शिक्षा मन्त्रालयले भन्यो, ‘एसईई परीक्षा चैत ६ देखि नै हुन्छ’

काठमाडौं, २३ फागुन । कोरोना भाइरसको संक्रमणको सम्भावनालाई लिएर अहिले मुलुकभरका विद्यालयमा परिक्षा प्रभावित हुने भएका छन् । नियमित कार्यतालिका भन्दा छिटै परिक्षा सम्पन्न गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । कोरोनाका बारेमा विद्यालय बन्द भएको भन्दै समाचार वाहिरिन थालेपछि शिक्षा मन्त्रालयले प्रतिकृया जनाएको छ । विश्वव्यापी बनिरहेको कोरोना भाइरस संक्रमणलाई लिएर नेपालमा परीक्षाहरु स्थगित भएका, विद्यालय बन्द हुनथालेका भनी आएका सूचना तथा समाचारबारे ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले सूचना जारी गर्दै स्पष्टिकरण दिएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको भनी आएका सूचना गलत भएको जनाएको छ । मन्त्रालयले त्यस्ता सूचनाको पनि खण्डन गरेको छ। मन्त्रालयका अनुसार चैत ६ देखि हुने गरी यसअघि नै तय भएको एसईई परीक्षा यथावत् समयतालिकाअनुसार सञ्चालन हुने स्पष्ट पारेको छ।

मन्त्रालयले भनेको छ, ‘चैत ६ देखि तय भएको एसईई परीक्षा यथावत् सञ्चालन हुनेछ।’ त्यस्तै उसले परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने सूचना गलत भएको भन्दै भ्रममा नपर्न अपिल गरेको छ। मन्त्रालयले विकसित अवस्थाबारे नियमित रुपमा समीक्षा र विश्लेषण गरिरहेकोले आवश्यकता र औचित्यका आधारमा थप निर्णय भएमा मन्त्रालयले जानकारी दिने उल्लेख गरेको छ।

कोरोना ९कोभिड–१९० भाइरसको जोखिमका कारण विभिन्न देशले विद्यालयहरु बन्द गरेपनि नेपाल सरकारले भने तत्काल विद्यालय बन्द नगराउने पक्षमा देखिएको छ। यदि बीचमा केही समस्या आइपरे तत्काल नयाँ निर्णय गरी सोहिअनुसार अघि बढ्ने सरकारी तयारी छ।

यसैहप्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै विद्यालयहरुलाई चैत्र ५ गतेसम्म वार्षिक अन्तिम परिक्षा सक्न आह्वान गरेको थियो। त्यसैअनुसार अहिले देशभरिका विद्यालयहरुले वार्षिक परिक्षाको तयारी गरिरहेको शिक्षा मन्त्रालयका सचिव महेश दाहालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *