बाजुरामा रुघाखोकी र भाइरल ज्वराेबाट दुई जनाको ज्यान गयो : छिमेकी गाउँपालिकामा पनि फैलँदै

बाजुरा – बाजुरा जिल्लाको पूर्वाेत्तर क्षेमा रहेको हिमाली गाउँपालिका–६, बोल्डिक गाउँमा फैलिएको रुघाखोकी र भाइरल ज्वराेबाट दुई जनाको ज्यान गएकाे छ।ज्यान गुमाउनेमा स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुका ९० वर्षीय दल रावल र त्यसै गाउँकी ५५ वर्षीया प्रेमा कडारा रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक भक्तबहादुर कैलाले जानकारी दिनुभयाे ।

एक सातादेखि फैलिएको रुघाखोकीले गाउँनै प्रभावित भएको र अहिलेसम्म हिमालीमा दुई सय ५० जना र स्वामीकार्तिक खापार गाउँपालिकामा ४० जना बिरामी परेका स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । रुघखोकी नियन्त्रणमा आउन नसकेपछि स्वास्थ्य कार्यालय बाजुराले एक जना डाक्टरसहित तीन जनाको टोली प्रभावित क्षेत्रमा पठाएको छ।

त्यहाँ फैलिएकाे रुघाखाेकी छिमेकी गाउँहरुमा पनि फैलिन थालेकाे छ ।९० परिवार बसोवास रहेको गाउँमा रूघाखोकी र ज्वरो सताउन थालेपछि स्थानीय एन्जल इङ्लिस बोर्डिङ स्कुल ५ दिनका लागि बन्द गरिएको छ । त्यस्तै धुलाचौरमा रहेको भवानी माद्यमिक विद्यालयमा पनि नियमित पठन पाठन भएकाे‍ छैन।

हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले भन्नुभयाे, ‘स्वास्थ्यकर्मीसँगै थप औषधिको व्यवस्थापन भइरहेको र अन्य ठाउँमा फैलिन नदिन गाउँपालिकाले उच्च सर्तकता अपनाएको छ। परिवारका सबै सदस्य बिरामी परेपछि उपचारमा समस्या भएकाले डाक्टर र ल्याबसहितको टोली मगाइएकाे छ र टाेली आएलगतै शिविर सञ्चालन गरिन्छ ।’

चिसोका कारणले जिल्लाका अन्य ठाउँमा भाइरलका बिरामी बढिरहेका छन्। अन्य स्थानीय ठाउँमा पनि फाट्फुट भाइरल रुघाखोकीका बिरामी भेटिएको स्वास्थ्यकर्मीले बताएका छन् । प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीले उपचार गरिरहेको र जिल्ला बाट थप टोली सम्बन्धित क्षेत्रमा हिजो मात्र पठाएको जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *