कोरोना भाइरसबाट वुहानमा अमेरिकी नागरिकको मृत्यु

बेइजिङ– कोरोना भाइरसको महामारीका कारण अमेरिकी नागरिक मारिएका छन् ।चीनको वुहान शहरमा बसोबास गर्ने ती ६० वर्षे अमेरिकी नागरिकको त्यहाँको जिन्यिन्तान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बेइजिङस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उनको परिवारको गोपनियतालाई सम्मान गर्दै उनीबारे थप विवरण भने दूतावासले सार्वजनिक नगरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरसको लक्षण देखा परेपछि उनलाई अस्पताल भर्ना गरिएको र उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ ।

त्यस्तै, वुहान शहरमै अर्का जापानी नागरिकको समेत मृत्यु भएको छ । जापानको विदेशमन्त्रालयलले ६० वर्ष उमेर समूहमा रहेका उनको कहिले मृत्यु भएको भन्नेबारे केही खुलाएको छैन । निमोनियाबाट पीडित ती जापानी नागरिकको पनि कोरोना भाइरसबाट नै मृत्यु भएको आशंका गरिएपनि उनीमा भाइरस देखिएको पुष्टि नभएको बताइएको छ ।

महामारीको रुप लिएको कोरोना भाइरसबाट चीनमा शनिबार ८६ जनाले ज्यान गुमाएका छन् । यससँगै कोरोना भाइरसबाट चीनमा ज्यान गुमाउनेको सङ्ख्या ७२२ पुगेको छ । त्यस्तै भाइरसको संक्रमण देखिएका मानिसहरुको सङ्ख्या पनि बढेको छ ।

शनिबार थप ३ हजार ३ सय ९९ जनामा कोरोना भाइरसको नयाँ संक्रमण देखा परेको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन् । यससँगै कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या चीनमा ३४ हजार ५ सय ५६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *