शरीर सुनियो भनेर अस्पताल पुगी उपचार गरि क्वारेन्टिनमा फर्केका ३४ वर्षीय थापाको निधन

भारतीय बजार नौतनवाको क्वारेन्टिनमा रहेका एक नेपालीको निधन भएको छ । रोजगारीका लागि भारत गएका स्याङ्जाका हरिनाश गाउँपालिका –२ का ३४ वर्षीय देवबहादुर थापाको नौतनवास्थित राजीव गान्धी कलेजको क्वारेन्टिनमा आज बिहान निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

यही जेठ ५ गतेदेखि क्वारेन्टिनमा रहनुभएका थापालाई हर्नियाको समस्या रहेको तथा शरीरका विभिन्न भाग सुन्निएकाले शुक्रबार जिल्ला सदरमुकाम महाराजगञ्ज अस्पतालमा उपचारपछि पुनः क्वारेन्टिनमा ल्याइएको नेपाल भारत सीमा स्थित बेलहिया प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए । उनका अनुसार थापा अलिगढबाट आफ्ना भिनाजुसँगै पैदल हिँडेर स्वदेश फर्किनेक्रममा सीमासम्म आइपुगेका थिए । शव परीक्षणका लागि महाराजगञ्ज अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

उनी भारतको अलिगढबाट केही दिन पैदल हिँडेर मुलुक फर्किने आशामा सीमामा पुगेका थिए। तर, सरकारले प्रवेश अनुमति नदिदाँ उनलाई सीमावर्ती भारतीय बजार नौतनवाको क्वारेन्टाइनमा राखिएको थियो। मृतक थापासगँ उनको भिनाजु पनि क्वारेन्टाइनमा छन्। ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले मृतक थापा भारतको दिल्ली नजिकैको अलिगढ भन्ने स्थानमा रोजगारी गर्ने गरेको र उनी मृगौलाको बिरामी भए पनि पछिल्लो पटक हर्नियाको पनि बिरामी रहेको जनाएका छन्। उनमा कोरोना संक्रमण थियो थिएन भन्नेबारे केही पनि जानकारी नभएको उनले बताए।

सीमामा पुगेर अलपत्र पर्ने नेपाली नागरिकलाई नौतनवास्थित स्थापना गरिएको विभिन्न क्वारेन्टाइनमा राख्ने गरिन्छ। उनले घटनाबारे नेपालको स्थानीय प्रशासनलाई जानकारी गराएको र उनीहरु आएर अवस्थाबारे जानकारी लिइरहेको बताए। उक्त क्वारेन्टाइनमा १ सय ३९ जना नेपाली रहेको बताइएको छ। मृतकको शव पोस्टमार्टमका लागि महाराजगंज जिल्ला अस्पतालमा पठाइएको र पोस्टमार्टम पश्चात निधनको कारण खुल्ने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *