मुख्यमन्त्री शाहीसहित १६५ को कोरोना परीक्षण रिपोर्ट आयो

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्री तथा प्रदेशसभा सदस्यसहित १६५ जनाको कोरोना परीक्षणको रिपोर्ट आएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्री तथा प्रदेशसभा सदस्यसहित १६५ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

बिहीबार प्रदेशसभा सदस्य, कर्मचारी र सुरक्षाकर्मी गरी १ सय ६५ जनाको ‘नोजल स्वाब’ संकलन गरिएको थियो । जेठ ११ गते प्रदेशसभाको आह्वान गरिएको छ ।

मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले ‘नोजल स्वाब’ दिएका थिए ।

त्यसैगरी कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्तीलगायत ४० प्रदेशसभा सदस्य, सुरक्षाकर्मी, मर्यादापालक कर्मचारी, सवारी चालक र केही पत्रकारसहित १६५ जनाको ‘नोजल स्वाब’ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा चेतनारायण अधिकारीले जानकारी दिए ।

प्रदेशसभा सचिव जीवराज बुढाथाकीले सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको र यसले निर्धारित मितिमा बैठक सुरु हुने जानकारी दिए । सामाजिक विकासमन्त्री दल रावलले प्रदेशसभा सचिवालयलाई कोभिड–१९ विरुद्ध अपनाउनुपर्ने सबै सावधानीमा सरकारले सहयोग गर्ने बताए ।

यस्तै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको हो । शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

संक्रमितहरुमा सर्लाहीकै मात्र १५ जना भएको मन्त्रालयले जनाएको छ । संक्रमितहरुमा सर्लाहीकै मात्र १५ जना भएको मन्त्रालयले जनाएको छ । शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा (नवलपरासी बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेढी गाउँपालिकाका ४५ वर्षीय पुरुष, चितवनको भरतपुर महानगरपालिका-६ निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन् । त्यस्तै नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका-५ र रामग्राम नगरपालिका-३ र १८ निवासी ३३ वर्षीय तथा ३५ वर्षीय पुरुष र १५ वर्षीया किशोरी रहेका छन् ।

कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका ८ वर्षीया बालिकासहित ९ जनामा संक्रमण देखिएको छ । त्यस्तै सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा गाउँपालिका-७ निवासी १५ जना रहेको मन्त्रालयले जनाएको छ । शुक्रबार संक्रमण पुष्टि भएकाहरुको उमेर समूह ८ देखि ७४ वर्ष रहेको छ ।

संक्रमण पुष्टि भएकाहरुमध्ये अहिलेसम्म ४९ जना निको भएका छन् । त्यस्तै बाँकेको सुशील कोइराला क्यान्सर अस्पतालमा उपचाररत २१ जना शुक्रबार डिस्चार्ज हुँदैछन् । संक्रमण पुष्टि भएकाहरुमध्ये बाँके, सिन्धुपाल्चोक र गुल्मीका एक/एक जना गरी ३ जनाको मृत्यु भएको छ ।

काेराेनाबाट विश्वभर भने ३ लाख ३४ हजार ३९ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ५१ लाख ८८ हजार ३५६ जना संक्रमित भएका छन् ।

२० लाख ७८ हजार २०४ जना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा ४ हजार ८०० जनाले ज्यान गुमाएका छन् भने १ लाख ४ हजार ९४५ जनामा संक्रमण पुष्टि भएको छ । २७ लाख ७६ हजार ११३ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ६४५ जनाको अवस्था गम्भीर छ ।

शुक्रबार यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६६ हजार ८०५ जनाको मृत्यु भएको छ । १८ लाख ४८ हजार ३२२ जना संक्रमित भएकोमा ८ लाख २६ हजार ६४१ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९ हजार ७०२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख ९३ हजार ९३४ पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २६ हजार २३८ जनाको मृत्यु भएको छ । ८ लाख ८७ हजार २१८ जना संक्रमित भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा २८ हजार ४३ जनाको मृत्यु भएको छ । ५ लाख ४७ हजार ७९० जना संक्रमित भएका छन् । अफ्रिकी मुलुकहरुमा ३ हजार ११५ जनाको ज्यान गएको छ भने १ लाख १ हजार ६८३ जना संक्रमित छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२१ जनाको मृत्यु भएको छ । ८ हजार ६८८ जना संक्रमित भएका छन् । कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९६ हजार २६९ जनाको मृत्यु भएको छ । १६ लाख १९ हजार ७८७ जना संक्रमित भएका छन् ।

यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ ३ लाख १७ हजार ५५४ जना संक्रमित भएका छन् भने ३ हजार ९९ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *