एसइई परीक्षा दिने विद्यार्थीहरुका लागि अनलाइन कक्षा सञ्चालन गर्दै

चितवन, चैत २८ । सरकारले घोषणा गरेको लकडाउनको समयमा विद्यार्थीहरु घरमा नपढेपछि जिल्लामा रहेका विद्यालयले विद्यार्थीलाई केन्द्रित गर्दै अनलाइन कक्षा सञ्चालन गरेका छन् ।शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीका अनुसार जिल्लामा एसइई परीक्षा दिने तयारीमा २२४ विद्यालयका ११ हजार २५४ रहेका छन् ।

विद्यार्थी र शिक्षकको समय मिलाएर हरेक दिन कुनै एक समयमा अनलाइन कक्षा सञ्चालन भइरहेको उनले जानकारी दिए । एक दिन एउटा विषयको पढाइ हुने गरेको सुवेदीले बताए ।उनले भने, “कडाउनको समयमा विद्यार्थी घरमा पढ्न नमानेको गुनासो आउन थालेपछि विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका हुन ।”

अनलाइन कक्षा सञ्चालनका लागि एपमार्फत विद्यार्थीलाई जोडेर पढाइने गरिएको छ । अझै पनि केही विद्यार्थी सो एपभन्दा बाहिर रहेका कारण उनीहरुलाई पनि सम्पर्कमा ल्याउन खोजिएको उनले जानकारी दिए । लकडाउनको समयभर विद्यार्थीलाई शिक्षकले फोनमार्फत निगरानी गरिरहेको उनको भनाइ छ ।

उनले भने, “इन्टरनेटको सुविधा भएका स्थानमा अनलाइन कक्षा सञ्चालन गरिएको छ भने अन्य स्थानमा मोबाइलबाट निगरानी गरिएकोछ ।”विद्यार्थी परीक्षाको तयारीबाट बिचलित नहुन भनेर विद्यालयले शिक्षकलाई यसको जिम्मेवारी दिएको सुवेदीले बताए । लकडाउनको समयमा विद्यार्थीले पढेनपढेको बुझ्नका लागि अभिभावकसँग पनि नियमित सम्पर्क बढाउन लगाइएको छ । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *