मृत्युको १० घण्टापछि बाँचिन् महिला, मृत्यु प्रमाणपत्र जारी गरेर चिहान समेत खनिएको थियो

काठमाडौं। युक्रेनमा ८३ वर्षकी एक महिला डाक्टर, पुलिस र स्थानीय प्रशासन समेतले मृत घोषित गरेको १० घण्टापछि फेरि जीवित भइन् । स्टिरजावका शहरकी जिनिया दिदुख एक अवकाशप्राप्त नर्स हुन् । गत आइतबार उनी स्टेज ३ कोमामा पुगेकी थिइन् । परिवारले घरमै डाक्टरलाई उपचारको लागि बोलाएका थिए । डाक्टरले अवलोकनपछि उनको हालत निकै नाजुक पाए । उनलाई अस्पताल लैजाँदा उनको हालत झनै बिग्रने खतरा देखेपछि डाक्टरले उनको उपचार घरमै गर्ने निर्णय गरे । डाक्टरहरुले उनलाई उपचारपछि घरमै आरामका लागि छाडेर गए ।

बेलायती मिडिया एक्सप्रेसका अनुसार डाक्टरहरु गएको केही बेरपछि जिनियाले सास फेर्न छाडिन् । यसपटक परिवारले डाक्टरको साथमा पुलिसलाई पनि बोलाए । डाक्टरहरुले जाँचपछि जिनिया संसारमा नरहेको पुष्टि गरे । त्यसपछि परिवारले उनको अन्तिम संस्कारको प्रक्रिया सुरु गरे । स्थानीय प्रशासनले उनको मृत्यु प्रमाणपत्र जारी गर्यो । त्यसपछि परिवारले अन्तिम संस्कारको लागि एक पादरीलाई पनि बोलाए । उनको चिहान पनि खनेर तयार भयो ।

जिनियाको परिवारले उनलाई गाड्ने तयारी गर्दै गर्दा जिनियाकी छोरीलाई केही अनौठो महसुस भयो । उनकी छोरीले भनिन् ‘बेलुका साढे ७ बजे जब मैले उहाँको निधारमा छोएँ त्यहाँ तातो थियो जसको अर्थ उहाँ जीवित हुनुहुन्थ्यो । त्यपछि हामीले उहाँलाई अस्पताल लिएर गयौं ।’ जिनियाको उपचार गर्ने डाक्टर भ्लादिमिर चेबोतारेभले भने ‘मैले आफ्नो ३७ वर्षको करिअरमा यस्तो केस कहिल्यै देखेको थिइन । जब उहाँलाई अस्पताल ल्याइयो उहाँ स्टेज ३ कोमामा हुनुहुन्थ्यो जसको अर्थ जीवित भएर पनि जिउँदो लाश जस्तै । हामीले उहाँलाई अब्जरभेसनमा राख्यौं । १ हप्तामा उहाँ कोमाबाट बाहिर आउनुभयो ।’

ठिक भएपछि जिनियालाई कोमामा हुँदा के देख्नुभयो भनेर सोध्दा उनले भनिन् ‘मैले स्वर्ग देखें । त्यहाँ गएर आफ्ना पितालाई बोलाए । म उहाँसँग सोध्न चाहन्थें कि उहाँलाई त्यहाँ बस्न सजिलो छ ? म उहाँलाई त्यहाँ महसुस गर्न सकिरहेकी थिएँ । मलाई आशा थियो उहाँले मसँग भेट्नुहुनेछ । तर, आँखा खोल्नासाथ मेरो आसपास सेतो कपडा लगाएका मानिसहरु देखें । पहिले मलाई लाग्यो उनीहरु स्वर्गदूत हुन् तर यिनीहरु त डाक्टर थिए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *