करोडौं भ्रष्टाचार गरेको आरोप लागेका नेताको बचाउमा नेपाली कांग्रेसले थाल्यो आन्दोलन

काठमाडौं । ललिता निवास प्रकरण फेरि चर्चामा आएको छ । नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदारको नाम अहिले चर्चामा आएको छ । भ्रष्टाचार गरेको आरोपमा अख्तियारले अदालतमा दायर गरेको अभियोगपत्रमा गच्छदारले आफ्नो ओहदाको कुनै काम गरिदिएबापत एक करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोप र ठूलो पदमा भई भ्रष्टाचार गरेका कारण उनलाई अधिकतम १२ वर्ष कैद गर्न माग गरिएको छ ।

यो बीचमा नेपाली कांग्रेसले अख्तियार सरकारको कठपुतली बनेको भन्दै विरोध थालेको छ । कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघले ललिता निवास जग्गा अतिक्रमण प्रकरणमा सत्तारुढ दलका नेतालाई जोगाउने काम गरिएको भन्दै धनगढीमा विरोध प्रदर्शन गरेको हो । धनगढी एल.एन चौकमा मसाल जुलुस निकाल्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको हो ।

विद्यार्थीहरुले ललिता निवासको जग्गा प्रकरणमा मुछिएका सत्तारुढ दलका नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेललाई पनि कारबाही गर्न माग गरेका छन् । नेकपाले अख्तियारलाई हातमा लिएर आफ्ना नेतालाई जोगाएको नेवि संघको आरोप छ । कांग्रेस नेता विजयकुमार गच्छदारलाई फसाउन सत्तारुढ दलले झुटा मुद्दा लगाएको विद्यार्थीले आरोप लगाए ।

विजयकुमार गच्छदारको जग्गा प्रकरणमा कुनै भूमीका नरहेको भन्दै आरोप फिर्ता गरिनुपर्ने जुलुशमा सहभागि विद्यार्थीले माग गरेका छन् । जुलुसमा अख्तियार माथिको हस्तक्षप बन्द गर, केपी ओली मुर्दावाद, विजय कुमार गच्छदार माथिको आरोप खारेज गर जस्ता नारा लगाइएको छ । आजै नेवि संघ लगायत सम्पुर्ण भातृ संस्थाले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको छ । आज दिउँसो साढे १२ बजे विरोध गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *