पेट पाल्न लकडाउन छल्दै, प्लास्टिक उठाउँदै

२० चैत, पोखरा । उदयपुरको गाईघाटका ५६ वर्षीय भीमबहादुर चौधरी पोखरामा बस्छन् । पोखरा महानगरपालिका-५ नदीपुरमा परिवारसहित अस्थायी रुपमा बसोबास गर्दै आएका चौधरी ज्याला मजदुरी गरेर साँझ-बिहान हातमुख जोड्थे ।चौधरीसँगै उदयपुरकै उत्तम भुजेल पनि मजदुरी गर्दै जीविकोपार्जन गरिरहेका थिए । तर, विश्वव्यापी रुपमा कोरोनाका कारण लकडाउन हुँदा उनीहरुको मजदुरी नै बन्द भयो ।

काम गर्न नपाउँदा हातमुख जोड्ने बाटो बन्द भएपछि भुजेल र चौधरी परिवार लकडाउन छल्दै पोखराको सडकमा प्लाष्टिकको बोतल, कागज उठाउन थालेका छन् ।त्यही सामान जम्मा गरी बिक्री गरेर साँझ-बिहानको छाक टार्न थालेको भीमबहादुरले बताए । लकडाउनपछि दिनचर्या र काम नै परिवर्तन भ​एको उनको भनाइ छ ।

आफूले जम्मा गरेको कबाडको थुप्रो देखाएर साहुबाट खाद्यान्न खरिद गर्ने गरेको उत्तम भुजेलले बताए । भुजेलले सरकार पक्षबाट ज्यालादारी मजदुर र अतिविपन्न वर्गलाई राहत दिने घोषणा गरे पनि आफूले अहिलेसम्म नपाएको गुनासो गरे । ‘तीन दिनअघि वडा कार्यलयमा ग​एर नाम दर्ता गराएँ तर अझैसम्म केही पाएको छैन,’ भुजेलले भने ।सरकारले अत्यावश्यक उपभोग्य सामग्री समयमा वितरण गरेको भ​ए लकडाउन उल्लङ्घन गरेर बोरा बोक्दै सडक डुल्नुपर्ने बाध्यता नआउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *