कोरोना भाइरस बिरामीका लागि नेपालले रातारात ७५ शैयाको अस्पताल तयार

चितवन । चितवनमा कोरोना भाइरसका शंकास्पद बिरामीलाई उपचार गर्न ७५ शैय्याको आइसोलेसन वार्ड रातारात तयार हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी ठूलो सरकारी अस्पताल, भरतपुर अस्पताल र दुई मेडिकल कलेज एवं निजी अस्पतालमा ती वार्ड व्यवस्थापन गर्न लागेको जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार भरतपुर अस्पतालमा हाल सञ्चालनमा रहेका १९ श्ययालाई थप गरी २० पुर्‍याइने, दुई मेडिकल कलेजमा २०(२० श्ययाको छुट्टै कक्ष बनाइने र निजी अस्पतालमा १५ श्यया व्यवस्थापन गरिने छ । जिल्लामा आएका शंकास्पद बिरामीलाई राख्नका क्वारेन्टाइन निर्माणका लागि स्थानको खोजी भइरहेको छ । उनले भने, “शंकास्पद बिरामीलाई राख्न क्वारेन्टाइन बनाउने ठाउँको खोजीमा छौँ । सम्भवतः छिट्टै टुङ्गिने छ ।”

जिल्ला प्रशासन कार्यालयले सबै चनाखो भएर पूर्वतयारी गर्न आग्रहसमेत गरेको छ । प्रशासनले जिल्लामा भित्रने नाकामा कडाइ गर्न लागेको छ । विदेशी नागरिक प्रवेश गर्न सक्ने नाका भरतपुर विमानस्थल, पर्साको ठोरी हुँदै माडी जोड्ने नाकामा जाँचको व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

पत्रकार सम्मेलनमा संक्रमण हुन नदिन र भइहालेमा आवश्यकतानुसार एम्बुलेन्स प्रयोग गर्न सक्ने गरी तयारी गरिएको, जनचेतनामूलक कार्यक्रम गर्न लगाइएको, संघ, प्रदेश र स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिइएको थियो । यस्तै स्वास्थ्यकर्मीलाई अत्यन्त जरुरी कामबाहेक बिदा नबस्न पत्राचार गरिएको, त्रास फैलाउने मनसायले सामाजिक सञ्जालमा सूचना सम्प्रेषण गर्ने व्यक्तिलाई कारवाही अघि बढाइएको, पारिवारिक भेटघाटबाहेक अन्य जमघटका कार्यक्रम नगर्न निर्देशन दिइएको र कालोबजारी नियन्त्रणका लागि घोषित तथा अघोषित अनुगमनलाई तीव्र बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *