वामदेव ‘कार्ड’ले नेकपाभित्रको विवाद छताछुल्ल, प्रधानमन्त्री ओलीले माधव नेपाललाई फोनमा भने ‘कि वार कि पार’

काठमाडौं । सत्तारुढ नेकपा आन्तरिक विवादमा फसेको छ । राष्ट्रिय सभा सदस्य मनोनितको विषयमा आइपुग्दा नेकपाको विवाद बाहिर छताछुल्ल भएको हो । युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य अवधि सकिने भएपछि कसलाई मनोनित गर्ने विषयले नेकपाभित्रको विवाद सतहमा आएको हो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीको सचिवालयमा एक्लिन थालेका छन्। पछिल्ला दिनमा सचिवालयले गर्ने निर्णयहरुमा अन्य सदस्य एकातिर हुन्छन् भने ओली एक्लिने गरेका छन् । ओली एक्लिएपछि उनले आफु अनुकुल निर्णय गराउन सकेका छैनन् ।

बुधबार बसेको नेकपाको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव राखे । राष्टिय सभावाट प्रधानमन्त्री बन्ने बाटो बन्द भए पनि गौतमलाई राष्ट्रिय सभामा लैजाउँ प्रचण्डले वैठकमा प्रस्ताव राख्दै भने । सबैको सहमतिमा गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय भयो ।

आफ्नो इच्छा नहुँदा नहुँदै पनि ओली सो निर्णय गराउन बाध्य भए । तर यो निर्णय भएको केही घण्टामै पार्टी अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय अमान्य रहेको भन्दै अर्का नेता माधव कुमार नेपाललाई फोन गरे । गौतमका विषयमा निर्णय हुँदा पनि अध्यक्ष प्रचण्ड, उपाध्यक्ष गौतम, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा एकातिर देखिए भने ओली अर्कातिर। बैठकमा रक्षामन्त्री ईश्वर पोखरेल भने मौन बसेका थिए।

गौतमलाई राष्ट्रिय सभामा लगेर प्रधानमन्त्री बनाउन खोजिएपछि सचेत बनेका प्रधानमन्त्री ओलीले पार्टीका केही सदस्यलाई फोन गरेर गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन निर्णय नमान्ने बताएका छन् । सचिवालयको निर्णय सार्वजनिक भएलगत्तै ओलीले गौतमलाई राष्ट्रियसभामा सिफारिस नगर्ने भन्दै नेता नेपाललाई फोन गरे। प्रधानमन्त्रीको फोनपछि नेता नेपाल हान्निएर उनलाई भेट्न बालुवाटार पुगे। प्रधानमन्त्री ओलीले अन्य केही नेतालाई पनि फोन गरेर भनेका छन्, ‘मैले युवराज खतिवडालाई नै निरन्तता दिने हो, अब वार कि पार हुन्छ ।’

आफैं सहभागी सचिवालय बैठकको निर्णयलाई चुनौती दिँदै अध्यक्ष ओलीले युवराज खतिवडालाई नै निरन्तरता दिन चाहेका हुन् । यसअघि राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्न भन्दै कार्यदल बनाएपछि नेकपा आलोचित बनेपछि बुधबार सचिवालय बैठकले कार्यदल नै खारेज गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *