अमेरिकी राष्ट्रपतिले कोरोनालाई दिए नयाँ नाम ‘चाइनिज भाइरस’ विश्वभरवाट आलोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई नयाँ नाम दिएका छन् । विश्वलाई नै त्रसित बनाएको कोरोनालाई अमेरिकी राष्ट्रपतिले ‘चाइनिज भाइरस’ भनेका छन्। मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले कोरोना भाइरसलाई चिनियाँ भाइरस भनेर उल्लेख गरेका हुन् । उनको यो अभिब्यक्तिको विश्वब्यापी टिप्पणी भएको छ ।

उनले ट्वीटमा भनेका छन्,‘चाइनिज भाइरसबाट प्रभावित उद्योग, एयरलाइन्स र अन्य व्यवसायलाई अमेरिकाले साथ दिनेछ। हामी पहिलेभन्दा अझ बलियो बन्नेछौं।’ अमेरिकामा कोरोना भाइरस तिब्र रुपमा फैलिन थालेपछि उनको यस्तो प्रतिकृया आएको हो । कोरोना भाइरसलाई लिएर अमेरिका र चीनबीच एक अर्कालाई टिप्पणी गर्ने क्रम जारी छ । चीनले सुरुवाती चरणमा वेवास्ता गरेका कारण यो रोग विश्वव्यापी भएको आरोप अमेरिकाले लगाउँदै आएको छ ।

ट्रम्पले विश्वलाई त्रसित बनाइरहेको कोरोना भाइरसलाई चाइनिज भाइरस भनेपछि उक्त ट्वीट जातिवादी भएको भन्दै ट्रम्पको विश्वभरबाट आलोचना भइरहेको छ। यस अघि विदेशी भाइरस भनेर टिप्पणी गरेका ट्रम्पले सोमवार भने चाइनिज भाइरस भनेर उल्लेख गरेका हुन् ।

कोरोना भाइरस चीनको हुपेइ प्रान्तको वुहान शहरमा पहिलोपटक देखिए पछि त्यसले विश्वव्यापी रुप लिएको हो । अहिले चिनमा नियन्त्रणमा आएको कोरोनाले युरोपियन मुलुकमा तिब्रता लिएको छ । हालसम्म यस भाइरसका कारण १ लाख ८२ हजार ७२५ संक्रमित बनिसकेका छन्। यसका कारण ७ हजार १७४ को निधन भइसकेको छ।

यो भाइरस विश्वका १ सय ५० भन्दा बढी मुलुकमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाउको छ। अमेरिकामा पनि कोरोनाका कारण ९३ जनाको निधन भइसकेको छ भने ४ हजार ७२७ संक्रमित छन्।

सन् २०१८ यता अमेरिका र चीन व्यापार युद्धमा होमिएका छन्। जसका कारण एक अर्कालाई टिप्पणी गर्न दुई देशका अधिकारीहरु लागेका छन् । ट्रम्पको पछिल्लो ट्वीटले दुवै राष्ट्रको सम्बन्धमा थप तनाव उत्पन्न हुने अनुमान समेत गरिएको छ।

केही हप्तायता अमेरिका र चीन आरोप र प्रत्यारोपमा पनि उत्रिएका छन्। चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले जब अमेरिकी सेनाले चीनमा भाइरस फैल्याएको अरोप समेत लगाएका थिए । उनले कुनै पनि मुलुक रोगवाट मुक्त नभएको भन्दै अमेरिकाले रोगको डाटा लुकाउने गरेको समेत आरोप लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *