फागुन २५ गतेदेखि लागू हुने गरी बोडिङ्ग स्कुल र सरकारी स्कुल पूर्ण रुपमा बन्द गर्ने निर्णय

धनगढी उपमहानगपालिकाले उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलगायत सम्पूर्ण शिक्षण संस्था यही फागुन २५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका रुपमा फैलिँदै गइरहेको र यस महामारीको सन्त्रासबाट ज्यादै संवेदनशील हुनुपर्ने भन्दै आज यहाँ बसेको सरोकारवालाको बैठकले सम्पूर्ण शिक्षण संस्थामा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षालगायत पठनपाठनका सम्पूर्ण क्रियाकलाप अर्को सूचना नभएसम्म लागू हुने गरी बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेखित छ ।

यो रोग स्वासप्रश्वास, हात मिलाउँदा, नजिकै बस्दा, बोल्दा हावाको माध्यमबाट एक व्यक्तिबाट अर्कोमा सर्ने भएकाले साथीभाईसँग भेटघाट हुँदा हात नमिलाउन, दुई मिटर टाढा नै बस्न, मास्क लगाउन, साबुन पानीले राम्रोसँग हात सफा गर्न, केही दिनलाई पुग्नेगरी घरमा खाद्यान्नको जोहो मिलाएर राख्न प्रेस विज्ञप्तिमा अनुरोध गरिएको छ । उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि किसिमका वार्षिकोत्सव, भेला, सभा, सम्मेलन, महोत्सवलगायत मानिसको भिडाभाडमा गरिने किसिमका कार्यक्रम आयोजना नगर्न हुन आग्रह गरिएको छ ।

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण र उपमेयर कप स्थगित

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण र उपमेयर कप महिला लिग फुटबल प्रतियोगिता स्थगन गरेको छ । विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन राष्ट्रिय फुटबल टोलीको तयारी र उपमेयर कप स्थगन गरिएको एन्फाले जनाएको हो । फिफा विश्वकप तथा एशियन कप छनोटअन्तर्गत चाइनिज ताइपेई र अष्ट्रेलियासँगको खेलका लागि तयारी गरिरहेको नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण स्थगन गरिएको हो ।

घरेलु मैदानमा नेपालले आगामी चैत १३ गते चाइनिज ताइपेई र चैत १८ गते अष्ट्रेलियासँग खेल्ने तय भएको थियो । त्यसैको तयारीस्वरूप २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीले सातदोबाटोस्थित एन्फा मैदानमा तयारी गरिरहेको थियो । कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एशिया छनोटमा नेपाल समूह बीमा रहेको छ । पाँच खेल खेलको नेपाल एक जितसहित तीन अङ्क जोड्दै तालिकाको चौथो स्थानमा छ ।

त्यसैगरी उपमेयर कप महिला लिग फुटबल तोकिएको मितिभन्दा ढिला हुने एन्फाले जनाएको छ । एन्फाले लिगको पहिलो चरणको खेल धरान रङ्गशालामा आगामी चैत ३ गतेदेखि शुरु हुने जनाएको थियो । त्यस्तै एन्फाले जिल्लामा जारी सम्पूर्ण फुटबल गतिविधिसमेत स्थगन गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *