घोराही। ६८ वर्षीया चेतकुमारी बुढाथोकीले सायदै सोचेकी थिइनन्, जीवनको आखिरी खण्ड बृद्धाश्रमको पर्खालभित्र बिताउनुपर्ला भनेर चारयुग जस्तो लामो जीवनमा धेरै थोक पाएर भोगेर पनि । चार सन्तान र आफन्त हुँदाहु‘दै पनि । जीवनको अन्तिम उत्तराद्र्धमा सहाराविहीन बनेपछि उनी ओत खोज्दै तेरौंटेस्थित बृद्धा आश्रममा आइपुगेकी छन् ।
आश्रममा आश्रित अरु बृद्धबृद्धाझंै उनको व्यथा पनि कम्तिको छैन । उनी आफ्नो कोही र केही नभएर बृद्धाश्रमका आएकी होइनन् । उनका चार सन्तान् छन् । माइती र आफन्त छन् । र, पनि अहिले आएर उनी एक्लो बनेकी छन् । ‘जाँगर छउञ्जेल हात खुट्टा चलाएँ । बुढेशकाल लागेपछि रोगले च्यायो । काम गर्न नसक्ने भएँ’– बृद्धाश्रममा भेटिएकी उनले सुनाइन्– ‘आफ्नो भन्नु सबै भएर पनि म कतै अटाउन सकिन । त्यसैले बृद्धाश्रमको बाटो तताएकी हैन बाबु ।’ तीन महिनाअघि मात्र यहाँ आइपुगेकी उनले बृद्धाश्रमसम्मको आफ्नो जीवन कथा यसरी बेलीविस्तार लगाइन् ।
१२ वर्षमा उनको विवाह भयो । चार सन्तान भए । श्रीमानले उनीपछि दुई श्रीमती ल्याए । त्यतिले मात्र पुगेनछ । उनीमाथि कुटपिट पो गर्न थाले । सही नसक्नु भएपछि १२ वर्षको छोरा र तीन काखे नानी च्यापेर उनी दाङबाट नारायणगढ पुगिन् । श्रीमानसँग केही मागिनन् । ‘बुवाले दिएको पाँचतोल सुन थियो’– उनले भनिन्– ‘त्यही लिएर घरबाट निस्किएँ ।’
नारायणगढ पुगेर उनले १२ वर्ष होटल गरिन् । दुःख गरिन् । काखे सन्तानलाई पढाइन्, हुर्काइन् । शिक्षा दीक्षा दिइन् । विवाहवारी गरिदिइन् । जीवनको बाटो देखाइदिइन् । होटलबाटै कमाएको पैसबाट केही सम्पत्ति जोडिन् । पछि ती सबै सन्तानलाई भाग लगाइदिइन् । अहिले उनका तीनैजना सन्तानले राम्रै घरगृहस्थी गरेका छन् । एक सन्तान भने सानैमा भारत पसेका अहिलेसम्म फर्किएका छैनन् ।शरीरमा बल र वैंश छउञ्जेल उनले होटल नै चलाइरहिन् । पछि जेठो छोराले होटल बेच्न लगाए । उनले बेचिदिइन् । त्यसपछि उनी जेठो छोरासँग बसिन् ।
‘उमेर छउञ्जेल सन्तानबाट राम्रै व्यवहार पाएँ’– उनले भनिन्– ‘तर जब उमेर बढ्दै गयो, रोगले सताउन थाल्यो । त्यसपछि उनीहरुका लागि म बोझ जस्तै पो भएँ ।केही वर्ष बिते । एकदिन उनलाई लाग्यो– ‘सधै यसरी किन बस्नु ?’ आफ्नै सन्तान पराई जस्तै हुँदै गएपछि उनको मनले बस्न मानेन । उसो त सन्तानप्रतिको जिम्मेवारी पनि निभाइसकेकै थिइन् । सबैले व्यवस्थित जीवन बिताइरहेकै थिए । उमेर छँदा सम्पत्ति जोडेकी उनले दाङ फर्कदा शरीर मात्र बोकेर ल्याइन् ।
दाङ त फर्किन् तर कहाँ जाने ? के गर्ने ? शरीरमा पहिले जस्तो जाँगर थिएन ।
र, पनि बाच्नु नै पर्ने । उनले एकजना मान्छे राखेर घोराही–१५ रतनपुरमा होटल खोलिन् । वर्षदिन चलाइन् । त्यसपछि उनी विरामी परिन् । पेटमा पानी भरिएको रहेछ । अप्रेसन गर्नुपर्ने भयो । साथमा केही थिएन । ‘न पैसा थियो, न आफन्ती’– उनले भनिन्– ‘होटल बेचेर औषधि गरें ।सबैभन्दा उनलाई दुःख त त्यति बेला लाग्यो जब १२, १५ दिन विरामी भएर थलिदा पनि उनलाई भेट्न कोही आएनन् । कसैले उनलाई बोलाएनन् । उनले आफ्नै जीवन धिक्कारिन् । अन्यत्र कतै जाने ठाउँ नभएपछि अन्ततः उनले वृद्धाश्रमको बाटो रोजिन् ।
वृृद्धाश्रमम आएको तीन महिना बित्दा पनि सन्तानले उनलाई भेट्न आएका छैनन् । न त फोन नै गरेका छन् । सन्तान र आफन्तदेखि उदेक लागेर आउँछ उनलाई । आफ्ना भन्नु भाइ बुहारी छन् । बेलाबखत बुहारी भने भेट्न आइरहन्छिन् तर भएका आफ्नै सन्तानले भने उनलाई सम्झिएका छैनन् ।
आश्रममा उनका दिन र रात निकै अत्यासलाग्दो बित्छ । रातभर सन्तानको सम्झनाले सताउँछ । त्योभन्दा धेरै बुढ्यौलीको एक्लोपनले । रातिभर सुत्न नसकेकी उनी दिउँसो भने सुस्साइरहन्छिन् । ‘सबै भएर पनि कोही नभएजस्तो हुनुपरेको छ’– उनले दुखेसो पोखिन् ।
र, पनि आमाको मन न हो । मान्दै मान्दैन । उनलाई लागेको छ– आफैले जन्माए, हुर्काएका सन्तानले एकदिन त कसो पो न सम्झिएलान् ।’ बरु उनलाई अरु मोह केही छैन । सन्तानको साथ चाहिएको छ । सुखदुःख जे छन्, सन्तानको साथमा बिताउनुछ । ‘उनीहरुको साथ पाए पुग्ने थियो’– उनले भनिन्– ‘लिन आए त म अहिले नै जाने थिएँ ।’
जीवनको अन्तिम क्षण उनलाई बृद्धाश्रमको चार पर्खालभित्र बिताउनु छैन । वृद्धाश्रममा उनलाई बस्न मन पनि छैन । तर अब यो भन्दा जाने ठाउँ अन्यत्र कतै छैन । र, पनि उनी वृद्धाश्रममा भित्रै एकोहोरो सुस्साउँदै सन्तानको बाटो हेरिरहन्छिन् । यो समाचार आभास बुढाथोकीले नयाँयुगबोध राष्ट्रिय दैनिकका लागि लेख्नुभएको हो।