खाडीमा रहेका लाखौं नेपालीको राेजगारी संकटमा

काठमाडाैँ, । पश्चिम एसियाका मुलुकहरू यतिबेला पेट्रोलियम पदार्थको मूल्यमा तीव्र गिरावटको चुनौती सामना गरिरहेका छन्। नेपाली कामदारको प्रमुख गन्तव्य ती राष्ट्रहरूले तेलको मूल्यमा लगातार गिरावट आएमा नेपालीलाई प्रत्यक्ष असर पर्नेछ। किनकि वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली कामदार तिनै मुलुकमा छन्।
यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

कच्चा तेलको भाउ सोमबार २०४७ मा भएको खाडी युद्धयताकै अवस्थामा खस्किएको छ। रूस र साउदी अरेबियाले तेलको मूल्य घटाउने होडबाजी चलाएपछि गिरावट आएको हो।

कोरोना भाइरसको महामारी विश्वव्यापी बन्दै जाँदा आर्थिक गतिविधि सुस्ताएकाले तेलको मागमा कमी आएको छ। माग घटेपछि तेल निर्यातक देशहरूको संगठन ‘ओपेक’ ले उत्पादन कटौती गरेर मूल्य पुरानै स्तरमा राख्ने प्रयास गरे। तर शक्ति राष्ट्रहरूको भूराजनीतिक संघर्षले त्यसलाई टिकाउन सकेन र तेलको भाउ अस्वाभाविक घटेको छ। यसबाट तेल निर्यातक राष्ट्रहरूको अर्थतन्त्रलाई ठूलो धक्का पुग्ने आँकलन गरिएको छ।

तेलको मूल्यमा गिरावट आएलगत्तै संसारभर सेयर बजारमा आरालो लागेको छ। युरोप, अमेरिका, जापान, चीन, भारतजस्ता ठूला अर्थतन्त्रका सेयर बजार सोमबार तीव्र दरमा खस्किएका छन्।

अमेरिकी बजारमा सरकारी ऋणपत्रको प्रतिफल दर अहिलेसम्मकै कम भएको छ। संसारभर नयाँ आर्थिक मन्दीको त्रास मडारिएको छ। अन्तर्राष्ट्रिय वित्तीय एवम् वस्तु बजारमा देखिएको तीव्र गिरावटले मानिसहरू यसअघिका थुप्रै क्षेत्रीय एवम् विश्व आर्थिक संकटको समयभन्दा ज्यादा त्रसित छन्।तेल निर्यातको जगमा निर्भर वैदेशिक रोजगारीबाट आम्दानी गर्ने भारत, इजिप्ट, पाकिस्तान, बंगलादेश, नेपालजस्ता मुलुकको अर्थतन्त्र पनि नराम्ररी प्रभावित हुने अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन्।

राष्ट्र बैंकको एउटा प्रतिवेदनमा पछिल्ला १२ वर्षमा नेपालले भिœयाएको रेमिट्यान्सको ७२.६ प्रतिशत रकम खाडी क्षेत्रका यूएई, साउदी अरेबिया, कतार र कुवेतबाट प्राप्त भएको उल्लेख छ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट ७५ प्रतिशतभन्दा धेरै युवा खाडीमै गएका छन्।सन् २००८ को विश्वव्यापी वित्तीय संकटपछि नेपालमा रेमिट्यान्स आप्रवाह एक्कासि घटेको थियो। त्यसबाट मुलुकको भुक्तानी प्रणालीमा ठूलो असन्तुलन मात्र भएको थिएन, लामो समयसम्म बजारमा महँगीको मार कायम थियो।

रेमिट्यान्स बिनाको अर्थतन्त्र नेपालका लागि कल्पनाबाहिर छ। हामीले खाने, लगाउने र सजाउने सबै सामान किन्न रेमिट्यान्सकै मुख्य भूमिका छ। विदेशमा पढ्न, घुम्न र उपचार गर्न जाने नेपालीले पाउने विदेशी मुद्राको सटही सुविधा पनि रेमिट्यान्सकै कारण प्राप्त छ। मुलुकको अर्थतन्त्र (कुल गार्हस्थ उत्पादन) को २५ प्रतिशतभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने स्रोतमा आर्थिक समस्या पर्दा नेपाली अर्थतन्त्र पनि जोगिन सम्भव हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *