कोरानाका कारण ७० वर्ष माथिका नागरिकलाई चार महिना बाहिर ननिस्कन बेलायतको आग्रह, चीनपछि सबैभन्दा धेरै इटालीमा १ हजार ४४१ जनाको निधन

रोम – विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरसको सङ्क्रमणबाट इटालीमा निधन हुनेको सङ्ख्या शनिबारसम्म एक हजार ४४१ पुगेको छ ।स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार सङ्क्रमितको सङ्ख्या शनिबारसम्म १७ हजार ७५० पुगेको छ । कोरोनाको सङ्क्रमणबाट चीनपछि सबैभन्दा धेरै इटालीमै निधन भएको हो ।

त्यसैगरी बेलायतमा पनि बिरामीको सङ्ख्या एक हजार १४० पुगेको छ । बेलायतमा कोरोनाका कारण निधन हुनेको सङ्ख्या भने २१ पुगेको अधिकारीले जनाएका छन् ।पछिल्लो पटक निधन भएका दश जनामध्ये सबै ६० वर्षभन्दा बढी उमेरका रहेको बेलायती स्वास्थ्य तथा सामाजिक हेरचाह विभागले जनाएको छ ।

कोरोना संक्रमण (कोभिड–१९)बाट म’र्नेको संख्या दोब्बर भएपछि बेलायत सरकारले आफ्ना ७० वर्ष माथिका नागरिकलाई चार महिनासम्म घरबाहिर ननिस्कन आग्रह गरेको छ। मर्नेमा पाका उमेरका बढी संख्या देखिएपछि आइतबार बिहान यस्तो आग्रह गरिएको डेलीमेलले जनाएको छ।पाका उमेरका स्वस्थ व्यक्तिलाई पनि घरभित्रै रहन बेलायत सरकारले आग्रह गरेको छ। बेलायतमा गत २४ घण्टामा ११ जनाले कोरोना संक्रमणबाट ज्या’न गुमाएका छन्।

चीनमा तीन हजार १९९ जनाको निधन भएको छ भने ८० हजार ८४४ जना सङ्क्रमित भएका छन् । चीनमा कोरोनाको सङ्क्रमणमा नाटकीय रुपमा सुधार आएसँगै शहर बजारको आवतजावत खुकुलो पारिएको र उद्योग, कलकारखाना खुल्न थालेका छन् ।तेस्रो धेरै प्रभावित हुनेमा इरान परेको छ । इरानमा १२ हजार ७२९ जना सङ्क्रमितमध्ये ६११ जनाको निधन भएको छ ।त्यसैगरी दक्षिण कोरियामा आठ हजार १६२ जना बिरामी र ७५ जनाको निधन भएको छ भने स्पेनमा छ हजार ३९१ जना बिरामी भएका छन् भने १९६ जनाको निधन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *