गरी व्यवसायीलाई दिइएको आरोप लगाए ।

नेपाल ट्रस्टको जग्गा हिनामिना हुँदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग चुप लागेर बसेको भन्दै उनले आयोगको भूमिकाप्रति गम्भीर प्रश्न उठाए ।गोकर्ण रिसोर्टबारेको सम्झौता जानकारी गराउन माग

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले सरकारलाई गोकर्ण फरेस्ट यती समूहलाई दिने सम्झौताबारे सदनलाई जानकारी दिन माग गरेका छन् ।

बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले गोकर्ण रिसोर्टबारे सरकारले गरेको सम्झौता सदनलाई यथार्थ जानकारी दिन माग गरेका हुन् ।

यस्तै, प्रमुख सचेतक भट्टराईले नारायणहिटी दरबारअगाडि नेपाल ट्रस्टको जग्गालाई लिएर भएको आलोचना र विवादबारे पनि सदनलाई जानकारी गराउन माग गरे ।

पुरानो सम्झौताको अवधि ६ वर्ष बाँकी हुँदा नै सरकारले हालै रिसोर्टमा भएको जग्गा यती समूहलाई दिने सम्झौताको म्याद थप गरेको थियो । सरकारको यो निर्णयलाई लिएर आलोचना र विरोध भइरहेको छ ।

अतिक्रमित भू–भाग फिर्ता ल्याउने पहलबारे जानकारी गराउन माग

बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले भारतबाट अतिक्रमित नेपाली भू–भाग फिर्ता ल्याउन सरकारले गरिरहेको पहलबारे सदनलाई जानकारी गराउन माग गरे ।

अतिक्रिमित भू–भाग फिर्ता गर्न सरकारले पर्याप्त कदम नचालेको आरोप लगाउँदै उनले फिर्ता ल्याउन भइरहेको प्रयासबारे प्रधानमन्त्री नै आएर सदनलाई जानकारी दिन माग गरे ।बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक २०७६, र ‘राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक २०७५ टेबुल गरे ।

सोमबारको बैठकमा ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक,२०७६’ सभामा पेस भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *