आज चैत २४ गते, कोरोनाले बिर्साइदियो जनआन्दोलन सुरु भएको दिन

काठमाडौं । आज २४ गते, नेपालको राजनीतिक इतिहासमा अर्थपूर्ण दिनको रुपमा रहेको छ । साढे दुई शताब्दी इतिहास बोकेको राजसंस्था अन्त्य गर्न भएको १९ दिन जनआन्दोलनको सुरुवात भएको दिन हो, चैत २४ गते ।

२०६२ साल चैत २४ गते अर्थात आजकै दिनबाट सुरु भएको थियो दोस्रो जनआन्दोलन । चैत २४ गतेबाट सुरु भएको दोस्रो जनआन्दोलन १९ दिनसम्म चलेको थियो । २५ जनाभन्दा बढीको सहादतबाट शाहवंशीय राजसंस्था अन्त्य भएको थियो र मुलुक गणतन्त्रमा प्रवेश गरेको हो ।

तत्कालीन सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीले सुरु गरेको आन्दोलन अततः जनआन्दोलनमा परिणत भएको थियो । सोही जनआन्दोलनको उपलब्धिका रुपमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बन्नेको हो ।
तर, यस वर्ष जनआन्दोलन सुरुवात गरिएको स्मरणमा राजनीतिक दलहरुले औपचारिक कार्यक्रम राख्न पाएनन् । विश्वभरमा जस्तै नेपालमा पनि कोरोनाभाइरस (कोभिड १९)को संक्रमण रोकथाम गर्नुपर्ने भएकाले लकडाउन गरिएको छ । मुलुक १४ दिनदेखि लकडाउनको अवस्थामा छ ।

लकडाउन गरिएकाले मानिस घरभित्रै बसेका छन् । सरकारले घरबाहिर ननिस्कन भनेकाले पनि जनआन्दोलन सुरुवात भएको दिनको स्मरण सामूहिक र औपचारिक कार्यक्रम गरेर नगरिएको हो । विभिन्न नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत यस दिनको स्मरण गरिरहेका छन् ।जनताको छोरा राष्ट्र प्रमुख हुने र सबै अधिकार जनतामा निहित व्यवस्थालाई स्थापित गराएको उक्त जनआन्दोलन नेपाली राजनीतिमा महत्व र अर्थपूर्ण रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *