विदेशमा कोरोना संक्रमित नेपालीलाई नेपाल फर्काउने सरकारको तयारी

काठमाडौ । विदेशी भूमीमा कारोना भाइरसको संक्रमण देखिएका नेपालीलाई स्वदेश फर्काएर उपचार गर्ने विषयमा सरकारले कदम उठाउने भएको छ । सुरुमा यूएईमा कारोना भाइरसको संक्रमण देखिएका २ नेपालीलाई फर्काउन सरकारी तवरबाट छलफल भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेका कारण थप उपचार नेपालमा नै ल्याएर गर्ने तयारीका बारेमा छलफल भइरहेको नेपाली राजदूतावासले जनाएको छ ।

अवस्था सामान्य रहे पनि तिनलाई स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे दूतावासले छलफल थालेको हो । कारोना संक्रमण देखिएका २ नेपालीको यूएईस्थित सरकारी निकायले उपचार गरिरहेको र अवस्था सामान्य रहेको दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्ता रीता धितालले जानकारी दिइन् । दूतावासले ती कोरोना संक्रमित नेपालीको अवस्थाबारे त्यहाँको स्वास्थ्य र परराष्ट्र मन्त्रालयमार्फत बुझिरहेको उनले बताइन् ।

कोरोना संक्रमित २ नेपालीलाई स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे पनि छलफल भइरहेको प्रवक्ता धितालले जानकारी दिइन् । तर, यूएईले आफ्ना देशमा कोरोना देखिएकालाई स्वदेश फर्काउन अहिलेसम्म अनुमति दिएको छैन । उसले यसबारे विभिन्न देशका प्रतिनिधिसँग छलफल गरिराखेको छ । प्रवक्ता धिताल यूएई सरकारको कदमपछि नेपाल फर्काएर उपचार गर्ने वा यहीँ राख्ने भन्नेबारे निर्णय लिइने बताउँछिन् ।

यूएईमा कार्यरत २ नेपालीमा केही दिनअघि कोरोनाको संक्रमण फेला परेको थियो । उनीहरूको परिचय दूतावासले गोप्य राखेको छ । नेपालीको मुख्य रोजगार गन्तव्य मानिन्छ, यूएई । चीन उद्गम भएर पुगेको कोरोना त्यहाँ फैलँदो क्रममा छ । हालसम्म त्यहाँका ९८ मानिसमा संक्रमण देखिएको छ । यो संक्रमणबाट मृत्यु भने भएको छैन । यद्यपि, त्यहाँ कार्यरत नेपालीमा त्रास छाएको छ । संक्रमण हुने र रोजगारी गुम्नसक्ने चिन्ता उनीहरूमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *