चिनियाँ फिल्म निर्देशकको परिवारका चार सदस्यको कोराेनाबाट मृत्यु

एजेन्सी । चिनियाँ फिल्म निर्देशक छाङ काइकी पत्नीबाहेक परिवारका सबै सदस्यको कोरोनाका कारण मृत्यु भएको छ । कारोनाको हाइ प्रोफाइल मृत्युको यो सबैभन्दा पछिल्लो घटना हो । उनीहरू भाइरसको एपिसेन्टर वुहान सहरमा घरभित्रै क्वारेन्टाइन अवस्थामा थिए ।

५५ वर्षीय काइको १४ फेब्रुअरीका दिन मृत्यु भएको चिनियाँ म्यागजिन केइसिनले रिपोर्ट गरेको छ । उनका आमाबुवाको भने दुई साता अगाडि मृत्यु भएको थियो । त्यस्तै बहिनीको काइको मृत्युको केही घण्टापछि भएको बताइएको छ । हाल उनकी श्रमती पनि गम्भीर अवस्थामा छन् । उनका एक मात्र छोरा भने लन्डनमा रहेको बताइएको छ ।

वुहान र आसपासका क्षेत्रमा मृत्युको दर बढी रहेको पाइएको छ । त्यहाँका धेरै बिरामीले अस्पतालमा बेड पाउन कठिन भएको गुनासो गर्दै आइरहेका छन् । सरकारले नयाँ भवन निर्माण गरे तापनि बिरामीको सङ्ख्या क्षमताभन्दा बढी पुगेकाले पनि यस्तो भएको हो ।

कतिपय बिरामी भने इन्टेस्भि केयरमा रहँदारहँदै पनि मृत्यु भएको छ जसमा पहिलोपटक कोरोनाबारे खबर गर्ने डाक्टर पनि पर्छन् । त्यस्तै एक वातावरण कार्यकर्ता र उनकी पत्नीको पनि कोरोनाका कारण मृत्यु भएको अनुमान गरिएको छ तर उनीहरुको स्वास्थ्य परीक्षण नगरिएको हुँदा रोग पुष्टि हुन नसकेको बताइएको छ । मंगलबार नै वुहानको अस्पतालकै निर्देशकको मृत्युको खबर पनि बाहिर आएको थियो ।

विश्व स्वास्थ्य संगठनले कोरोनाका पाँचमध्ये चारजना बिरामीमा सामान्य लक्षण मात्र देखा पर्ने बताए तापनि २० प्रतिशतमा भने गम्भीर लक्षण देखिने गरेको पाइएको छ । यसमा साधारण लक्षण भएकाहरुलाई सरकारले पहिले घरैमा क्वारेन्टाइन भएर बस्नु भनेर दिएको सुझावका कारण पनि पूरै परिवारमा संक्रमण फैलिरहेको छ ।

यसरी निर्देशक काइले मृत्युको मुखमा रहँदा आफ्ना सबै इष्टमित्र र आफन्तहरुलाई अन्तिम सन्देश पठाएको र लन्डनमा हुने छोरालाई पनि धेरै याद र माया पठाएका थिए ।

घरैमा क्वारेन्टाइन्ड भएर बस्नुले कतिपय अवस्थामा गम्भीर लक्षण भएकालाई उपचारविहिन स्थितिमा राखी, पूरै परिवार र समुदायलाई समेत जोखिममा पारिरहेको साइसिनको रिपोर्टमा ‘हुआजोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी’ का प्रोफेसर छेन बोले बताएका हुन् हालसम्म कोरोनाका कारण १ हजार ८७५ जनाको मृत्यु भएको छ भने ७३ हजारभन्दा धेरै संक्रमित भएको बताइएको छ । –द गार्जियन

Leave a Reply

Your email address will not be published. Required fields are marked *