यो बर्ष रङको साटो नमस्कारको होली मनाऔँ : कोरोनाबाट आफु बचौँ अरुलाई पनि बचाऔँ

काठमाडौ । होली भन्नसाथ रङ र पानीको प्रयोग गरी खुसी साटासाट गर्ने पर्वको रूपमा बुझिन्छ। परम्परागतरूपमा पनि यसैगरी मनाइँदै आइएको छ होली। तर, यसपटक विश्वभरि नै सङ्‌कट बनिरहेको कोरोना भाइरसका कारण नेपालमा रङ् र पानीको प्रयोगसँगै भेला भएर होली नखेल्न सरकारले सूचना जारी गरेको हुँदा केहीले भने ‘रङ र पानी छाडेर नमस्कारको होली’ खेल्ने तयारी गरिरहेका छन्। तपाईपनि टोल छिमेकमा नमस्कारको होली खेल्नुहोला ।

कोरोनाबाट बच्न ‘हात नमिलाउने, नमस्कार गर्ने : चिकित्सकहरुले नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट बच्न ‘हात नमिलाउन र नमस्कार गर्न’ बानी बसाल्न सुझाव दिएका छन् । चीनबाट फैलिएको यो भाइरस अहिले विश्वका ७२ वटा देशमा देखिएको छ भने नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा रहेको बुधबार चिकित्सकहरुले जानकारी दिएका छन् ।

ज्वरो आउने, हाछ्यूँ आउने र श्वासप्रश्वासमा समस्या देखिने भाइरसका कारण मानिसको ज्यान जान सक्ने भएकाले विशेष सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका हुन् । अहिलेसम्ममा चीनमा ८० हजार ३०४ मा सङ्क्रमण देखिएको, दुई हजार ९४६ को ज्यान गएको छ भने चीन बाहिर ७२ देशमा गरी १० हजार ५६६ मा सङ्क्रमण देखिएको र १६६ को ज्यान गएको डा सुरेश मेहताले जानकारी दिए ।

यो सङ्क्रमण हुने मानिसमा ८० प्रतिशत सामान्य रहन्छन् भने २० प्रतिशतमा कडा खालको लक्षण देखिने र दुई प्रतिशत मानिसको ज्यान जाने खतरा हुन्छ । यो भाइरसका कारण मृत्यु हुने मानिस प्रायः वृद्ध, दम रोग भएको, मिर्गौला रोगी र मधुमेह रोगीको ज्यान जाने गरेको तथ्याङ्कले देखाएको डा मेहताले बताए।

यो भाइरसबाट बच्न प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले उच्च सतर्कता अपनाएको छ । यसका लागि जनस्वास्थ्य निर्देशनालय धनकुटाको निर्देशक चन्द्रदेव मेहताको संयोजकत्वमा एक प्राविधिक समिति बनाएको छ भने प्राविधिक समितिलाई आवश्यक सल्लाह एवं सुझाव दिन र तयारी अवस्थालाई प्रभावकारी बनाउन स्वास्थ्य व्यवस्थापन महाशाखा काठमाडौँका निर्देशक भोजराज डोटेल सम्मिलित प्राविधिक त्रिभूषणप्रसाद साह र नरेन्द्र खनालको टोलीले आवश्यक निर्देशन एवं परामर्श दिइरहेको बताएको छ ।

टोलीले साबुन पानीले मिचिमिची ३० सेकेण्डसम्म हात धोएमा यसबाट बच्न सकिन्छ र बाहिर हिँड्दा नाक मुख छोप्ने मास्क लगाउनुपर्ने, भिडभाडमा नजाने, विदेशबाट फर्केर आएका मानिसबाट सावधान रहने, जङ्गली तथा घरपालुवा पशुपक्षीबाट टाढा रहने सुझाव दिएका छन् ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *