टेकनबहादुरसँग प्रहरी र छिमेकीले मागे माफी

गत शनिबार चीनको बेइजिङबाट फर्केका टेकनबहादुर थापालाई कोरोनाभाइरस लागेको हुनसक्ने भन्दै दुर्व्यवहार गरेका प्रहरी निरीक्षक खेमराज रावत र छिमेकीले थापासँग आफ्ना व्यवहारका लागि माफि मागेका छन्।

सोमबार बिहान वडा कार्यालयमा टेकनसहित उनकी आमालाई बोलाएर प्रहरी र छिमेकीले माफी मागेको चन्द्रगिरि नगरपालिका-११ का वडाध्यक्ष हरिभक्त महर्जनले सेतोपाटीलाई जानकारी दिए।

‘भाइलाई मर्का परेपछि प्रहरी, छिमेकीसहित वडा कार्यालयमा भेला भयौं। मैले पनि आफूबाट भएको कमजोरीप्रति माफी मागेँ। प्रहरी र छिमेकीले पनि माफि माग्नुभो,’ वडाध्यक्ष महर्जनले भने।

प्रहरीसहित सबैजनाले माफी मागेपछि आफ्नो मन अहिले हल्का भएको टेकनले सुनाए।अस्ति र आज प्रहरीले बोल्ने शैलीमा आकास जमिनको फरक थियो। आज निकै शान्त भएर प्रस्तुत हुनुभो,’ उनले भने।

छलफलमा प्रहरी निरीक्षक रावतले आफूलाई वुहानमा मात्र कोरोनाभाइरसको त्यस्तो समस्या रहेको थाहा नभएको कुरा राखे। उनले बेइजिङमा पनि त्यस्तै होला भन्ने आफूले सोचेको बताए।

काठमाडौं सतुंगलमा बस्दै आएका टेकनबहादुर गत शनिबार साँझ चीनको बेइजिङबाट घर फर्किएका थिए। भोलिपल्ट उनी ब्युझिँदा टोलभर कोरोनाभाइरस लागेपछि भागेर नेपाल आएको भन्ने हल्ला फिजिएको थियो।

यो पनि पढ्नुहोस्ः एकाबिहानै प्रहरीले फोनमा भन्यो- खुरुक्क चौकी आउने कि भ्यान पठाउँ 

वडा कार्यालयले समेत प्रहरीलाई खबर गरेपछि उनलाई महानगरीय प्रहरी प्रभाग बलम्बुमा बोलाइयो। सोधपुछको क्रममा प्रहरीले दुव्यवहार गरेको टेकनले सेतोपाटीसँगको कुराकानीमा भनेका थिए।

प्रहरीले तुरुन्त जाँच गर्न भनेपछि टेकन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पुगेका थिए। बेइजिङबाट फर्केको र कुनै लक्षण नदेखिएको भन्दै चिकित्सकले जाँच गर्नु नपर्ने भनेपनि टेकनले घटनाको नालिबेली सुनाएर जाँच गराए।

जाँचको नतिजा कोरोनाभाइरस नभएको आएपछि टेकनले मेडिकल रिपोर्ट खल्तीमै बोकेर हिडिरहेँका छन्।अब त मेडिकल रिपोर्ट पनि थन्काउनुपर्छ,’ टेकेनले हाँस्दै भने।टेकनबारे छरछिमेकलाई समेत सबैकुरा बुझाइएको भन्दै अब त्यस्तो हल्ला नहुने वडाध्यक्ष महर्जनले बताए।उनले बाहिर कसैले त्यस्तो हल्ला फिजाए प्रहरीमा खबर गरिने जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *