‘मन्त्री ज्यू, मलाई तपाईको हुलिया देखेरै शंका लाग्छ’

सबथोक गुमाएर केही कमाई गर्न परदेश पसेको म पशिना बगाउनमै व्यस्त थिएँ । एकाध घण्टामा फेसबुक हेरिरहने बानी त्यस्तै दुईघण्टापछि मोबाईल समाएर फेसबुक खोल्दै थिएँ ।मेरो मुटु अकस्मात बहत्तर सालको भूकम्पको समयमा धड्किएजस्तै गरि एकछिन आफैं रोकिएर बेतोडले धड्किन थाल्यो ।

मेरो मुटुको पारोलाई यसरी कुदाइदिएको एउटै कारण थियो फेसबुकको शिरानमा देखिएको ‘सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनका लागि यसरी गरे सेटीङ’ शिर्षकको समाचार ।

समाचार नपढ्दै ‘हेडलाईन’ बाटै म त्यसै लर्याकलुरुक्क भएँ । आफैंलाई धिक्कारें, हामी मतदाता, हाम्रो चयन अनि विश्वासमाथिको घातको श्रृंखला लहरै मानसपटलमा नाच्न थाले ।तेज गतिमा गुडेको मुटुको चाल सबै वृतान्त नबुझी कम हुने अवस्थामा थिएन । समाचार पढ्नुभन्दा गुह्य कुरो ‘अडियो’ सुन्न थालें । ‘अडियो’ के भनौं घुष लिनेहरु बीचको बाँडफाँडको चुरो कुरा सुनें ।

झन् त्यसै मन भारी भएर आयो । केही बोल्नै सकिन । सँगै काम गरिरहनुभएका शरण दाइले पनि हेर्न भ्याउनुभएछ । श्रापले नै मर्नेभए उहाँले आमाचकारी गाली गर्दै भर्खर लास हुनेगरि सराप्नुभयो । मैंले थप भन्न आवश्यक देखिन मेरो मनमा त्यो भन्दा धेरै उद्देलित भावना जागिरहेको थियो ।रेष्टुरेण्टमा पाहुनाहरु भएकाले म काममै व्यस्त भएं । मुटु पोलिरहेको थियो । मुटु पनि के भन्नु ? सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली

ज्यूले हामीलाई ‘मन र मुटु नभएकाहरु’ भन्नुभएको छ ।उहाँका होनाहार मन्त्रीहरु गोकुल बास्कोटा, बिना मगर देखी भूतपूर्व हुनुभएका विष्णु पौडेल, रघुवीर महासेठ जस्ता सेठ मन्त्रीहरुले गरेका कीर्तिमानी ऐतिहासिक उपलब्धिहरुको बखान गाएनौं अरे !भो सानो मान्छेले ठूला मान्छे र मुटु भएकाहरुको के कुरा गर्नु

म काममै व्यस्त थिएँ ।९ बजेपछि दिउँसोको समयमा काम गर्ने अरु साथीहरु आउन सुरुभयो । सँधै ‘ओहायो गोजाईमास् !’ (जापानी भाषामा) शुभ प्रभात ! भन्दै ढोकाभित्र पस्ने साथीहरु पहिलो बाक्य नै मन्त्री ज्यूको नाङ्गो चर्तिकलाको प्रसङ्गबाट सुरु गर्नथाले ।रातभरको कामलाई बिट मारेर बिहानको थान्कोमान्को लगाउनुपर्ने म कुरामा भुलिन ।तर मन यति छटपटाहटमा थियो कि आफैं आवेग र उत्तेजनाले शरिर ततारहेको थियो ।

१० बजिसकेपछि काम सकेर निक्लिएँ । मनमा सल्किरहेको आगो अरु बल्न थाल्यो । रेलको डिब्बामा ढोका छेउ उभिएको मलाई जापानको विकासको वैभवताले जिस्काइरहे झैं लाग्थ्यो ।

अघिपछि बाटो होस् वा रेल मोबाईलमै व्यस्त हुने गर्थें । आज मनमा दन्किरहेको आगोले ती सबै कुराबाट ध्यान गोकुल बास्कोटा मन्त्री ज्युको संवादका शब्दहरुमा ठोक्किरहेको थियो ।

‘फ्ल्यास ब्याक’मा उहाँले भन्ने गरेको ‘हेप्नी ?’ जसलाई एमसीसीको अर्थ थाहा छैन उसले विरोध गरिरहेको छ ।’ सरकारको उपलब्धिहरु देखेर विरोधीहरु तर्सिन थालेका छन् । ‘२० अरब पैसा कहाँ राख्ने मेरो घरमा त्यत्रो पैसा राख्ने ठाउँ पनि छैन’ भन्दै चौधरी ग्रुपमाथि खनिएको प्रसङ्गका शब्दबाण नाचिरह्यो ।

सँगै अर्को व्यक्तिको एउटै मात्र शब्द नाच्यो ‘त्यो गोकुल बास्कोटाको हुलिया हामीलाई थाहा छैन’ भन्दै शम्भु थापा नामका वकिलले सञ्चार बिधेयकबारेमा गरेको कटाक्ष ।

अँ साँच्ची ! प्रधानमन्त्री ज्यू, हिजो तपाई त मुटुको समस्या आएर अस्पताल जानुभएको थियो क्यार हैन ? त्यो पनि सर्वसाधारणले उपचार गर्ने सरकारी अस्पतालको विश्वास नलागेर होला, आफ्नै पार्टीका मान्छेले खोलेको निजि अस्पताल जानुभएको समाचारमा पढेको थिएं ।

साँच्चै आफ्नै शरिर आफैंले धान्न नसकिरहेको तपाईंलाई तपाईंले गलत गर्दा पनि र्यापर भिटेनले गितमा भने जसरी ‘सहि हो, सहि हो’ भन्दै उफ्रने मन्त्रीको यो हर्कत सार्वजनिक हुँदा के भयो होला ?

हुन त तपाई ठूलो मुटु भएको मान्छे केही भएन होला सायद ! भएको हुन्थ्यो भने गोकुल बास्कोटा मन्त्री ज्यु अहिले भूपु भइसक्नुहुन्थ्यो । अझै मुटुमा चस्कानै परेको भए त कम्तिमा पार्टीबाट निष्कासित गरेर अख्तियार डाकेर पठाईदिई सक्नुहुन्थ्यो ।तर तपाईको त बिशाल मुटु छ । एक छेउमा केही हुँदा अर्को छेउले भेउपनि पाउँदैन होला, र त उहाँ अझै आफ्नो बाणी राखेर बचाउ प्रयास गर्न खोज्दै हुनुहुन्छ अरे !

सरकारी जग्गानै दलालबाट बकसमा लिने पार्टीका महासचिव ज्युलाई सात खत माफ गर्नसक्नुहुने तपाईको विशाल मुटुको म चाहिँ प्रशंसक हुँ अँ साँच्ची, म कामबाट घर फर्कंदै गरेको भन्दै थिएं । मनको बेचैनी यति धेरै भएछ मैंले काम गर्ने ठाउँमै मोबाईल छुटाएर आएछु । कोठा आईपुगेपछि मोबाईल हेर्न खोज्दा पो बल्ल आफुसँग मोबाईल नभएको थाहा पाएं । साथीहरुप्रति विश्वास गरेको मैंले मोबाईल राखिदिन भनेको छु ।

विश्वासकै कुरा गर्दा तपाईले पनि कति विश्वास गर्नुहुन्थ्यो होला है ! मन्त्री गोकुल बास्कोटा ज्युलाई । तर हेर्नुस् त सोझो सिधा भाषामा भनौं भने ‘तपाईलाई थांग्नामा सुताईदिए ।’ तपाईं भनेको तपाईको विश्वासलाई हो अन्यथा नमान्नुहोला !

तपाईं त कहाँ थांग्नामा सुत्नुहुन्थ्यो होला र ! हामी सुत्नोस् पनि भन्दैनौं । राज्य ढुकुटीको करोडौं खर्चेर तपाईले अहिलेको जीवन जिईराख्नु भएको छ नी त्यसमा मैंले यहाँ बगाएको पसिनाको कमाईबाट रेमिट्यान्सहुँदै पक्कै पनि एक सुका मात्रभनेपनि परेको होला । अनि तपाईलाई बचाउने मँ कसरी थांग्नामा सुत्नोस् भन्न सक्छु र !

सुकाको के कुरा गर्नु यहाँ सत्तरी करोडको कुरा छ । अँ साँच्ची, उहाँले त्यो कुराकानीमा ‘हामीलाईु कति आउँछ ?’ भनेर सोध्नु भएको रहेछ । आफुले आफैंलाई ‘हामी’ भन्ने चलन त छैन हाम्रो भाषामा । ‘हामी’ भनेर बाँडचुँड गर्दा तपाईको भागमा पनि आउनेवाला थियो होला है ? शंका मात्र गरेको रिसाउनुहोला ।रोगले च्याप्दै लगेको छ नरिसाउनुस् प्रधानमन्त्री ज्यु, मनमा लागेको कुरा मात्र भनेको । तपाईले त ‘भ्रष्टाचारीको मुख नै हेर्दिन’ भन्नु भएको छ, के भाग खोज्नुहुन्थ्यो होला र !

फेरि भाग खोजेर सन्तानलाई भागवण्डा लगाउनुपर्ने पारिवारिक जिम्मेवारीपनि छैन तपाईलाईं ! तपाईसम्म नआई गोकुल सरले बीचमा कसकसलाई बाँड्न खोज्नुभएको रहेछ त्यस्त्रो पैसा ? सोधखोज गर्नुहोला भन्ने थोरै आशा तपाई जिवित रहुन्जेल रहनेछ । तर यसमा विश्वास भने रत्तिभर छैन । खै किन हो आफैंलाई थाहा छैन ।पुर्खाले जोगाएको राज्यको सम्पत्ति कौडीमा प्रक्रिया मिलाएर यति नामको कम्पनीलाई दिन तपाईकै अग्रसरता अनि तपाईले गरिरहनुभएको बचाउ हेर्दा मलाई विश्वास नलागेको हो गोकुल सरले भन्नु भएको ‘हामी’ मध्ये एउटा तपाई पनि हुनुहुन्छ कि ?

अब यति भन्दा तपाईको पारा तातिसक्या होला । फेरि पनि भन्छु नरिसाउनुहोला ! स्वास्थ्य कुनैपनि बेला सुधार नहुने गरी बिग्रन सक्छ बालुवाटारमा आरामले बस्नुहोला ।साँच्ची तपाईलाई त के भयो र ! ‘मेरो कुरा बाहिर आएको छैन गोकुले त हो नि’ भन्ने लाग्न सक्छ । अब त्यही मन्त्रीबाट खुस्किन्छ भन्ने सोच्नुभएको होला । उता गोकुल मन्त्री ज्युले के सोचिरहनुभएको होला है ?

मन्त्री ज्यूले भन्दा पनि मन्त्राणी ज्यू र सन्ततीले के सोचिराखेका होलान् ? म कल्पना गर्नसक्छु तपाईको अहिलेको अवस्था र छटपटि गोकुल सर आज अहिले यो दिन नभएर रात भईदिए, एकपटक फेरि एकदिन अघिको समयमा फर्केर किलोका किलो माला लगाएको त्यो क्षणमा फर्कन पाए । मनमा यस्ता अनेक कुरा खेलिरहेका होलान् ।

किलोका माला त भोलिका दिनमा पनि लगाउन पाउनुहुन्छ जेल परेर निक्ले पनि ! किनभने त्यतिखेर पनि तपाईले भनेको ‘हामी’ मध्येका केही जिउँदै हुनेछन्, तपाईलाई फूलमाला र पुष्पगुच्छा लिएर स्वागत गर्न जेल बाहिर बसिरहेका हुनेछन् !

म पनि बहकिएर जेलनै परिसकेको भन्न भ्याएछु । मन्त्राणी ज्यूले कति करकर गरिरहनुभएको होला है बिहानैबाट ! अलिकति होस् पुर्याएर काम गर्नुछैन, भएको ईज्जत र प्रतिष्ठा सबै माटोमा मिलाईदिनुभयो । बरु मलाई मारेको भए हुन्थ्यो यस्तो दिन देख्नुभन्दा ! भन्दै अनेक गन्थन गरिरहनुभएको होला ।छोरा छोरी ठूस्स परेर नबोल्ने । हिजो वरपर पर्न डराउने सन्तान आज बोलेपनि काँच्चै खाउँला जस्तोगरि गाली गरिरहेका त छैनन् ? भएका कार्यकर्ताको न फोन न म्यासेज । चकमन्न लागिरहेको होला ।

भोलि कसैगरी जोगिइहाल्यो भने केही गरिदिए हाल्छ कि भनेर एकाध लोभिपापीले पठाएका सान्त्वनाका ‘म्यासेज’ हेरेर चित्त बुझाइरहनुभएको होला !एकपटक आफ्नै अर्धाङ्गिनीको अनुहारमा हेरेर सोध्नुस् त –‘तिमीलाई विश्वास लाग्छ, मैंले त्यस्तो गरेहुँला भनेर सन्तानलाई अघिल्तिर राखेर भन्नुस् त –‘मैंले त्यस्तो गरेको छैन, तिमीहरुलाई आफ्नै बाबामाथि विश्वास लाग्दैन ? भनेर ।

गोकुल बास्कोटा मन्त्री ज्यू प्रधानमन्त्रीले भनेको र खोजेको जस्तो लाल मुटु नभई आम मुटु रहेछ भने लेखेर राख्नोस् मन्त्राणी ज्यूले भन्नुहुनेछ मलाई तपाईको हुलिया देखेरै शंका लाग्छ ।’त्यसमा तपाईका सन्तानले सहि थाप्दै भन्नेछन् ‘सहि हो सहि हो ।

श्रोत हाम्रा कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *