अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन दिएका छन् ।
उनले अस्ट्रेलियामा रहेका विद्यार्थीका बारेमा परराष्ट्र मन्त्रालय र अस्ट्रेलियामा रहेको नेपाली दूतावाससँग समन्वय गरी विद्यार्थीको यथार्थ जानकारी लिन शिक्षासचिव दाहाललाई निर्देशन दिएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए । अहिले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको सङ्ख्या ५८ हजार छ । कोरोना भाइरसका कारण त्यहाँको सरकारले विदेशी विद्यार्थीलाई फिर्ता हुन आग्रह गरेको छ ।
कोरोना भाइरसका कारण त्यहाँ रहेका धेरै विद्यार्थीहरुले आफ्नो जागिर गुमाएका छन्। जसका कारण पनि नेपाली विद्यार्थीहरुलाई अप्ठ्यारो स्थिति पैदा भएको छ। अधिकांस नेपाली विद्यार्थीहरुले होटल रेष्टुरेन्टमा काम गर्ने गर्छन्। तर अहिले कार्यस्थल बन्द हुँदा उनीहरुले काम गुमाउन परेको छ।
कोरोनाका कारण ३० हजार बढी विद्यार्थीले आफ्नो काम गुमाइसके छन् । ‘यहाँको लकडाउन अझै २/३ हप्ता यस्तै हुने हो भने केही विद्यार्थी सडकमै आउन पर्ने अवस्था सिर्जना हुनसक्छ’, एक नेपालीले भने, ‘नेपाल सरकारले विद्यार्थीको लागि घर फर्किने बाटो खुला गरिदिए उनीहरु फर्किन सक्थे।
धानमन्त्री मरिसनले शुक्रबार अष्ट्रेलियाको भिसा सर्तमा एक वर्ष आफुले आफैलाई सहयोग गर्न सक्ने सर्त भएको र अप्ठ्यारो अवस्थामा परेकाहरु स्वदेश फर्कन सक्ने बताएका थिए। तर उनको यो भनाईको अष्ट्रेलियामा नै विरोध सुरु भएको छ। प्रतिपक्षी दल अस्ट्रेलियन लेबर पार्टीले प्रधानमन्त्रीको यस भनाईको विरोध गरेको छ। दु:खको बेला उनीहरुलाई घर जाउ भन्नु भन्दा सहयोग गर्नुपर्ने विपक्षीको भनाई छ।