सेनाका जवानले भेटाएको १ लाख रुपैयाँ प्रहरीको जिम्मा लगाइयो

झापा- नेपाली सेनाका जवानले दमक नगरपालिका–६ स्थित गरिमा विकास बैंकको अगाडि भेटाएको रु एक लाख प्रहरीलाई बुझाएको छ ।पूर्वी पृतनाअन्तर्गत नं २१ बाहिनी अड्डामा कार्यरत नयाँ श्रीनाथ गणका जवान मेघबहादुर अधिकारीले एक हप्ता अघि फेला पारेको सो रकम इलाका प्रहरी कार्यालय दमकमा बुझाइएको हो ।

नम्बर २१ बाहिनीपति सहायक रथी डा आशबहादुर तामाङका अनुसार सो रकम गरिमा विकास बैंक अगाडि बेलडाँगी सडक खण्डमा भेटिएको थियो । हालसम्म रकम हराउने व्यक्ति सम्पर्कमा नआएको हुँदा दमक इप्रकामा बुझाइएको उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले स्थानीय सञ्चारमाध्यमबाट र प्रहरीको फेसबुक पेजबाट सूचना जारी गरिरहेको बताउँदै भने, “आजसम्म कोही दाबी गर्न आएका छैनन् । प्रमाणसहित दाबी गर्न आएमा सो रकम फिर्ता गरिदिन्छौँ ।”उनले रकम दाबी गर्न कोही नआएमा कानूनबमोजिम जिल्ला प्रशासन कार्यालय झापामा बुझाइदिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *