कोरोना उपचारको तालिम दिँदै नेपाली सेना, भद्रकालीमा बन्यो डमी क्वारेन्टाइन

२ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारको तयारी र विधिबारे नेपाली सेनाले आफ्ना स्वास्थ्यकर्मीहरुलाई तालिम दिने भएको छ । तालिम सञ्चालनका लागि भद्रकालीस्थित चौरमा सेनाले ४८ वटा टेन्टभित्र नमूना क्वारेन्टाइनस्थल बनाएको छ ।सोमबारबाट सुरु हुने तालिममा नेपाली सेनाका करिब ५० जना स्वास्थ्यकर्मी सहभागी हुने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । प्रवक्ता पाण्डेले अनलाइनखबरसँग भने, ‘संक्रमितलाई राख्ने क्वारेन्टाइन कस्तो हुन्छ, संक्रमितलाई कहाँ-कसरी राखिन्छ, कसरी उपचार गरिन्छ भनेर डेमोस्ट्रेसन गरी देखाउन नमूना क्वारेन्टाइन बनाएका हौं ।

ताकि यहाँ देखेर, सिकेर उनीहरुले आ-आफ्नो क्षेत्रमा त्यहीअनुसार गरुन् ।’पाण्डेका अनुसार तालिम सन्चालनका लागि भद्रकालीमा हाल ५४ वटा टेन्ट राखिएका छन् । प्रत्येक टेन्टभित्र दुई जनालाई उपचारका लागि राखिन्छ । दुई जना बिरामीलाई अलग-अलग दुईवटा शौचालय र पानीको व्यवस्था गरिएको छ ।नेपाली सेनाले कोरोना संक्रमितहरुको उपचारका लागि हाल वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १० शय्याको आइसोलसन कक्ष निर्माण गरेको छ । साथै इटहरी, पोखरा र नेपालगञ्जका क्षेत्रीय अस्पताललाई पनि आइसोलेसन कक्ष निर्माण गर्न निर्देशन दिइएको सेनाका प्रवक्ता पाण्डेले जानकारी दिए ।

क्वारेन्टाइनमा कोरोना भाइरसक संक्रमणको जस्तै लक्षण देखिएका बिरामीहरुलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिन्छ । यदि कोरोना संक्रमण पुष्टि भएमा आइसोलेसन कक्षमा राखेर थप उपचार गरीन्छ ।सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सरकारी अस्पतालहरुलाई क्वारेन्टाइन तथा आइसोलेसन कक्ष बनाउन निर्देशन दिएको छ निजी अस्पतालहरुलाई पनि क्वारेन्टाइन र आइसोलसन कक्ष निर्माण गर्न सरकारले आह्वान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बिडारीले अनलाइनखबरसँग भने, ‘सेना, एपीएफ, बीर र बिभिन्न अस्पतालमा क्वारेन्टाइनहरु बनेका छन् । काठमाडौंमा मात्रै करिब-करिब अढाइ सयदेखि तीन सयको बीचमा तयार भइसकेको अवस्था छ ।’ सातै प्रदेशहरु र केही स्थानीय तहका अस्पतालहरुमा पनि क्वारेन्टाइनको व्यवस्था गरिएको उनले जानकारी दिए ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको उच्चस्तरीय समन्वय समितिको गत बिहीबार बसेको बैठकले काठमाडौं उपत्यकामा आवश्यकता अनुसार र प्रदेशमा कम्तिमा एक-एक वटा आईसीयू र आईसोलेसन कक्षयुक्त विशेष पूर्वाधार बनाउने निर्णय गरेको थियो ।तस्वीर : आर्यल धिमाल/अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *