वजारमा ग्यासको हाहाकार, दोषी उपभोक्ता आफै

काठमाडौँ, ३ चैत । विश्वमा कोरोनाभाइरसलाई बहाना बनाएर नेपाली वजारमा खाना पकाउने ग्यासको अभाव सिर्जना गरिएको छ । नेपालीको चुलोमा अहिले एलपी ग्यास छैन । दैनिक उपभोग्य बस्तुको पनि अभाव सिर्जना हुन थालेको छ । कोरोनाका त्रासका कारण एउटा देशवाट अर्को देशमा जाने र आउने नाका बन्द भएका छन् । जसका कारण उपभोग्य सामानको ओसार पसार पनि रोकिएको छ । यसको असर सर्वसाधारणको चुलो देखि दैनिक उपभोग्य बस्तुमा परेको छ ।

सरकारले खाना पकाउने ग्यासको अभाव छैन भनिरहँदा पसलमा किन्न जाँदा भने ग्राहकले पाउँदैनन् । आयल निगमले यो समयमा गत वर्षको भन्दा पनि बढी पेट्रोलियम पदार्थको आपूर्ति भइरहेको जनाएको छ । त्यसो भए आयात भइरहेको पेट्रोलियम पदार्थ कहाँ गयो ? गत वर्षको तुलनामा यस वर्ष झण्डै १५ प्रतिशतले ग्यासको बढी आपूर्ति भएको निगमको दाबी भएपनि उपभोक्ताले पाउन सकेका छैनन् ।

निगमले मासिक रुपमै करिब ६ हजार मेट्रिक टनले ग्यासको बढी आपूर्ति भइरहेको बताइरहँदा यता बजारमा भने ग्यासको हाहाकार मच्चिएको छ । कोरोनाको हल्लाकाबीच व्यवसायीहरुले असहज परिस्थितिको फाइदा उठाउँदै बजारमा कृतिम अभाव सृजना गरेको उपभोक्ताहरुले आरोप लगाएका छन् । तर आयल निगमले भने वजारमा अभाव सिर्जना हुने भयका कारण उपभोक्ताले नै आवश्यकता भन्दा बढी खरिद गरेर भण्डारण गरेका कारण वजारमा अभाव भएको आरोप लगाएका छन् । एकै परिवारले ४–५ वटासम्म सिलिण्डर होल्ड गर्दा बजारमा समस्या आएको सरकारको भनाई छ ।

‘निगमका सिइओका अनुसार ‘हाल उपभोक्ताको भान्छामा १ करोड १२ लाख बराबरको सिलिण्डर होल्ड भएका कारण वजारमा अभाव भएको हो । उपभोक्ताले भान्छामै ग्यास थुपारेर राखेका कारण अब केही महिना ग्यासको मागमा कमि आउने दावी गरेको छ । नेपाल आयल निगमका अनुसार हालैमात्र भारतको बरुणदेखि ३ सय २ बुलेट ग्यास नेपाल आउँदैछ । जसमा ८६ वटा बुलेट ग्याँस विभिन्न भन्सार हुँदै नेपाल प्रवेश गरिसकेको छ ।निगम कुनै पनि ग्यास कम्पनी, डिलर, वितरक तथा रिटेलरहरुमा ग्यासको अभाव नभएको बताउँछ । हुनपनि बजारमा ग्यासको हाहाकार मच्चिदासमेत कुनै ग्यास कम्पनी, वितरक, डिलर तथा रिटेलरहरुले ग्यास नपाएको बताएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *