‘हनिमुन’ भ्याउँदा–भ्याउँदै केपी ओलीविरुद्ध कसले गर्दैछ षड्यन्त्र ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बन्नुअघि नेपालमा ७–८ महिने सरकार चल्थे । प्रायः सरकार ९ महिनामा ढल्ने गरेका पर्याप्त उदाहरण छन्, यस्तो बेला सरकारका सय दिनलाई ‘हनिमुन’ अवधि भन्ने गरिन्थ्यो ।सरकारको ‘हनिमुन’ अवधिमा प्रतिपक्षले समेत खासै आलोचना र चलखेल नगर्ने तथा सरकारलाई सघाउने राजनीतिक अभ्यास हुन्थ्यो । ओली सरकार बन्दाबन्दै संविधानले नै ‘हनिमुन’ अवधिलाई बढाइयो ।

संविधानको धारा १०० उपधारा (४) को प्रतिबन्धात्मक वाक्यांशले सरकारलाई ढुक्कसँग दुई वर्ष हनिमुन मनाउने सुविधा दिएको छ । संविधानको वाक्यांशमा लेखिएको छ, ‘प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एक पटक राखेको अविश्वासको प्रस्ताव असफल भएको एक वर्षभित्र अविश्वासको प्रस्ताव पेश गर्न सकिने छैन ।’ यसको अर्थ प्रधानमन्त्री बनेपछि दुई वर्षसम्म कसैले पनि हल्लाउन सक्दैन ।

प्रधानमन्त्री ओलीले दुई वर्षे संवैधानिक सुविधालाई पूरा गरिसकेका छन् । २ वर्षे कार्यकालको उपलब्धि सुनाउने क्रममा प्रधानमन्त्री संवैधानिक व्यवस्था अनुसार स्वतः पूरा हुने २ वर्षलाई समेत उपलब्धिको रुपमा सुनाए । गत शनिबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आजबाट मेरो नेतृत्वमा गठित नेपाल कम्युनिस्ट पार्टीको सरकारले सत्ता सञ्चालन गरेको ७३१ दिन अर्थात् २ वर्ष पूरा भएको छ । लामो समयसम्म ७–८ महिनाको अवधिमा सरकार फेरिइरहने विगतको अस्थिरतालाई ध्यानमा राख्दा हाम्रो देशमा एउटै पार्टीको एउटै सरकारले २ वर्ष पूरा गर्नु पनि एउटा उपलब्धिको रुपमा लिनुपर्ने अवस्था आउँदो रहेछ ।’

ओली सरकारले दुई वर्ष पूरा गर्नु खासमा कुनै उपलब्धि थिएन, यो संविधानको दिएको सुविधा थियो । सायद प्रधानमन्त्री ओलीले यसैलाई उपलब्धि माने । संवैधानिक सुविधाको ‘हनिमुन’ अवधि पूरा गरेर संसदमा उपलब्धि सुनाएको भोलिपल्टदेखि प्रधानमन्त्री ओलीले ‘षड्यन्त्र’ सुनाउन थालेका छन् दिनदिनै ।

संसदमा सम्बोधनको भोलिपल्ट आईतबार गृहजिल्ला झापा पुगेर ओलीले सरकारविरुद्ध षड्यन्त्र भइरहेको अभिव्यक्ति दिए । उनले झापामा भने, ‘तपाईंहरूलाई लाग्ला, सरकारसँग बलियो बहुमत छ । बहुमत भए पनि फर्की–फर्कीकन उनीहरू यो सरकारलाई असफल पार्ने, ढाल्ने, बद्नाम गर्ने षड्यन्त्रमा लागिरहेका छन् । म भन्न चाहन्छु – अरू कसैले होइन, कुनै शक्तिले होइन, हामीलाई सरकारमा पु¥याइदिएको, हाम्रो सरकार बनाइदिएको तपाईंहरूले हो । जनताले हो । जबसम्म तपाईंहरूको आशिर्वाद रहन्छ, साथ शुभेच्छा र शुभकामना रहन्छ, तबसम्म सरकारलाई कसैले हल्लाउन सक्दैन । डगमगाउन पनि सक्दैन । हामी अगाडि बढ्यौं, बढ्यौं ।’

प्रधानमन्त्री ओलीले षड्यन्त्रको कुरा झापामा मात्रै गरेनन्, बुधबार काठमाडौंमा आयोजित निर्वाचन आयोगको कार्यक्रममा समेत षड्यन्त्रको संकेत गरे । उनले भने, ‘पछिल्लो केही दिनयता सरकार बनाउने, परिवर्तन गर्ने भन्ने समाचार दिनहुँ आइरहेका छन् । यो भनेको जनताको अभिमतबाट बनेको सरकारलाई जालझेल, षड्यन्त्र र तिकडमबाट असफल बनाउन खोज्नु हो ।’

झण्डै दुईतिहाइ बहुमतको समर्थनप्राप्त सरकारलाई नेकपाकै सांसदको सहयोग विना कसैले ढाल्न सक्ने देखिँदैन । सरकार ढाल्नमा नेकपाकै नेता र सांसदको प्रत्यक्ष हात चाहिन्छ । के नेकपाभित्रै ओली सरकारविरुद्ध गम्भीर षड्यन्त्र भइरहेको छ ? प्रधानमन्त्री ओलीले पार्टीभित्रको गडबडीबारे केही संकेत पाएका छन् ?

विवाद १ – जनयु,द्ध,को स्वीकार्यता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र पार्टी मिलेर बनेको हो । पार्टी एकीकरण भएपनि नेकपामा पुरानो छायाँ कायमै छ । पूर्व माओवादीले जनयुद्धलाई गौरवको रुपमा लिन्छ भने पूर्व एमालेको ओली समूहले जनयुद्धलाई घृणा गर्छ । यसरी चित्र पूर्व माओवादी पक्षले फागुन १ गते जनयुद्ध दिवस मनाइहँदा देखियो ।पूर्व निर्धारित भएपनि धुम्बाराहीमा आयोजित कार्यक्रममा ओली सहभागी भएनन् । ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनयुद्धप्रति घृणा फैलाउने अभिव्यक्ति दिए । जसले गर्दा पूर्व माओवादी समूह थापाप्रति आक्रामक रुपमा प्रस्तुत भयो । सामाजिक सञ्जालमा वादविवाद भयो ।

विवाद सामाजिक सञ्जालमा मात्रै सीमित भएन, नेकपाको औपचारिक कार्यक्रममै झल्कियो । जनयुद्धको उद्गमस्थल मानिएको रुकुमको चौरजहारीमा आयोजित नेकपाको आन्तरिक कार्यक्रममा स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा र सल्लाहकार थापाबीच भनाभन नै भयो । जनयु,द्ध दिवस मनाउने नेकपाले निर्णय नै नगरी किन जनयुद्ध दिवस भनिँदैछ भनेर थापाले आपत्ति जनाउँदा जनयुद्धसँग भावना जोडिएका नेता कार्यकर्ता कार्यक्रम स्थलमै आक्रोशित बने । आफ्नो बोल्ने पालो आउँदा इन्चार्ज शर्माले थापाको प्रतिवाद गरे । तर नेकपाभित्र रहेको ‘जनयु,द्ध विवाद’ छताछुल्ल भयो ।

जनयुद्धलाई नकारात्मक व्याख्या गर्ने सूर्य थापाको पछाडि प्रधानमन्त्री ओलीको ढाडस रहेको चर्चा पूर्व माओवादी पक्षभित्र चल्ने गरेको छ । त्यही कारण प्रचण्डले ओलीको भूमिकालाई नै शंकास्पद रुपमा हेर्ने गरेका छन् । प्रचण्ड रिसाएको अवस्थामा आफूविरुद्ध कुनै कदम चाल्न सक्छन् भन्ने डर ओलीमा देखिएको हुनसक्ने चर्चा नेकपाभित्र छ । सरकारविरुद्ध ‘षड्यन्त्र’ भइरहेको अभिव्यक्ति यसकै संकेत भएको जानकारहरू बताउँछन् ।

विवाद २ – एमसीसीको संसदीय अनुमोदन

नेकपाभित्र पछिल्लो जबरजस्त विवादको विवाद बनेको छ अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता । एमसीसीलाई संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विवाद सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी हुँदै अध्ययन कार्यदलमा पुगेको छ । कार्यदलमा समेत एकरुपता देखिँदैन । सरकारमा सहभागी प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जसरी पनि एमसीसीलाई संसदबाट अनुमोदन गराउने पक्षमा छन् भने कार्यदल संयोजक झलनाथ खनाल र भीम रावल अध्ययन गरिरहेका छन् ।

केन्द्रीय कमिटीबाट गठन भएको अध्ययन कार्यदलले सुझाव मात्रै दिने र एमसीसी संसदबाट पारित भएरै छाड्ने अभिव्यक्ति ओलीले सार्वजनिक रुपमै दिइरहेका छन् । ओलीको यस्तो अभिव्यक्ति पार्टीको निर्णय विपरीत भएको भनेर कार्यदल सदस्य भीम रावलले अभिव्यक्ति दिएका छन् ।

एमसीसीका कतिपय प्रावधान राष्ट्रघाती रहेको भन्दै नेकपाका केन्द्रीयस्तरका नेताहरू खुलेरै विरोधमा छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले खुलेर एमसीसी समर्थन गरेका छैनन् । प्रचण्ड र नेपालकै आडमा भीम रावलले एमसीसीको विरोध गरिरहेको विश्लेषण गर्नेहरू समेत छन् । तसर्थ एमसीसीलाई पारित गराउने गरी पहलकदमी गर्दा कतै सरकार नै ढल्ने हो कि भन्ने आशंका देखिएको हुनसक्ने नेकपा स्रोतले जनाएको छ । ओलीले जसरी पनि एमसीसी लागू हुन्छ भनेपनि संसदबाट पारित गराउनु सहज नभएको बताइन्छ । एमसीसीमा ओली सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी सबैतिर अल्पमतमा छन् ।

विवाद ३ – शक्ति संघर्षको दौड

राजनीतिक नेतृत्वबीच आफू शक्तिशाली हुने शक्ति संघर्ष निरन्तर चलिरहने प्रक्रिया हो । त्यही शक्ति संघर्ष नेकपाभित्र पनि चलिरहेको छ । जसको पछिल्लो अभ्यास ‘भैसेपाटी भेला’बाट भएको बताइन्छ । अध्यक्ष प्रचण्ड नेतृत्वमा भएको भैसेपाटी भेलामा वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत अधिकांश सचिवालय सदस्यले सहभागिता जनाए, जसबाट ओली तर्सिएका छन् ।

ओलीले यसबीच खनाल र नेपाललाई छुट्टाछुट्टै भेटेर फकाउन खोजेका छन्, आफ्नो पक्षमा पार्न खोजेका छन् । तर ओलीको कटु व्यवहार भोगेका नेताहरू फकिने सम्भावना नरहेको नेकपा स्रोत बताउँछ । नेकपाभित्र प्रचण्ड बलियो भएर निस्किएका छन् । जनतामा नकारात्मक असर र सन्देश नजाने कुनै मौका मिल्ने बित्तिकै ओलीविरुद्ध पार्टीभित्रैबाट ‘फायर’ खुल्ने सम्भावना रहेको बताइन्छ । यो सम्भावनालाई बुझेरै ओलीले ‘षड्यन्त्र’ भइरहेको अभिव्यक्ति दिएका हुन् । संवैधानिक सुविधाको समेत अन्त्य भएकाले अब जुनसुकै बेला पनि ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर सरकार ढाल्न सकिने अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *