व्हतै बढ्यो प्याज को मुल्य हेर्नुहोस आजको बजार मुल्य

सिमकोट । सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लामा प्याजको मूल्य प्रतिकेजी तीन सय रुपियाँ पर्ने गरेको छ । हिउँदमा जिल्लामा प्याज उत्पादन नहुने र नेपालगञ्ज तथा सुर्खेतबाट महँगो हवाई ढुवानी भएर आउने भएपछि प्याजको मूल्य आकाशिएको हो ।सिमकोट बजारमा प्याज प्रतिकेजी तीन सय रुपियाँ तिरेर उपभोग गर्नु परिरहेको सिमकोट बजारकी गृहिणी मधु बस्नेतले बताउनुभयो ।

पहिले साढे दुई सय रुपियाँमा पाइने प्याज अहिले प्रतिकेजी तीन सय रुपियाँ पुगेको उहाँले जनाउनुभयो । पहिले सस्तो मूल्यमा प्याज पाइँदा सबैले उपभोग गर्ने गरेको भए पनि मूल्य बढेपछि न्यून आयस्रोत भएका स्थानीयले प्याजको प्रयोग गर्न छोडेको छन् । होटेलमा प्याज प्रयोग नगरी नहुने भएपछि जति मूल्य बढे पनि प्रयोग गर्नुपरिरहेको होटेल सञ्चालक छिरिङ याङ्जुम लामाले बताउनुभयो ।

प्रतिदिन तीन केजीसम्म उहाँको होटेलमा प्याजको प्रयोग हुने गरेको छ । अरू तरकारी पनि प्रतिकेजी साढे दुई सयभन्दा कम मूल्य नपर्ने भए पनि प्याज भने धेरै महँगिएको गुनासो उहाँले गर्नुभयो । नेपालगञ्ज र सुर्खेतबाटै ढुवानीसहित प्याज प्रतिकेजी २३० रुपियाँमा पुग्ने भएपछि हुम्लामा तीन सय रुपियाँमा बिक्री गर्नुपरेको बाहिरबाट आयात हुने तरकारीको व्यापार गर्दै आउनुभएकी सुनिता थापाले बताउनुभयो ।

नेपालगञ्ज र सुर्खेतमै प्याज महँगो भएका बेला हुम्लामा ल्याउँदा थप हवाई ढुवानी पनि महँगो हुने भएको कारण प्याजको मूल्य झनै महँगो भएको उहाँले प्रस्ट्याउनुभयो ।नेपालगञ्ज र सुर्खेतबाट प्रतिकेजी सामानको ढुवानी १२० देखि १३० रुपियाँ पर्ने गर्छ । हुम्लामा स्थानीय रूपमा उत्पादन हुने प्याज हिउँदमा पाइँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *