थरुहट–थारुवानको बन्दले जनजीवन प्रभावित, एकजना बन्दकर्ता समातिए

काठमाडौं । २ दिनको बन्दले सर्वसाधारणलाई समस्यामा पार्ने देखिएको छ । केही दिन पहिले थरुहट–थारुवान राष्ट्रिय मोर्चाले आज र भोलीका लागि बन्द आह्वान गरेको थियो । आज पहिलो दिन आमहड्तालका कारण तराईको जनजीवन ठप्प भएको छ । कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङसहितका तराईका धेरै जिल्लाहरुमा समस्या देखिएको छ ।

बन्दका कारण सुदूरपश्चिम प्रदेशको राजधानी पनि प्रभावित भएको छ । धनगढीबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन ठप्प भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । कतिपय अवस्थामा भने प्रहरीले स्कटिङ गरेर गाडी सञ्चालनमा ल्याएको छ । बन्दले बजार, शिक्षण संस्था पनि पुरै ठप्प छन ।

यातायातका साधन नचल्दा भारत लगायत विभिन्न ठाउँबाट आएका यात्रु अलपत्र परेका छन । बन्दको पूर्व सन्ध्यामा मोर्चाले तराईको विभिन्न जिल्लामा मसाल जुलुश प्रदर्शन समेत गरेको थियो । यसैबीच प्रहरीले बन्द गराउँदै हिड्ने एक जनालाई कञ्चनपुरबाट नियन्त्रणमा लिएको छ । सोमबार साँझ प्रदर्शनको क्रममा सञ्जय रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो । सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन फागुन २० र २१ गते आमहड्तालको घोषणा गरेको थियो ।

आमहड्ताल अवज्ञा गरी सवारी साधन चलाएमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र स्वयम् रहने पनि मोर्चाले चेतावनी पनि दिएको छ । अर्को तिर आमहड्तालको समयावधिमा अतिआवश्यक सवारी साधनहरु, दमकल, एम्बुलेन्स, श’व बाहन, सुरक्षा निकाय, दुध बोक्ने साधन, औषधीजन्य सवारी, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु भने निर्वाध रुपमा सञ्चालन हुन पाउने बताइएको छ । टीकापुर काण्डका रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्नेसँगै टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्नुपर्ने माग मोर्चाको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *