निरन्तर उकालो लागेको सुनको भाउ आज अनपेक्षित रुपमा ह्वात्तै घट्यो !

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य केही महिनायता बढ्दो क्रममा छ। यो साता भने सुनको मूल्यमा घटबढ भइरह्यो।सातो पहिलो र दोस्रो दिन एउटै मूल्यमा कारोबार भएको सुन तेस्रो दिन भने बढेर रेकर्ड नै कायम गर्न पुग्यो।

निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज अनपेक्षित रुपमा रु तीन हजारले घटेको छ । बिहीबार रु ८१ हजार ५०० मा कारोवार भएको प्रतितोला छापावाल सुन आज ७८ हजार ५०० मा झरेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार गत मङ्गलबार तोलाका रु ८२ हजार ७०० मा कारोवार भएकोे पहेँलो धातुको मूल्यमा बुधबार रु २०० ले कमी आएको थियो भने बिहीबार रु ८०० ले घटेको थियो । चाँदीको मूल्यमा पनि रु ४० ले गिरावट आएको छ । आज असली चाँदीको मूल्य रु ८२० कायम भएको छ ।आज एकैदिन तोलामा ३ हजार रुपैयाँले घटेको हो । भोलि (शनिबार) पनि यही मूल्यमा सुन कारोबार हुनेछ।

व्यवसायीहरुका अनुसार मूल्य बढेका कारण बिहे, ब्रतवन्धको सिजनका बाबजुद पनि सुन कारोबार निराशाजनक छ। यही अवस्था रहे चैतमा कारोबार ठप्पै हुने व्यवसायीको अनुमान छ। साताभर सुनको मूल्यआइतबार- ८२५०० / सोमबार- ८२५०० / मंगलबार- ८२७०० / बुधबार- ८२३०० / बिहीबार- ८१५०० / शुक्रबार- ७८५००

बैंकबाट ऋण लिन अब सजिलो, चाहिने छैनन् अब यस्ता कागजपत्र

बैंक तथा वित्तीय संस्थाबाट दुई करोड रुपैयाँसम्म ऋण लिन अब कर चुक्ताको प्रमाणपत्र नचाहिने भएको छ। नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै दुई करोडभन्दा बढी ऋणका लागिमात्र कर चुक्ता प्रमाणपत्र अनिवार्य गरेको हो।

चालू आर्थिक वर्षको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्दा कर चुक्ता प्रमाणपत्र अनिवार्य गरेको थियो। साथै एकीकृत कर प्रणालीसँग पनि मिल्नुपर्ने व्यवस्था गरेको थियो । तर, मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा भने कुनै पनि ऋणलाई एकीकृत कर प्रणालीसँग नदाँज्ने र दुई करोडभन्दा कम ऋणलाई करचुक्ता प्रमाणपत्र नचाहिने व्यवस्था गरेको हो।सोही व्यवस्थाबमोजिम राष्ट्र बैंकले आज निर्देशन जारी गरेको हो। उक्त निर्देशन कार्यान्वयनमा आइसकेको छ।

राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले फर्म वा कम्पनीलाई ५० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्दा कर चुक्ता प्रमाणपत्र आवश्यक नपर्ने उल्लेख छ। यसैगरी कृषि, पर्यटनका साथै साना तथा मझौला उद्योगलाई ५० लाखदेखि २ करोडसम्मको कर्जा लगानी वा नवीकरण कर दाखिला काजगपत्रको आधारमा गर्न सकिने व्यवस्था गरिएको छ ।यसैगरी दुई करोडभन्दा बढीको कर्जा लगानी र नवीकरणमा भने अनिवार्य रुपमा पछिल्लो कर चुक्ता प्रमाणपत्र लिनुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।

त्यस्तै सर्वसाधारणले स्वप्रयोजनका लागि बनाउने घर निर्माणमा लिने कर्जा मासिक आम्दानीको बढीमा ६० प्रतिशत इएमआइ हुनेगरी दिन पाइनेछ । उनीहरुलाई गरिने लगानी कर दाखिला कागजपत्रका आधारमा गर्न सकिने व्यवस्था गरिएको छ ।करचुक्ता प्रमाणत्र अनिवार्य गरेपछि कर्जा प्रवाहमा कठिनाइ भएको र कर्जा प्रवाह १५.६ प्रतिशतमात्र भएको भन्दै बैंकर्स संघले लचिलो हुन आग्रह गरेको थियो ।

त्यस्तैगरी राष्ट्र बैंकले ‘वाच लिस्ट’मा रहने लोनको दायरा पनि बढाएको छ । बिहीबार जारी गरेको निर्देशनमा प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह भएको हकमा ३ वर्षसम्मको लोनलाई वाच लिष्टमा राख्न नपर्ने निर्देशन जारी गरेको छ । यसबाट बैंक तथा वित्तीय संस्थालाई थप राहत मिलेको बैंकरले बताएका छन्।

यो पनि : कोभिड–१९ः पर्वतारोहणमा गुम्दै रु ६० करोड

वसन्त ऋतु सर्वाधिक आरोहण हुने याम हो । सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणबाट सरकालाई करोडौँ सलामी जम्मा हुने मुख्य यामको मुखैमा कोभिड–१९ सन्त्रासले आरोहणलाई प्रत्यक्ष असर पारेको छ । कोरोना भाइरस डिजिसको विश्वव्यापी सङ्क्रमण बढेपछि नेपालको पर्यटन क्षेत्रलाई नराम्ररी असर पुगेको हो ।

मुलुकको पर्यटनको मुख्य आम्दानी गर्ने पर्वतारोहण क्षेत्रको वसन्त ऋतुमा हुने सबै आरोहण स्थगन गरिएको छ । यसले वार्षिक झण्डै रु ६० करोड राजश्व गुम्ने अवस्था सिर्जना भएको छ । वसन्त ऋतुको मुख्ययाममा हिमाल आरोहण रोकिँदा एक याममा मात्रै राज्यलाई झण्डै रु ५० करोड नोक्सानी हुने देखिन्छ ।

पर्यटन विभाग, पर्वतारोहण शाखाका अनुसार अघिल्लो वर्ष वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणबाट रु ४९ करोड ६८ लाख सलामीस्वरुप जम्मा भएको थियो । सगरमाथाबाट मात्रै रु ४४ करोड २३ लाख राजश्व उठेको थियो । यस वर्ष पनि वसन्त ऋतुमा उल्लेख्य आरोहण हुने अपेक्षा गरिएको थियो ।विभागका अनुसार अघिल्लो वर्ष सबै यामको आरोहणबाट रु ५६ करोड राजश्व उठेको थियो । यस वर्ष रु ६० करोड सलामी उठाउने लक्ष्य थियो । विदेशी नागरिकले वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । यस्तै शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ ।

यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा रु ७५ हजार, शरद् ऋतुमा रु ३७ हजार ५०० र गर्मी याममा रु १८ हजार २५० सलामी तिर्नुपर्ने व्यवस्था छ सन् २०१९ को वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ९१८ आरोहीले आरोहण अनुमति लिएकामा ६४४ आरोहीले सफल आरोहण गरेको विभागले जनाएको छ । अघिल्लो वर्ष वैशाख ३० देखि जेठ ११ गतेसम्म सगरमाथा आरोहण भएको थियो ।सन् २०१८ को वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३८ आरोहण समूहबाट ३४६ आरोहीले अनुमति लिएका थिए ।

त्यस्तै सन् २०१७ मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही समूहले आरोहण अनुमति लिएका थिए । सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य एक हजार ३०० भन्दा बढी हिमाल रहेको बताइन्छ । कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि उच्च सतर्कता अपनाउँदै यस वर्ष वसन्त ऋतुको सबै आरोहण स्थगन गर्ने बिहीबारको कोरोना नियन्त्रण उच्चस्तरीय समितिले निर्णय गरेको थियो । सोही निर्णयका आधारमा पर्यटन विभागले जरुरी सूचना जारी गर्दै आरोहण स्थगन गरिएको जनाएको छ ।

‘माननीय उपप्रधानमन्त्रीले नेतृत्व गर्नुभएको उच्चस्तरीय समितिले मिति २०७६ फागुन २९ मा नेपालमा पर्वतारोहण गर्ने गरी सन् २०२० को वसन्त ऋतुका लागि जारी गरिएका वा जारी गरिने अनुमतिपत्र हाललाई स्थगित गर्ने निर्णय गरेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।नेपालमा अहिलेसम्म कोरोनाको सङ्क्रमण देखिएको छैन । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिमयुक्त मुलुकमा राखेपछि कोरोनाको त्रासले पर्यटन मात्र नभई सबै क्षेत्रमा तरङ्ग पैदा भएको छ । विशेषगरी मुलुकको समग्र अर्थतन्त्रलाई नै असर पुगेको सरोकार राख्नेहरु बताउँछन् ।

पर्यटनको मुख्य क्षेत्र होटल व्यवसाय, नागरिक उड्डयनलगायत क्षेत्रमा कोरोनाको प्रभाव परेको छ । अहिले होटल क्षेत्रमा मुश्किलले १५ देखि २० प्रतिशत औसत व्यापार तथा आन्तरिक हवाई उडानमा झण्डै ५० प्रतिशत व्यवसायमा गिरावट आएको सम्बद्ध अधिकारीले विज्ञप्ति निकालेर जनाइसकेका छन् । यता वसन्त ऋतुको मुखैमा बढी राजश्व उठ्ने क्षेत्र पर्वतारोहणबाट पनि राज्यले करौडौंँ गुमाउनुपर्ने अवस्था आएको हो ।

वसन्त ऋतुको आरोहणका लागि यतिखेर पर्यटन विभागलाई भ्याइनभ्याई हुन्थ्यो तर अहिले विमागका कर्मचारी फुर्सदिला छन् । वसन्त ऋतुका लागि चैत र वैशाख महिनामा आरोहण अनुमति जारी गर्न विभागलाई हम्मे हुन्थ्यो । विभागको पर्वतारोहण शाखाका रामेश्वर निरौलाका अनुसार विभागबाट आजदेखि सबै हिमाल आरोहणको अनुमति बन्द गरिएको छ । बिहीबारसम्म साना हिमाल आरोहणका लागि पाँच वटा अनुमतिपत्र जारी भएको थियो ।त्यस्तै सगरमाथा र ल्होत्से हिमालको पूर्वअनुमति दिइएको थियो । यसमा केही रकम पनि विभागले लिइसकेको छ । सगरमाथाको १० प्रतिशत र अन्य साना हिमालको पाँच प्रतिशत रकम अनुमतिपत्र जारी अगावै बुझाउनुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *