मलेसियाबाट नेपालीको मार्मिक पत्र : तिम्रो सन्तानको हारगुहार कसैले सुनेन आमा

तस्बिर : रमेश बस्नेत, दोलखा, हाल मलेसिया प्रिय नेपाल आमा तिम्रो तस्बिर छातिमा टाँसेर सम्झँदै म परदेशी छोराको तर्फबाट शिर निहुँराएर ढोग छ। कहाँ बाट सुरु गरौं मेरा भाबनाहरु नेपाल आमा, म र म जस्ता हजारौं नेपाली बन्द कोठामा सिमित रहेको ३ हप्ता भन्दा बढी भइसक्यो। हरपल हरदिन आफ्नो माटो अनि मातृभुमिलाई सम्झेर रुनु सिवाय परदेशीको के नै हुन्छ र ? अझै कति दिन बन्द कोठामा उकुसमुकुस भएर समय कटाउने हो अन्यौल छ।

कोभिड १९ अर्थात कोरोना भाइरसले बिश्व समुदाय त्रसित हुँदा हामी बीर नेपाली भनेर मात्रै त्रसित नहुने कुरै भएन । आमा आज बिश्व कामिरहेको छ । तपाईको बीर सन्तान आज तपाईलाई समेत परेको पीडामा सँगै बस्न नपाए पनि परदेशमै भएपनि रोइरहेको छ । यता हामी प्रदेशीको मुटु त घरिघरी घर परिवारको चिन्ताले धड्किदै रोकिन खोज्छ । अलि अलि मन भुल्याउन खोज्ने बाहिरको रंगिन संसार पनि आज सुनसान छ ।

यहाँ मात्रै हैन बिश्वभर काम ठप्प हुँदा त्यहाँ रहेका नेपालीहरुको काम पनि त ठप्प छ । काम गर्न पाखुरा बजार्दा सम्म मात्र हो नत्र यहाँ कसैले केछ कसो छ भनेर अहिलेसम्म सोधेको छैन आमा । आज म आफै आफ्नो माटोलाई सम्झेर यो पत्र लेख्दैछु र सोध्दैछु सन्चै छौ नेपाल आमा ? हाम्रा नेपालीहरुलाई बचाई देउ है । हाम्रो पशुपतिनाथको देश भिमेश्वरको देश र भनौं भगवानै भगवान भएको देश । यिनै भगवानहरुको आसामा हामी यहाँ नेपाल आमा बाँच्नेछिन् भन्दै भरोसामा बाँचिरहेका छौं ।तर मलाई मेरी आफ्नी घरकी आमाले दिनमा तीन पटक फोन गरेर सोध्नु हुन्छ बाबू कस्तो छ । म हासेर भन्छु आमा ठीक छु भनेर केहि ढाट्दै गर्दा पनि म खुला जेलको बन्द कोठामा छु भनेर भन्दिन । मेरी आमा र नेपाल आमालाई यो भन्न सकिरहेको छैन मलाई दुख छ भनेर।

म मलेशियाको खाडीमा छु । यस्तै खाडीमा म जस्तै लाखौं श्रमिक छ्न् जो अहिले कोरोनाको उच्च जोखिममा छन् र त्यसमाथी पनि अधिकांश अबैधानिक छन् । सबैभन्दा उच्च जोखिमको सेक्युरिटी गार्डमा आबद्ध छ्न्। अनि मलाई यिनै साथिहरुको चिन्ता लाग्छ । मेरो देशप्रतिको माया र नेताको चरित्र देखेर म आफ्नो फेसबुकमा आक्रोश पोख्छु तर कसले सुन्छ हामी प्रबासीले बन्द कोठाबाट लेखेको फोस्रा कुरा भन्छु अनि त्यसै मन मार्छु । हामी खाडीमा हुने नेपालीले पठाएको रेमिटान्सले देश चल्यो ।

देशको अर्थतन्त्रमा टेवा पुग्यो । आज त्यहि खाडीमा बिचल्लीमा परेका, उच्च जोखिममा परेका हामी जस्ता सन्तानको हारगुहार कसैले सुनेन आमा । हाम्राकुरा कसैले सुनेन । देश दुखिरहेको छ तर महशुस गर्नु पर्नेले गरेन आमा । हो हामीले महशुस गरेको त्यो दुख शासकहरुलाई नदुख्दा हाम्रा रगत र पसिनाहरु उम्लिएर आउँछन् ।

आफ्नै देशबाट लाखौ रकम लिएर बाहिरिएका विद्यार्थीहरु चीनबाट तुरुन्त सुरक्षित नेपाल ल्याईयो । तर खोइ हामी श्रमिकहरुलाई नेपाल फर्काएको ? के यो बिभेद भएन ? नेपाली नागरिकता बोकर पराई मुलुकमा श्रम गरेर खाने नेपाली चाँहि के नेपाली हैन ? तर यो प्रश्न कसलाइ गरौं आमा फेरि भारतबाट आफ्नै बोर्डरमा आएर हारगुहार मागेका नेपालीलाई सम्झिए ।

त्यहि ढोकामा आएर ढोका ढक्ढक्याएका नेपालीलाई आफ्नै ब्यवस्था गर्न सकेन भने हामी सात समुन्द्र पारीकालाई के व्यवस्था गर्न सक्लान र शासकले भनेर चित्त बुझाएँ । हाम्रो त भाग्य नै यस्तै रहेछ भन्दै मन कुँड्याए बसे । फेरि नेपाल सरकार सम्झिएँ उत यो आपत्तीलाई अवसर सम्झेर भष्ट्राचार गर्नमा व्यस्त छ । कसले गर्छ उद्दार आमा यो देशको ? संघर्ष आफै भित्र छ । मनलाई कठोर बनाइ दिनभरि सुते । फेरि रातभरि सुत्नु नै छ ।

ज्यान जहाँ भए पनि मन त नेपाली हो । मेरो कोहि नेपाली दाजुभाइ दिदिबहिनीलाई केहि नहोस् प्राथना गरे । अनि कोल्टे फेर्दै गर्दा फेरि घरबाट मेरी आमाको फोन आयो । बाबू के खायौं । मैले खाए आमा चिन्ता नगर्नुस भने । आमाले सुक्क गर्नुभयो । सायद आमाले मेरो भोको पेट सम्झेर या भनौं थाहा पाएर रुनु भएको होला मैले आमालाई सम्झाएँ ।

आमा चिन्ता लिनु पर्दै हामीलाई केहि भईहाल्यो भने सरकार छदैछनी । आमाले वात्सल्य पोखिएर आयो र भन्नुभयो बाबु चिन्ता नगर्नु अनि भोकै नबस्नु है। मेरी आमा र नेपाल आमाको पिडामा सयौं आमा परिवार र सन्तानको बिछोडमा यसैगरि संसारका कुनाकाप्चामा आँसु झार्दै छ्न । सरकार बिपत्तिमा परेका सबैको उद्दार गर । नागरिक सबै समान हुन । सम्बन्धित देशको दूतावासलाई निर्देशन गर । हामी बाँचे परदेशिको पैसाले देश बाँच्छ । मर्नु परे हामीलाई आफ्नै माटोमा मर्न मन छ । प्यारी नेपाल आमा हामीलाई हाम्रो माटोमा मर्ने बाताबरण मिलाउने बुद्धी नेपालका नेता र सरकारलाई देउ है । उस्तै भएको यो रात र दिन यस्तै कुरा सम्झदै कटाइ राखेको छु। अन्तमा खाडीमा बसेर धेरै बोल्यो नभन्नु है नेपाल आमा, म बाध्यताले यो लेख्दै छु । श्रोत हाम्रा कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *