प्रधानमन्त्री पत्‍नीलाई नै कोरोना भाइरस लागेको पुष्टि, देशभर हलचल

काठमाडौँ । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज पत्नी मारिया बेगोना गोमेज फेर्नान्देमा पनि कोरोना भाइरसको संक्रमण भएको देखिएको छ । सरकारले सार्वजनिक गरेको रिपोर्टका अनुसार स्वास्थ्य अधिकारीहरुले स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना भाइरस फेला परेको हो। कोरोना भाइरस देखिए पनि उनी खतरामुक्त रहेका अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन्। छिन्।स्पेनिस सराकारले मन्त्रिपपरिषद्का सबै सदस्यको स्वास्थ्य परीक्षण गराएको थियो। त्यसक्रममा दुई मन्त्री इरेने मोन्तेरो र क्यारोलिना दारियासमा संक्रमण भेटिएको थियो। युरोपमा

इटालीपछि स्पेन कोरोना भाइरसले संक्रमित दोस्रो ठूलो देश हो। यहाँ शनिबार साँझसम्म कोरोना भाइरस संक्रमणबाट सय जनाको मृत्यु हुनुका साथै ५ हजार ७ सय व्यक्ति संक्रमित भएको स्पेनिस सञ्‍चारमाध्यमहरुले जनाएका छन्।कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ५ हजार ८३५ पुगेको छ । १ सय ५१ देशका १ लाख ५६ हजार ५ सय ३३ जना संक्रमित भएका छन् । कोरोनाको सबैभन्दा बढी चपेटामा परेको चीनमा पछिल्लो २४ घण्टामा कसैमा पनि नयाँ संक्रमण देखिएको छैन ।

यद्यपी उपचारारत १० हजार ४ सय २५ मध्येका १० जनाको भने मृत्यु भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । योसँगै चीनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ सय ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ६ जनाको मृत्यु हुँदा बाँकी ३ सय ९६ जनाको भने चीनबाहिर मृत्यु भएको छ । कोरोनाभाइरसको संक्रमण उच्च भएपछि युरोपेली सङ्घका दुई ठूला मुलुक स्पेन र फ्रान्सले पनि आपतकालीन प्रतिबन्ध लगाएका छन् ।

इटालीले देशभर यात्रामा प्रतिबन्ध लगाउँदै खाद्यान्न र औषधि पसल बाहेकका सबै व्यवसाय बन्द गरिरहँदा स्पेन र फ्रान्सले पनि प्रतिबन्ध लगाएका हुन् । स्पेनमा मानिसहरुलाई अत्यावश्यक सामग्री किन्न बाहेक घरबाहिर ननिस्कन आह्वान गरिएको छ । स्पेनमा अहिलेसम्म कोरोना भाइरसका कारण १ सय ९६ जनाको मृत्यु भएको छ भने ६ हजार ४ सय जनामा संक्रमण भएको छ ।

यस्तै फ्रान्समा ९१ जनाको मृत्यु भएको छ भने ४४ सय भन्दा बढी संक्रमित भएका छन् । फ्रान्सका अधिकांश क्याफे, रेस्टुरेन्ट, चलचित्र घर तथा पसलहरु बन्द भइसकेका छन् । युरोपको सबैभन्दा बढी प्रभावित देश इटालीमा सोमबारदेखि देशव्यापी ‘लकडाउन’ लागु हुनेछ । इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण १४ सय ४१ जनाको मृत्यु भएको छ भने २१ हजार भन्दा बढी संक्रमित भएका छन् ।

सङ्क्रमणबाट बेलायतमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या दोब्बर पुगेको छ । त्यहाँ थप १० जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या २१ पुगेको बीबीसीले जनाएको छ । बेलायतमा ११ सय ४० जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना नियन्त्रणका लागि सबै क्षेत्रसँग सहयोगको अपिल गरेका छन् ।

कोरोनाभाइरसका कारण ४९ जनाको मृत्यु भएपछि अमेरिकाले राष्ट्रिय संकटकालको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको बढ्दो प्रकोपलाई नियन्त्रण गर्न मद्दत गर्न भन्दै शुक्रबार राष्ट्रिय संकटकाल घोषणा गरेका हुन्। अमेरिकी सरकारले अब विपतको राहतका लागि ५० अर्ब डलर खर्च गर्ने पनि उनले बताएका छन् ।

सरकारले अब अलग/अलग राज्य सरकारसँग मिलेर काम गर्ने बताउँदै ट्रम्पले सरसफाईमा विशेष ध्यान दिन, अत्यावश्यक बाहेक यात्रा नगर्न र भीडभाडमा नजान आह्वान समेत गरेका छन् । आपतकाल कति दिन सम्म रहने भन्नेबारे भने केही पनि खुलाईएको छैन । अमेरिकामा शुक्रबार बेलुकासम्म कोरोनाभाइरसबाट २२ सय ८७ जनामा संक्रमण देखिएको छ ।

यस्तै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको केन्द्रविन्दु (इपिसेन्टर) अब युरोप भएको चेतावनी दिएको छ । चीनको वुहानबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रमख चपेटामा अब युरोप परेको डब्लूएचओले जनाएको छ ।

‘युरोप अब विश्वव्यापी कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु हो’, विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले भने, ‘मानिसहरुको जीवन बचाउन आक्रामक उपाय अबलम्बन गर्न जरुरी छ। ‘यो भयानक आगो फैलन दिनु हुँदैन ।’

गत डिसेम्बर ३१ मा चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसको संक्रमण १ सय ४५ देशमा देखिएको छ । संक्रमणबाट १ लाख ४५ हजार ६ सय ३८ जना बिरामी परेका छन् ।

संक्रमित हुने ८० हजार ८ सय २४ जना चिनियाँ नागरिक छन् । बाँकी अधिकांश संक्रमित युरोपियन मुलुकका छन् । चीनमा संक्रमणको दर कम हुँदै गए पनि युरोपेली मुलुकमा डढेलोझैं फैलिदा डब्लूएचओले यस्तो चेतावनी दिएको हो ।

चीनमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण १३ जनाको मृत्यु हुँदा अन्यत्र ४ सय ४२ जनाको मृत्यु भएको छ । ४ सय ४२ जनामध्ये अधिकांश युरोपकै छन् ।

यस्तै नेपाल सरकारले कोरोना रोकथामका लागि विभिन्न १९ वटा निर्णय गरेको छ। उक्त निर्णयअनुसार अब हवाइ मार्गबाट नेपाल आउने सबैले १४ दिने क्वारेन्टिनमा बस्नु पर्ने भएको छ। साथै तेस्रो देशका नागरिकले भारतको भूमि हुँदै नेपाल पस्न नपाउने भएका छन्। नेपाली कामदारका लागि वैदेशिक रोजगारमा जाने श्रम स्वीकृति अनिश्चितकालका लागि रोकिएको छ। पढ्न विदेश जाने विद्यार्थीका लागि अप्रिल ३० नो अब्जेक्सन लेटर नदिने भएको छ।

यस्ता छन् सरकारले गरेका निर्णय १ नेपाल आगमन विन्दुमा विदेशीहरूलाई दिइँदै आएको अन अराइभल भिसाको व्यवस्था १४ मार्च २०२०को राति १२ बजेबाट लागु हुने गरी अप्रिल ३० २०२० सम्मका लागि स्थगन गर्ने। २ यसपूर्व भिसा लिइसकेका विदेशीहरूले नेपालको आगमन विन्दुमा आइपुग्ने मितिभन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र आगमन विन्दुको अध्यागमन कार्यालयमा पेश गर्ने व्यवस्था लागु गर्ने।

३ अति जुरूरी कारणबाट नेपालमा यात्रा गर्नु पर्ने व्यवस्थाका विदेशीले सम्बन्धित मुलुक वा नजिक रहेका नेपाली नियोगहरूबाट नेपाल आइपुगुने मिति भन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र सहित भिसा आवेदन गर्नुपर्ने व्यवस्था लागु गर्ने।

४ गैर आवासीय नेपालीहरूलाई गैरआवासीय नेपाली परिचय पत्रका आधारमा आगमन विन्दुमा दिइँदै आएको अन अराइभल भिसा १४ मार्च २०२० को राति १२ बजेबाट लागु हुने गरी ३० अप्रिल २०२० सम्मका लागि स्थगन गर्ने। अत्यावश्यक कारणले नेपाल आउनुपर्ने अवस्थामा नेपाल आइपुग्नु पर्ने मितिभन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र संलग्न गरी सम्बन्धित मुलुक वा नजिकमा रहेको नेपाली नियोगहरूबाट भिसा लिनुपर्ने व्यवस्था लागु गर्ने।

५ मार्च १४ २०२० देखि नेपाल प्रवेश गर्ने विदेशीहरूले सेल्फ क्वारेन्टिनमा र नेपाली नागरिक तथा गैरआवासीय नेपालीले होम क्वारेन्टिनमा १४ दिनसम्म बस्नुपर्ने व्यवस्था लागु गर्ने।

६ कूटनैतिक र अफिसियल भिसा प्राप्त विदेशीहरू पहिलो पटक नेपाल प्रवेश गर्दा वा बाहिर यात्रा गरी नेपाल फर्किँदाको अवस्थामा १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था लागु गर्ने।

७ व्यवसायिक अध्ययन र कामदार भिसा प्राप्त गरेका विदेशीहरू विदेश यात्राबाट नेपाल फर्केपछि १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था लागु गर्ने।

८ विदेशमा रहेका नेपाली नागरिकहरूलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता र सावधानी अपनाउन अनुरोध गर्ने।

९ तेस्रो मुलुकका नागरिकहरूलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न दिइँदै आएको सुविधा १४ मार्च २०२० राति १२ बजेदेखि लागु हुने गरी ३० अप्रिल २०२० सम्मका लागि स्थगन गर्ने।

१० नेपाल भारतबीचको यात्रु आवागमनलाई व्यवस्थित गर्न परराष्ट्र मन्त्रालयले अर्थ, उद्योग, वाणिज्य तथा गृह मन्त्रालयसँगको सहकार्यमा भारतीय पक्षसँग समन्वय गरी निश्चित विन्दुहरूबाट मात्र यात्रु आवागमन गर्ने व्यवस्था मिलाउने।

११ अर्को सूचना नभएसम्म वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने। १२ अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई ३० अप्रिल २०२० भित्र विदेश यात्र गर्ने गरी नो अब्जेक्सन सर्टिफिकेट जारी नगर्ने।

१३ संक्रमणको रोकथाम र नियन्त्रणका लागि अति आवश्यक पर्ने औषधी, औजार तथा उपकरणलगायतका सामग्रीहरू सार्वजनिक खरिद ऐनको विशेष परिस्थितिको प्रावधानअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद गर्ने।

१४ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण रोकथाम, निदान र उपचारका लागि आवश्यक पर्ने आइसियू तथा आइसोलेसन कक्षसहितको विशेष पूर्वाधार काठमाडौं उपत्यकामा आवश्यक संख्यामा र हरेक प्रदेशमा कम्तीमा १-१ वटा विकास गर्न विस्तृत प्रस्ताव तयार पारी समितिको अर्को बैठकमा पेस गर्ने। त्यसका लागि आवश्यक पर्ने स्रोतको व्यवस्था अर्थ मन्त्रालयले गर्ने।

१५ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी समायोजन भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई संक्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यकताअनुसार परिचालन गर्ने।

१६ संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा आवश्यकताअनुसार परिचालन गर्न मेडिकल तथा ननमेडिकलहरूको सूची तयार गरी व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी आवश्यक व्यवस्था गर्न निर्देशन दिने।

१७ नेपालमा पर्वतारोहण गर्ने गरी सन् २०२० को वसन्त ऋतुका लागि जारी गरिएका वा जारी गरिने अनुमति पत्र हाललाई स्थगित गर्ने। १८ नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय सभा सम्मेलन समारोहहरूलाई मे ३१ २०२० सम्मका लागि स्थगित गर्ने।

१९ संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरू भेला हुने सिनेमा हल, सभा समारोह, सामाजिक कार्य एंव मेला महोत्सव सहभागी नहुन आमजनसमूदायलाई आह्वान गर्ने।

कोरोना भाइरस विश्वव्यापी महामारीः विश्व स्वास्थ्य संगठन- विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड-१९) लाई विश्वव्यापी महामारी घोषणा गरेको छ। तीन महिनाअघि सुरू भएको यो नयाँ कोरोना भाइरसबाट संसारभर हजारौं संक्रमित भएपछि बुधबार संगठनले महामारी घोषणा गरेको हो।

चीन र कोरियामा बिस्तारै कोरोना भाइरस संक्रमित संख्या कम हुँदै गएको छ। साथै ५७ देशमा दस वा योभन्दा कम संक्रमित पुष्टि भएका छन्। टेड्रोसका अनुसार अहिलेसम्म देखिएका कोरोना भाइरसका प्रकारमध्ये यही ‘कोभिड-१९’ मात्र महामारी घोषणा भएको हो। यसअघि सार्स, मर्स नामक कोरोना भाइरसले पनि धेरै मान्छेको ज्यान लिएको थियो।

विश्व स्वास्थ्य संगठनले सुरूमा ‘कोभिड-१९’ यसरी फैलिएला भन्ने आकलन नगरेकाले महामारी घोषणा गर्न नखोजेको पनि टेड्रोसले बताएका छन्।’अब यो अनियन्त्रित भयो भनेपछि महामारी किन नभन्ने?,’ उनले पत्रकार सम्मेलनमा भनेका छन्।

जुन प्रकारले कोरोना भाइरस संसारका विभिन्न देशहरुमा पनि फैलिरहेको छ । त्यो भन्दा पनि यस भाइरससंग सम्बन्धित विभिन्न भ्रमहरु फैलिरहेका छन् । सामाजिक सञ्जालमा यो रहस्यमय भाइरसको बारेमा दिन-दिनै नयाँ-नयाँ कुराहरु उत्पन्न हुन थालेका छन् । जस्तै- के अत्याधिक चिसो अथवा बरफले यो भाइरसलाई नष्ट गर्न सकिन्छ ? के तातो पानीले नुहाउँदा यो भाइरसबाट बच्न सकिन्छ ? के चीनबाट आयत हुने उत्पादनहरुबाट पनि भाइरस फैलने खतरा हुन्छ ? विश्व स्वास्थ्य संगठनले कोरोना भाइरससंग सम्बन्धित सम्पुर्ण भ्रामक तथ्यहरुको विस्तृत जवाफ दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *