भाइरस नियन्त्रण गर्न सरकार असफल भयो अब हाम्रा कार्यकर्ता र जनसेनाहरू जनताका घर–घरमा पुग्छन् : विप्लव

काठमाडौं । लामो समय देखि नेपाल–भारत सीमा क्षेत्रमा हजारौं नेपालीहरुले निकै कष्ठकर जीवन बिताउँदै आएका छन् । नेपाल सरकारद्धारा प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहले कोरोना रोकथाम गर्न र जनतालाई भरपुर सहयोग गर्ने भएको छ । विप्लवको नेकपाले नेपाल–भारत सीमामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन सरकारसँग माग गरेको छ । यो सँगै पार्टीले सरकार असफल भएको पनि आरोप लगाएको छ । पार्टी महासचिव चन्दले शनिबार वक्तव्य जारी गदै प्रकोप रोकथामका लागि सरोकारवाला सबैसँग सहकार्यका लागि तत्पर रहेको पनि जानकारी दिनु भएको छ ।

जारी वक्तव्यमा भनिएको छ, ‘नेपालको सामाजिक दलाल पुँजीवादी सरकारको चरम लापरबाही, कमिसनखोरी, दलाली प्रवृत्तिका कारण पर्याप्त पहलकदमी लिन सकेन जसको कारणले लाखौं नेपाली नागरिकहरूले विविध खालका समस्याहरू भोग्नु परिरहेको छ ।’ उहाँले यस महामारीसँग जुध्नका लागि सरकारलाई १६ बुँदे सुझाव र आफ्नो पार्टीले गर्ने ६ बुँदे कार्यसूची पनि प्रस्तुत गरेका छन् ।

नेकपालाई सरकारले २०७५ फागुन २८ यता प्रतिबन्ध लगाउँदै आएको छ । विश्वव्यापी कोरोना संक्रमण महामारीको रूपमा फैलन थालेपछि यसअघि विप्लवले आफ्नो तर्फबाट संर्घषका कारबाही तत्काललाई स्थगन गरेको बताउनु भएको थियो । शनिबार विप्लवले यस महामारीसँग जुध्न सबैसँग सहकार्य गर्न तयार रहेको बताउनु भएको हो । पार्टी कार्यकर्ता र जनसेनाहरू हाल आफ्नो क्षेत्रबाट कोरोना भाइरसविरुद्धको संघर्षमा सहभागी बनिरहेको पनि खुलासा गरिएको छ ।

आउँदा दिनमा यसलाई अरू व्यवस्थित प्रकारले जनचेतना फैलाउने, विश्व स्वास्थ्य संगठनले निर्देशित गरेका मान्यताहरूलाई जनतामा पुर्‍याउन र जनतालाई उपचारमा सहयोग गर्ने भनिएको छ । चन्दले सरकारी स्तरबाट भएको भ्रष्टाचारको भन्डाफोर भने यसबीचमा पनि जारी राख्ने बताउनु भएको छ । कोरोना संक्रमणले जनता आकुलव्याकुल भएको समयमा पनि सरकारी स्तरबाट भ्रष्टाचार व्याप्त रहेको भन्दै चन्दले त्यस्तो भष्टाचारको भन्डाफोर जारी राखिने बताउनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *