कोरोना भाइरसका संक्रमित र सम्भावित बिरामीलाई उपचार गर्ने जिम्मा सेनालाई

काठमाडौँ। सरकारले कोरोना भाइरसका सम्भावित बिरामीलाई आइसोलेटेड वार्डमा राखेर उपचार गर्न नेपाली सेनालाई निर्देशन दिएको छ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सरकारले आइसोलेटेड वार्डको खोजी गरेर तयारी थाल्न निर्देशन दिएको जानकारी दिए।हामीले विगतमा इबोलाका बिरामीलाई आइसोलेटेड वार्डमा राखेर २१ दिनसम्म उपचार गरेका थियौँ। त्यही भएर पनि हामीलाई त्यो जिम्मेवारी आएको

हुन सक्छ’, सैनिक प्रवक्ता पाण्डेले भने। स्वास्थ्य मन्त्रालयको नेतृत्वमा नियमित छलफल भइरहेको र चाँडै यसबारे निष्कर्षमा पुग्ने उनले बताएका छन्।सेनाले २०७१ सालमा लाइबेरियामा शान्ति मिसनमा रहेका आफ्ना सैनिक कर्मचारीमा इबोलाको संक्रमण देखिएपछि आइसोलेटेड वार्डमा राखेर सफलतापूर्वक उपचार सम्पन्न गरेको थियो। सैनिक प्रवक्ता पाण्डेले कहाँ राखेर उपचार गर्ने भन्नेबारे निश्चित भइनसकेको बताए। ‘हामीलाई योजना बनाउनुस् भनेर निर्देशन भएको छ। अब त्यसबारे तयारी सुरु हुने छ’, उनले भने।

यसैबिच चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान स्थगन गरेको छ।एयरलाइन्सले तत्कालका लागि चीनका तीन शहर सेन्जेन, छाङसा र गोया उडान स्थगित गरेको हो।कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले कोरोना भाइरसको प्रकोपको सम्भावित जोखिमलाई दृष्टिगत गरी केही समयका लागि उडान स्थगन गरिएको जानकारी दिए।

हिमालयले चार्टड उडान गरिरहेका तीन गन्तब्यको उडान स्थगन गरे पनि नियमित उडान भइरहेको बेइजिङ र छोङछिङमा भने यात्रुको अवस्थालाई मध्यनजर गरेर उडान भर्ने जनाएको छ। यो गन्तव्यको उडान आगामी ६ फेब्रुअरी २०२० देखि स्थगन गर्ने योजना बनाएको कम्पनीले बजारको अवस्था अनुरुप सेवा दिनेछ।कम्पनीका सेवा सुधार शाखाका प्रमुख उज्ज्वला दलीले बेइजिङ र छोङछिङको ‘सेडुअल’ उडान रिरन्तर रहने तर कम्पनी आफैँले बजारको अध्ययन गरी आवश्यकताको आधारमा उडान सञ्चालन गर्ने बताए।

हिमालयले चीनका विभिन्न शहरसँगै हाल बङ्गलादेशको ढाका, मलेसियाको क्वालालम्पुर, यूएईको अबुदाबी, दुबई, साउदी अरेबियाको दमाम र कतारको दोहामा सिधा उडान गरिरहेको छ । कोरोना भाइरस पहिलो पटक चीनको वुहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा पहिचान भएको थियो।

के हो कोरोना ?

वैज्ञानिकहरुका अनुसार यो नयाँ किसिमको कोरोना भाइरस हो । जुन १७ वर्षअघि महामारी जस्तै बनेर फैलिएको मार्ससँग मिल्दोजुल्दो भएको उनीहरुको ठहर छ । विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सिओभी’ नाम दिएका छन् ।यसको आकारबाटै नामाकरण ‘कोरोना भाइरस’ भएको हो । जुन इलेक्ट्रोन माइक्रोस्कोपबाट यसको आकार खिच्दा यो सोलारको रुपमा देखिन्छ । सोही कारण पनि यसलाई कोरोना भाइरस भनिएको बताइन्छ ।

कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट सर्छ । चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ । अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ । यसको संक्रमणबाट ज्वरो आउनु, खोकी लाग्नु, स्वासप्रस्वास छिटोछिटो हुनु, स्वास फेर्न कठिन हुँदै निमोनिया समेत हुनथाल्ने लक्षण देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *