आइतबार प्रधानमन्त्री ओली जन्मदिन मनाउन हेलिकोप्टरमार्फत् जन्मथलो जाँदै

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन मनाउन जन्मथलो, आठराइ गाउँपालिका जाने भएका छन् ।आइतबार प्रधानमन्त्रीको ओलीको ६९ औं जन्मदिन हो । जन्मदिन मनाउन प्रधानमन्त्री ओली हेलिकोप्टरमार्फत् आठराइ, सल्ले जान लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

‘यसपटक जन्मदिनको सन्दर्भ पारेर तेह्रथुम, सल्ले जाने तयारी भएको छ । फागुन ११ गते बिहान उहाँ आठराइ प्रस्थान गर्नुहुनेछ,’ उनले भने ।प्रधानमन्त्री ओलीले छिट्टै पुनः मिर्गौैला प्रत्यारोपण गर्ने तयारीमा जुटेका छन् । मिर्गौला प्रत्यारोपणका लागि आवश्यक पर्ने स्वास्थ्य परीक्षणहरू पनि गराइरहेका छन् ।

तेह्रथुमको आठराई गाउँपालिका–४, साविक इवा गाविस वडा नम्बर २ तिनसल्लेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मघर ।
मिर्गौला प्रत्यारोपणपूर्व जन्मथलो जाने ईच्छा भएपछि पुख्र्यौली घर रहेको स्थानमा आफ्नै खर्चमा हेलिप्याडसमेत बनाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । पुख्र्यौली घरजग्गालाई ट्रष्टको रूपमा विकास गर्ने ओलीको योजना छ । आफ्नो घरजग्गामा प्राविधिक शिक्षालय खोल्ने समेत ओलीको इच्छा रहेको बताइएको छ ।

साविक आठराइ गाविसमा जन्मिएका ओली बालखैमा झापा झरेका थिए । २०२४ सालमै बाबु मोहनप्रसाद ओलीले ११ हजार रुपैयाँमा घरजग्गा बेचेका थिए । पछि ओलीले १० लाख रुपैयाँमा बाबुले बेचेको पुख्र्यौली घरजग्गा ओलीले खरिद् गरेका थिए ।

जन्मथलो गएका बेला तेह्रथुम, पाँचथरमा खानेपानी आयोजना र सल्ले–ढुङ्गेसाँघु (ताप्लेजुङ) जोड्ने सडक समेत शिलान्यास गर्ने कार्यक्रम रहेको बताइएको छ ।प्रधानमन्त्री ओलीको १३ वर्षअघि दिल्लीको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपित मिर्गौैलाको कार्यक्षमतामा ह्रास आएपछि नियमित डायलाइसिस गराउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *