कुवेतबाट फर्किएका एक नेपालीमा देखियो कोरोनासँग मिल्दोजुल्दो लक्षण, पाटन अस्पताल भर्ना

काठमाडौं, कुवेतबाट फर्किएका एक नेपालीलाई कोरोनाको आशंकामा पाटन अस्पतालमा भर्ना गरिएको छ। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले उनलाई पाटन अस्पताल पठाएको हो।

उनलाई आइसोलेसन वार्डमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ। पाटन अस्पतालले कोरोना संक्रमित बिरामीको उपचारका लागि सात वटा आइसोलेन वार्ड छुट्याएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हाल कुनै पनि बिरामी आइसोलेसन वार्डमा भर्ना गरिएको छैन।

कोरोनाको आंशकामा अहिलेसम्म ३३ जना बिरामी भर्ना भएर उपचार गरिएको अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले जानकारी दिए। नेपालमा हालसम्म एक जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोनाको आशंकामा हालसम्म ४ सय ४१ जनाको नमूना परीक्षण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो पनि युएईमा दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं- संयुक्त अरव इमिरेट्स (युएई)मा दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा दुई जना नेपालीलाई पनि कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् सूचना जारी गर्दै त्यहाँको स्वास्थ्य मन्त्रालयले दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखा परेको पुष्टि गरेको हो । सूचनामा कोरोनाका थप १४ जना नयाँ संक्रमित फेला परेको उल्लेख छ । यससँगै यूएईमा कोरोना संक्रमित संख्या ५९ पुगेको छ ।

नयाँ संक्रमितमध्ये दुई नेपालीसहित ४ इमिरेटी, तीन इटालियन, दुई बंगलादेशी, एक रुसी, एक भारतीय र एक सिरियाली नागरिक छन् । सघन एवं सक्रिय अनुसन्धानपछि नयाँ संक्रमितहरु फेला परेको स्वास्थ्य मन्त्रालयको सूचनामा जनाइएको छ ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको छ । हाल विश्वका १ सय ९ भन्दा बढी मुलुकहरुमा फैलिसकेको छ भने ३ हजार ८ सय ८४ जनाको कोरोनाका कारण मृत्यु भैसकेको छ । विश्वभर १ लाख ११ हजार ६ सय ४२ जना सो भाइरसबाट संक्रमित भएका छन् । यूएइको स्वास्थ मन्त्रालयले जारी गरेको विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *