चीनसँग सीमाना जोडिएको सिन्धुपाल्चोकमा सय जनाभन्दा बढीमा ‘कोरोना लक्षणको आसंका’, तुरुन्त सहयोग गर्न स्वास्थ्य मन्त्रालयसँग आग्रह

चीनसँग सीमाना जोडिएको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका क्षेत्रमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षणसहित एकैपटक सय जनाभन्दा बढी बिरामी भएका छन्।

जुगल गाउँपालिका कार्यालयका अनुसार गाउँपालिकाको वडा नम्बर ३, गुम्बा गाउँमा एकैपटक सय जनाभन्दा बढी मानिसमा कोरोना भाइरसको सं”क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका हुन्।मंगलबारदेखि यस्ता लक्षणसहित धेरै व्यक्ति बिरामी भएकाले कोरोनाको आशंका गरिएको भन्दै जुगल गाउँपालिकाले तुरुन्त चिकित्सकको टोली पठाई परीक्षण गर्न स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको छ।

जुगल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले स्वास्थ्य मन्त्रालयलाई पठाएकोे पत्रमा भनिएको छ : विश्वमा फैलिइरहेको नोवल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्यधिक ज्वोरोजस्ता लक्षणका बिरामी देखापरेका हुँदा सोको परिक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं।’

गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र बागमती प्रदेश सरकारलाई पनि बोधार्थ पठाएको छ । त्यहाँ बिरामीको संख्या सय नाघिसकेकाले तुरुन्त सहयोग गर्न पत्रमा आग्रह गरिएको छ।गाउँपालिका महासंघका अध्यक्षसमेत रहेका जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले महामारीजस्तो रोग देखिएको बताए। हेर्नुहोस उनको स्टाटस जस्ताको तस्तै :

बिहान सम्म १ दर्जनको संख्यामा रहेको बिरामी अहिले सॉझसम्म सय नॉघेको छ । बिरामीको संख्या बढिरहेको छ । रुघा, खोकी ज्वरोले भाईरलको रुप लिएको छ । कोरोना नहोस् तर यसका लक्षण मिल्दाजुल्दा भएकोले थप चनाखो हुनु पर्दछ भन्ने मात्र आग्रह हो हाम्रो ।

मानवीय क्षती पश्चात मात्र संबेदनसिल भएर हुदैन । त्यहि भएर हामीले बेलैमा तत्परता देखाएका हौ । यो हतारो हैन । हामीसंग उपलब्ध जनसक्ति र साधनस्राेतले भ्याए सम्मको रेस्पोन्स गरिरहेका छाै । थप मदतका लागि जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला स्वास्थ्य कार्यलय, प्रदेस सामाजिक विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेका छाै ।

अहिले पनि म लगाएत साथिहरु थप औषधी र मास्क लगाएतका सामाग्री संकलन गरिरहेका छौं । भोलि बिहान मेडिकल अफिसर सहितको स्वास्थ्यकर्मी टोली गुम्बा जादैछौं । अहिले सॉझ तिर केही बिरामीहरुमा सुधार देखिन थालेकोले थप चिकित्सकीय सहयोग भएमा स्थिति नियन्त्रणमा आउन सक्ने विस्वास फिल्डमा खटिएका स्वास्थ्यकर्मी साथिहरुको छ ।

सक्दो प्रयास भईरहेकोले नआत्तिन सबैमा आग्रह गर्दछु । म फेरि दोहोऱ्याछु हामीले कोरोना भाईरस भनेका छैनौं यो संग लक्षण मिल्दोजुल्दो भएकोले साबधानी अपनाउन संबन्धित निकायमा पत्राचार गरेका हौं । जुगल गाउपालिकाको बिज्ञप्ती हैन यो । मानवीय संबेदना मात्र हैन बिपदको यस्तो घडीमा सके सहयोग गरौं ज्ञान र उपदेश त फुर्सदमा बॉढे पनि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *