काठमाण्डौमा छापा मार्दा कालो बजारीको आठ लाख मास्क भेटिएपछि…

काठमाडौं, ३ चैत्र । काठमाडौं प्रहरीले अवैध रुपमा लुकाइराखेको आठ ट्रक सर्जिकल मास्क प्रहरीले बरामद गरेको छ। काठमाडौं सतुंगलको दुईटा घरमा रहेको गोदामबाट प्रहरीले सो मास्क बरामद गरेको हो। ती दुई गोदाममा प्रहरीले आइतबार अपरान्ह सिल गरेको थियो। आज बिहान सिल खोलेर गोदामभित्र हेर्दा आठ लाख ४० हजार मास्क फेला परेको काठमाडौं महानगरिय प्रहरी परिष्सरका प्रवक्ता होविन्द बोगटीले जानकारी दिए। प्रहरीको टोली चन्द्रागिरी नगरपालिका १० विष्णुदेवीमा रहेको गोदामबाट ती मास्क बाहिर निकालेको हो।

ती मास्क रोहित श्रेष्ठको घरमा रहेको गोदाममा १७५ वटा बोरामा थियो। चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको रोहवरमा गोदाम खोलेर मास्क बाहिर निकालिएको हो। बरामद गरिएको मास्क महानगरीय प्रहरी परिसर टेकु लगिएको छ। त्यहिँ लगेर मास्क गणना गरिने प्रवक्ता बोगटीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जनकराज दाहालका अनुसार कालोबजारीको सूचनाका आधारमा छापा मारिएको हो । प्रशासन र प्रहरीसहितको टोली छापा मार्न पुगेको थियो ।जिल्ला प्रशासन कार्यालयका काठमाडौंका प्रमुख दाहालले कालोबजारी कसैलाई नछाड्ने बताए ।

अप्ठ्यारो परेको बेलामा कालोबजारी गर्नेलाई कडा कारबाहीको चेतावनी दिए । टिम नै परिचालन गरी कारबाही बढाइएको बताए ।कोरोना भाइरसको नाममा देशभित्र कालोबजारी बढेपछि प्रशासन र प्रहरीले धमाधम छापा मार्न थालेको हो । उत्पादन मूल्य दुई रुपैयाँ प्रति गोटा पर्ने मास्क सामान्यतयाः पाँच रुपैयाँले विक्रीवितरण हुँदै आएको थियो । तर, कोरोना भाइरसको संक्रमण विश्वभर बढेपछि ५० रुपैयाँ प्रतिगोटामा विक्रीवितरण गरेर कालोबजारी हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *