नेपाली नमस्ते अब ‘ग्लोबल कल्चर’

काठमाडौँ : गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भारत सरकारले स्वागतका लागि ‘नमस्ते ट्रम्प’ नामको कार्यक्रम नै आयोजना गरेको थियो।ट्रम्पले पनि दुई हात जोडेर गुजरातको अहमदाबादमा भेला भएका हजारौँ जनतामाझ हाँसेर ‘नमस्ते’ गरे । तर त्यसबेला सम्म भारतमा कोरोना भाइरसको संक्रमण फैलिसकेको थिएन । जब विश्‍वभर कोरोना भाइरसको संक्रमण अनियन्त्रित रुपमा फैलन थाल्यो हात मिलाउनेहरु पनि धमाधम ‘नमस्ते’ गर्न थाले । अन्तत: विश्वभर नमस्ते कल्चर नै फैलियो ।

हाल विश्‍वका प्रभावशाली नेताहरुमाझ भेटघाटका बेला हात मिलाउनुको सट्टा नमस्ते गर्ने शैली अभ्यस्त भइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण सर्नसक्ने भन्दै हात मिलाउनु जोखिमपूर्ण हुने चेतावनी दिएपछि नेपाल, भारत लगायत पूर्वीय हिन्दू सभ्यतामा प्रचलित नमस्ते गर्ने चलन लोकप्रिय बनेको हो ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रोँ, स्पेनी राजा फेलिप पाचौँ र रानी लेतिजिया, आइरिस प्रधानमन्त्री लियो बरादकार, बेलायती राजकुमार चार्ल्स, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु लगायत नेताहरुले नमस्ते गरिरहेका तस्बिर भाइरल बन्दैछन् । पाश्चात्य शैलीमा हात मिलाउने चलन प्रचलित भए पनि पूर्वीय हिन्दू सभ्यतामा सदियौँदेखि नमस्ते कल्चर नै स्थापित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *