बीचबाटोमा पुगेपछि घरबेटीले कोठा दिन्नौं भने

१० जेठ, काठमाडौं । कोठा खोज्दा खोज्दै लखतरान भएकी राम नन्दनी चौधरीलाई शुक्रबार दिउँसो मोबाइलमा बजेको रिङटोनले धेरै खुशी दियो । फोनमा भनियो, ‘म बसेको घरमा एउटा कोठा छ, घरबेटीलाई फोन गर्नू ।’उनलाई अस्पतालमा उपचार गराउने क्रममा भेटेकी एक महिलाले फोन गरेकी थिइन् ।फोन राख्नासाथ म्यासजेमा घरबेटीको नम्बर आयो । उनले डायल गरिन् । उताबाट घरबेटीले केही प्रश्नहरु सोधे । उनले नढाँटिकन उत्तर दिइन् । कोठाभाडा अस्वाभाविक महंगो भए पनि दायावायाँ नसोची ‘हुन्छ’ भनिदिइन् ।

त्यसपछि कान्ति बाल अस्पतालमा रहेका पोका पन्तुरा र सामान प्याक गर्न थालिन् । उनका साथमा बहिनी र देवर थिए । सामान प्याक गर्दागर्दै बहिनीले भनिन्, ‘२ महिना लामो अस्पताल बसाई बल्ल सकिने भो ।’उनले पनि लामो सास फैर्दै आफैंलाई सान्त्वना दिइन्, ‘बल्ल अलिकति भए पनि राहत मिल्यो, अब ढुक्कले डेरामा बसेर छोरीको उपचार गर्छु ।’

सामान प्याक गरेपछि उनले गाडी बोलाइन् । लकडाउनका बेला भाडा चर्को हुने नै भयो । तर, कोठामा बस्न पाउने आशले ‘नाई’ भनिनन् ।जब उनी गाडीमा सामान हालेर नारायणस्थानतर्फ अघि बढिन् । त्यहीबेला मोबाइलमा रिङ्टोन बज्यो। फोन हुनेवाला घरबेटीको थियो ।

झट्टपट्ट फोन उठाउनासाथ उताबाट आवाज आयो, ‘तपाईहरु नआउनुहोला, हामी कोठा दिन्नौं ।’जिल्लाबाट आएको दुई महिनामा काठमाडौंले उनलाई पटक-पटक स्तब्ध बनाइसकेको थियो । घरबेटीको कुराले झन् स्तब्ध बनायो ।एकछिन अघिको सम्झौता घरबेटीलाई सम्झाइन् । उताबाट जवाफ आयो, ‘हामीले तपाईहरुलाई कोठा नदिने निर्णय गरिसक्यौं ।’

‘हामीले गाडीमा सामान हालेर आइसक्यौं’ भन्दा उताबाट फेरि जवाफ आयो, ‘जेसुकै गर्नुस्, हाम्रो घर हो, हामी छिर्न दिन्नौं ।’घरबेटीले त्यति भन्दाभन्दै उनलाई त्यहाँ जान मन लागेन । फेरि अस्पतालबाहेक जाने ठाउँ थिएन । क्यान्सर लागेकी २० महिने छोरीको बिजोग भइसकेको थियो ।

गाडी चालकले जाने ठाउँको टुंगो नभएपछि बीच बाटोमै सामान झारिदिन लागे ।उनी रोइकराई गर्न थालिन् । र, गाडीवालालाई आफूले भोगेको यथार्थ बताइन् ।उनको समस्या सुनेपछि गाडीवालाले भने, ‘के गर्नु बहिनी, यस्तै हो, आफैं समस्या भोगिरहेका मानिसहरुलाई अरुको समस्या सुन्न बुझ्न फुर्सद हुन्न ।’

त्यसपछि तिनै गाडीवालाले नारायणस्थान भन्दा माथि एउटा आश्रममा छोडिदिए । हिजो उनी त्यहीँ बसिन् । अब त्यहाँ कतिञ्जेल बस्न पाउने हो थाहा छैन ।मंगलबार कान्ति अस्पतालमा फलोअपका लागि कसरी जाने, सोचिरहेकी छिन् ।काठमाडौंमा यस्तो बिजोक हुन्छ भन्ने त मैले सोचेको पनि थिइनँ ‘ राम नन्दनीले निराश स्वरमा भनिन्, ‘कोठा पाइएन भने सधै यहाँ बसेर साध्य हुँदैन के पो गर्ने हो ?४ महिनाअघि

४ महिनाअघि रुपन्देहीमै हुँदा राम नन्दनीकी छोरीलाई हनहनी ज्वरो आयो । रुघा लाग्यो । सामान्य उपचारले ठीक नहुने भएपछि उनलाई भैरहवाको एक अस्पतालमा लगियो । भैरहवाको अस्पतालमा केही दिन बसेपछि उनी ठीक भइन् ।त्यहीबेला गाउँमा रुबेला खोप अभियान सुरु भयो । खोप लगाएको केही दिनमै छोरी फेरि सिकिस्त भइन् । फेरि अस्पताल लगियो । त्यहाँ ५ दिन अस्पताल बसेपछि फेरि ठीक भइन् ।

केही दिनपछि छोरीको फेरि पेट सुनिन थाल्यो । त्यहाँबाट बुटवलको एक निजी अस्पतालमा ल्याइयो । त्यहाँका चिकित्सकहरुले क्यान्सरको शंका गर्दै भरतपुर अस्पताल लगे । भरतपुर अस्पतालले टीबीको खोप लगाउनू भने । टिबीको खोप लगाएपछि पनि छोरी ठीक भइनन् । फेरि बुटवलको अस्पतामा भर्ना गर्नुपर्‍यो ।बुटवलको अस्पतालले क्यान्सरको शंका गर्दा काठमाडौंको कान्ति अस्पताल रिफर गर्‍यो । राम नन्दनी कान्ति आइपुग्दा देशमा लकडाउन सुरु भएको २ दिन भएको थियो ।

‘बुटवल, भैरहवा गर्दागर्दै र अस्पताल बस्दा बस्दै ४ लाख सकियो’ निराश हुँदै उनी भन्छिन्, ‘यता आएको २ महिनामा पनि ३ लाख रुपैयाँ सकियो, क्यान्सरको बिरामीको खर्च धान्न नसकिने रहेछ ।’जतिबेला राम नन्दनीको छोरी सिकिस्त भएकी थिइन्, त्यतिबेला नै उनका श्रीमान वैदेशिक रोजगारीका लागि साउदी उडेका थिए । साउदी पुगेका श्रीमानले काम नपाएकाले छोरीको उपचार गर्न ऋण गर्नुपरेको राम नन्दनी सुनाउँछिन् ।

‘भएका गरगहना सबै बेचेर छोरीको उपचार गर्न लागिपरेकी छु । तर, पैसा तिर्दा पनि बस्नलाई कोठा पाइएन, रामनन्दनी भन्छिन्, ‘क्यान्सरको पीडाले छोरी सहन नसक्ने गरी रुन्छे, मैले केही गर्न सकिरहेको छैन ।’कान्ति अस्पतालमा भर्ना हुनासाथ रामनन्दनी, उनकी बहिनी र देवर कोठा खोज्न धेरै हिँडे । लगातार दुई साता कान्ति अस्पताल नजिकैका बस्ती चाहार्दा पनि उनीहरुलाई कोठा दिने कोही भेटिएनन् । कसैले कोठा देखाएर पनि उनीहरुको यथार्थ थाहा पाएपछि दिन नमिल्ने भने ।

अस्पताल ओहोर-दोहोर गर्नुपर्ने बाध्यता नै उनीहरुले कोठा नपाउने कारण बन्यो । घरबेटीहरुलाई लाग्यो, उनीहरुले नै घरमा कोरोना फैलाउँछन् । तर, घरबेटीहरुलाई उनकी २० महिने छोरी अस्पतालमा मृत्युसँग लडिरहेको यथार्थले पगालेन ।‘बिरामी छोरीलाई अस्पताल छाडेर कोठा खोज्न जादाँ पनि पाइनँ’ उनी भन्छिन्, ‘धेरै दु:ख भोगियो, अझै के-के भोग्नुपर्ने हो।’अर्को उस्तै कथा

जनकपुरकी राधा परियार (नाम परिवर्तन) ४ महिनादेखि काठमाडौंमा छिन् । ८ वर्षीय छोरोलाई काठमाडौंस्थित कान्ति बाल अस्पतालमा क्यान्सरको उपचार गराउन आएकी उनी एकपछि अर्को समस्यामा फसेकी छिन् ।क्यान्सरको उपचार गरुञ्जेल काठमाडौंमै बस्नुपर्छ भनेर उनी नारायणस्थानस्थित बहिनीको कोठामा बस्थिन् । दैनिक अस्पताल आउजाउ गर्नुपर्थ्यो । नियमित आउजाउँ गर्थिन् ।

यहीबीचमा छोराको ट्युमरको अपरेसन भयो । अस्पतालमै बस्नुपर्‍यो । केही दिन अस्पताल बसेपछि केही दिन घर बस्नुपर्थ्यो । घरबाट पनि अस्पताल आउजाउ गर्नुपर्थ्यो । आफ्नै कोठामा जाँदा घरबेटीहरु शंकाको दृष्टिले हेर्थे ।२० दिनअघि कोठामा जाँदा घरबेटीले ‘अबदेखि कोठामा नआउनू कोरोना सर्छ’ भनेर धम्क्याए।‘जाने ठाउँ अन्त नभएको भन्दै’ उनले याचना गरिन् । तर, घरबेटीले उनको याचना सुनेनन् ।१० दिनपछि कोठामा जाँदा फेरि घरबेटीले धम्काए । फेरि कोठामा गए घरबाट निकालिदिने धम्की दिए ।

अस्पतालबाट डिस्चार्ज हुन अब २ दिन बाँकी छ । आफ्नै कोठामा जान उनलाई हिम्मत आएको छैन । अन्त जाने कतै ठाउँ छैन । काठमाडौं शहरमा आफन्त छैनन् । लकडाउनको कारण श्रीमान गाउँमै अड्किएका छन् ।ज्याला मजदुरी गरेर खाने मान्छे लकडाउनले गर्दा खर्च जुटाउन पनि मुश्किल भएको बेला झन् समस्या थपियो’ राधा भन्छिन्, ‘ ऋण गरेको पैसा सकियो, काठमाडौंमा बास नपाइने भइयो ।’

कान्ति बाल अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. विष्णुरथ गिरीका अनुसार अहिले कान्ति बाल अस्पतालमा क्यान्सर लागेका करिब साढे ४ सय बालबालिका ‘इन्टेन्सिभ फेज’मा छन् । यो अवस्थाका बालबालिकालाई अत्यन्तै हाइ डोजको औषधि चलाउनुपर्छ । दिन बिराएर अस्पताल धाउनुपर्छ ।घरबेटीले धेरै दु:ख दिएको गुनासो यस्ता बिरामीका परिवारहरुबाट आउने गरेको उनी बताउँछन् ।

गिरीका अनुसार क्यान्सरका बिरामीलाई कम्तीमा पनि चार/पाँच वर्ष लगातार उपचार गर्नुपर्छ । काठमाडौंमै नबसे उपचार असम्भव हुने भएकाले अनिवार्य काठमाडौंमा कोठा लिएर बस्नुपर्छ । नियमितजसो अस्पताल फलोअपका लागि धाउनुपर्छ । सोही कारण क्यान्सरका बिरामीका अभिभावकहरु यतिबेला धेरै मारमा छन् ।हामीकहाँ पहिले नै भर्ना भएकालाई कोभिड जाँच गर्दैनौं, किनकी, प्रोटोकल अनुसार उनीहरुलाई जाँच हुँदैन’ डा. विष्णुरथ भन्छन्, ‘नयाँ आउनेहरुलाई त हामीले कोभिड जाँच गराएरै भर्ना गराउँछौं, त्यसैले घरबेटीहरु डराउनुपर्ने कारण देख्दिनँ ।’

उनका अनुसार कोभिड महामारी नभएका बेलामा पनि क्यान्सर वार्ड सफा नै हुन्छ । संक्रमण नसरोस् भनेर उच्च सतर्कता अपनाइएको हुन्छ । कान्तिमा कोभिड पोजेटिभ बिरामी कोही नभएकाले पनि त्यहाँ आउजाउ गर्दैमा संक्रमण सर्छ भन्ने डर हुन्न ।‘मानिसहरु त्यतिकै डराउँदा अस्पताल आउनैपर्ने मानिसहरुलाई एकदमै गाह्रो भयो’ उनी भन्छन्, ‘घरबेटीहरुले यही तरिकाले अस्पताल आउजाउ गर्न दिएनन्, भने त बिरामीको ज्यान तलमाथि हुन सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *