एमसीसी यथास्थितिमै पारित नगर्न नेकपामा झन्‌झन् दबाब

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय समिति बैठकका चार समूहले मिलिनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी अन्तर्गतको कम्याक्टका केही प्रावधान संशोधन गरेर मात्रै पास गर्नु पर्ने निष्कर्ष निकालेका छन्।

जारी नेकपा केन्द्रीय समिति बैठकका छलफलका लागि निर्माण गरिएका १५ समूह मध्ये ४ समूहले शुक्रबार प्रस्तुत गरेको रिपोर्टमा उक्त सम्झौता यथास्थितिमा पास गर्न नमिल्ने अडान राखिएको छ।उक्त सम्झौताबारे सबै समूहमा उत्तिकै छलफल भएपनि यी चार समूहले शुक्रबार आफ्नो रिपोर्टमै अडान लिएका छन्।

शुक्रबार रिपोर्ट प्रस्तुत गर्ने २ नम्बर समूह नेता कमला रोकाले भनिन, ‘एमसीसीका मामिलामा पार्टीमा एउटा धारणा हुनुपर्छ भन्ने हाम्रो निष्कर्ष रह्यो। एमसीसीलाई लिनासाथ राष्ट्रघात हुने, नदिँदा पैसा जाने भन्ने दुई अतिवादी सोच हटाउनु पर्छ भन्ने हाम्रो निचोड हो।’

यस्तै शुक्रबार नै रिपोर्ट प्रस्तुत गरेको समूह नम्बर ६ का नेता दिनानाथ शर्माले एमसीसीबारे पहिले सदस्यहरु नै स्पष्ट हुनुपर्ने, त्यसका लागि पार्टीले प्रशिक्षण दिनु पर्ने र त्यसपछि संशोधन गरेर मात्रै त्यो लागू गर्ने निष्कर्ष निकालेको बताए।

उनले भने, ‘एमसीसीबारे केही साथीहरु प्रष्ट समेत हुनु भएको छैन। उहाँहरुलाई त्यसबारे स्पष्ट पार्ने र संशोधन गरेर मात्रै संसदबाट यो पारित गर्ने हाम्रो निष्कर्ष रह्यो।’समूह नम्बर ९ की नेता भगवती चौधरीले एमसीसीका सम्बन्धमा पनि समूह नम्बर २ को जस्तै निष्कर्ष निकालेको सुनाइन्।

उनले शुक्रबार भनिन्, ‘अहिलेको अवस्थामा एमसीसीसम्बन्धी सम्झौता लागू गर्‍यो भने राष्ट्रलाई घात हुन्छ। त्यो सच्चाएर लागू गर्नु पर्छ भन्ने हाम्रो माग हो। त्यही अनुसार आज हामीले रिपोर्ट प्रस्तुत गरेका छौँ नेतृत्वसमक्ष।’यता लेखनाथ न्यौपानेको समूह नम्बर १३ ले पनि आफ्नो रिपोर्ट प्रस्तुत गर्दै एमसीसीका सवालमा उस्तै निष्कर्ष निकालेको छ।

समूहकी सदस्य सीता पौडेलले राष्ट्रको स्वाभिमानलाई आँच आउने गरी एमसीसीसम्बन्धी सम्झौता पारित नगर्ने निचोडमा आफूहरु पुगेको बताइन्।उनले भनिन्, ‘हामीलाई हाम्रो देश बचाउनु छ। देश बचाएर मात्रै अरु काम गर्न सकिन्छ। विकासका नाममा सबै काम गर्न सकिँदैन। एमसीसी सम्बन्धी सम्झौता संशोधन गरेर मात्रै संसदले पारित गर्नु पर्छ भन्ने हाम्रो माग हो।’

बैठकका बाँकी ११ वटा समूहले छलफलको निष्कर्ष शनिबार सुनाउने छन्। यी समूहले बिहीबारदेखि अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेललले प्रस्तुत गरेको सांगठनिक तथा विधान संशोधन सम्बन्धी

प्रतिवेदनमाथि छलफल गरि निष्कर्ष निकाल्ने जिम्मेवारी पाएका थिए।यी प्रतिवेदनबाहेक समसामयिक विषय एमसीसी, निर्वाचन प्रणाली, महिला सहभागिताका सवालमा र अध्यक्ष एवं पार्टी प्रधानमन्त्री ओलीले उद्घाटन मन्तव्यमा सुनाएको सरकारको कामकारवाही र उपलब्धीको फेहरिस्तबारे पनि यी समूहले छलफल गरी निष्कर्ष निकालेका छन्।राष्ट्रियसभागृहमा बुधबार सुरु भएको बैठकमा समूहगत छलफलका लागि तीन समूह पेरिसडाँडा, चार समूह धुम्बाराही र ८ समूह राष्ट्रियसभागृहमा बाँडिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *