कोरोनाको कहर : चीनमा अध्ययनरत नेपाली विद्यार्थीका अभिभावकहरुद्वारा स्वास्थ्य मन्त्रालय घेराउ

कोरोनाभाइरस शुरू भएको चीनको हुबे प्रान्तमा रहेका नेपालीहरूलाई उद्धार गर्ने निर्णय कार्यान्वयनमा ढिलाइ गरेको भन्दै त्यहाँ रहेका नेपालीहरूका आफन्तले सरकारप्रति आक्रोश व्यक्त गरेका छन्।

बिहीवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेर उनीहरूले आक्रोश व्यक्त गरेका हुन्। मन्त्रालयमा पुग्नेमा अधिकांश चीनको हुबेमा अध्ययनरत नेपाली विद्यार्थीका अभिभावक र आफन्त रहेका छन्।स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र स्वास्थ्य सचिव खगराज बराललाई भेट्न खोजे पनि उनीहरूले समय नदिएपछि अभिभावकहरूले स्वास्थ्य राज्यमन्त्री नवराज राउतलाई भेटेका थिए। उनले पनि पुरानै कुरा दोहोर्‍याएको भन्दै अभिभावकहरूले निराशा व्यक्त गरे।

कोरोना भाइर प्रभावित वुहान क्षेत्रमा १८० जना नेपालीले उद्धार गरिदिन आग्रह गर्दै बेइजिङस्थित नेपाली दूतावासमा विवरण बुझाएका छन्। यता, सरकारले छोटोभन्दा छोटो वुहान क्षेत्रमा रहेका नेपालाीलाई उद्धार गर्ने बताए पनि सम्पूर्ण प्रक्रिया पूरा गर्न अझै एक हप्ता समय लाग्‍ने जनसंख्या तथा श्‍वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।सरकारले चीनबाट आउन चाहने विद्यार्थी र नागरिकका लागि शिवपरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीमा गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गर्ने तयारी गरे पनि त्यसको सम्पूर्ण तयारी गर्न कम्तिमा एक हप्ता लाग्‍ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले बतायो।

एक अभिभावक दिनेश श्रेष्ठले भने, “उहाँहरूले खाली पुरानै कुरा दोहोर्‍याउनुभयो। हामी आशावादी भएर आएका थियौँ, झन् निराश भयौँ।” अर्का अभिभावक भगवतीलाल कक्षपतिले सरकारले ‘यस्तै आलटाल गरिराखे’ ठूलो जनदबाव दिने बताए।उनले भने, “हामीले बल्लबल्ल राज्यमन्त्रीलाई भेट्न पायौँ। यस्तो दु:ख परेका बेलामा पनि हामीले आफ्ना मन्त्रीलाई भेट्न नपाउने? यो कस्तो पारा हो?” अर्की अभिभावक विमला श्रेष्ठले वुहानमा रहेका आफ्ना छोराले खाना र पानी पनि अभाव भएको बताएको सुनाइन्।

श्रेष्ठले भनिन्, “यस्तो डरलाग्दो अवस्थमा हाम्रा बच्चाहरू बसिरहेका छन्। सरकारले छिटोभन्दा छिटो ल्याओस्, अहिले निरोगी छन्। के सरकारले रोग लागोस् भनेर कुरेको हो?”अर्की अभिभावक हस्न ताम्राकारले आफ्नो छोरीको पीडा सम्झेर निकै चिन्तित भएको बताइन्। उनले भनिन्, “अहिले छोरीको अवस्थाले हामीलाई न राती निद्रा लाग्छ न दिउँसो निद्रा लाग्छ। सरकारले गर्छु गर्छु भन्छ खै त गरेको?” आफ्ना मागहरू सुनुवाइ नभएको भन्दै अभिभावकहरूले वसन्तबहादुर भण्डारीको संयोजकत्वमा एउटा सङ्घर्ष समिति समेत बनाएको बताएका छन्।

भण्डारीले सरकारको कछुवाको गतिमा मात्र काम गरेको भन्दै हुबेमा रहेका आफ्ना आफन्तको तत्काल उद्धार नगरिए आन्दोलन समेत गर्न सक्ने चेतावनी दिए।उनीहरूले वुहान सहरमा रहेका नेपाली विद्यार्थीहरू कस्तो अवस्थामा बसिरहेका छन् भनेर भिडिओ कल गरेर पनि अधिकारीहरूलाई देखाएको उक्त भेटमा सहभागी एक विद्यार्थीकी आफन्त सोमिला कक्षपतिले बताइन्।

नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भने चीनमा रहेका नेपालीहरूको अभिभावकत्व सरकारले लिने आश्वासन दिएका छन्।मन्त्रिपरिषद्‌का निर्णयहरू सार्वजनिक गर्ने हरेक बिहीवार सिंहदरबारमा हुने नियमित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो आश्वासन

दिएका हुन्।एकै पटक१८० जनाको उद्धार गर्नुपर्ने छ, यसमा स्वास्थ्यको मात्र कुरा भएन, त्यसका लागि नेपाल बायुसेवा निगमको २७४ विमान लैजाने कुरा छ, त्यसको लागि त्यसको चार्टर गरी सेड्युल मिलाउन कम्तिमा तीन दिन लाग्‍ने छ’ स्रोतले भन्यो, ‘यहाँ बेड, खाना, पोशाकलगायतका सबै व्यवस्थापन गर्नु पर्छ त्यसले गर्दा अझै एक हप्ता लाग्न सक्छ।‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *