गोर्खा भर्तीमा कडाइ गर्ने नेपालको तयारीलाई पूर्व भारतीय राजदूत मञ्जीभसिंह पुरीको चुनौती

काठमाडौं। अघिल्लो हप्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको गोर्खा सैनिक भर्तीसम्बन्धी सम्झौताको अहिले औचित्य समाप्त भइसकेको भन्दै यसको समीक्षा गर्नुपर्ने बताएका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले तत्कालीन समयमा यो सम्झौताले ठूलो संख्यामा रोजगारीको सृजना गरेको भए पनि त्यो अतीतको विरासत भएको र अहिलेको समयमा त्यसको औचित्य नभएको बताएका थिए । परराष्ट्रमन्त्री ज्ञवालीको यो भनाइले अब नेपालले सहज रुपमा भारतीय सेनालाई गोर्खा सैनिक नदिने तयारी गरेको रुपमा बुझिएको थियो ।

नेपालले गोर्खा सैनिक भर्तीमा कडाइ गर्ने र सम्भवतः बन्द नै गर्न सक्ने संकेत गरेपछि नेपालका लागि भारतीय पूर्वराजदूत मञ्जीभसिंह पुरीले यसलाई चुनौती दिएका छन् । भारतीय अखबार दैनिक ट्रिब्युनमा एक लेख लेख्दै पुरीले भारतीय सेनामा नेपाली गोर्खालीहरुको प्रवेश बेलायत र नेपालबीच १६१६ मा भएको सुगौली सन्धिपछि भएको कुरालाई समेत अस्वीकार गरेका छन् । अहिलेसम्म नेपाली युवाहरुलाई विदेशी सेनामा भर्ती हुने पहिलो ढोका बेलायती सेनाको गोर्खा भर्तीले खोलेको मानिँदै आइएको छ तर पुरीले यसलाई पूरै अस्वीकार गरेका छन् ।

पुरीले लेखेका छन् ‘आजको मितिमा नेपालमा भारतीय सेनाका गोर्खा सैनिकहरु लाहुरे भनेर चिनिन्छन् । अर्थात उनीहरु जो लाहोरको दरबारमा सेवा गर्न गएका थिए !’ पृथ्वीनारायण शाहले १७६९ मा नेपाल एकीकरण सुरु गरेर नेपालको क्षेत्र विस्तार गर्दै जाने क्रममा १८०९ मा कुमाउँ र गढवाल कब्जा गरेर कांगडासम्म पुगेपछि त्यहाँ शिख सेनाले गोर्खाली सेनालाई रोकेको र गोर्खाली सेनाले शिख महाराजा रणजीत सिंहसँग सम्झौता गर्नुपरेको पुरीले लेखेका छन् । स्मरणीय छ पुरी स्वयं शिख समुदायका हुन् ।

यही कांगडाको भिडन्तमा गोर्खालीको शौर्य र पराक्रमबाट प्रभावित भएका महाराजा रणजीत सिंहले गोर्खालीहरुलाई आफ्नो सेनामा सहभागी हुन बोलाएको र आधुनिक भारतको इतिहासमा पहिलोपटक गोर्खालीहरुलाई भर्ती गरेको पुरीले उल्लेख गरेका छन् । ‘१८४५ मा पहिलो अंग्रेज–शिख युद्धमा शिख सेनाको फौज ए खासले गोर्खा पल्टनको गौरव देखाएको थियो’ उनले लेखेका छन् । त्यतिबेलै लाहोर दरबारले भर्ती गरेका गोर्खालीहरु लाहुरे भनेर चिनिन थालेको उनको दावी छ ।

नेपाली गोर्खाली सैनिकसँगै शिख सैनिकले समेत तत्कालीन ब्रिटिश इण्डियालाई प्रभावित पारेको र त्यतिबेलै शिख सैनिकको पनि सेनामा उस्तै किसिमको उपस्थिति रहेको उनले लेखेका छन् । पहिलो विश्वयुद्धका क्रममा जुलाइ १९१४ देखि नोभेम्बर १९१८ सम्म ब्रिटिस इण्डियाको सेनाले करिब ८ लाख सैनिक भर्ती गरेको थियो जसमा ९० हजार शिख र ५६ हजार गोर्खाली थिए । ब्रिटिश इण्डियन सेनाको २० प्रतिशत हिस्सा शिख र गोर्खालीले ओगटेको उनले लेखेका छन् ।

भारतमा रहेका ७ गोर्खा रेजिमेन्टका ३८ बटालियनमा पहिले नेपालीहरु मात्र हुने गरेकोमा अहिले एक तिहाइ भारतीय गोर्खा समुदायका भएको उनले लेखेका छन् । यसले भारतमा गोर्खा समुदायको बढ्दो जनसंख्या र उनीहरुको सेनामा भर्ती हुने चाहनालाई प्रतिबिम्बित गर्ने उल्लेख गर्दै पुरीले लेखेका छन् ‘२०१५ मा स्थापित ३९ औं गोर्खा बटालियनमा भारतीय गोर्खाली मात्र छन् । यदि नेपाल सरकारले नेपाली गोर्खा भर्तीमा कडाइ गर्छ भने भारतमा रहेका गोर्खा समुदायले भारतीय सेनाको गोर्खा रेजिमेन्टलाई दिगो बनाउन योगदान गर्नुपर्छ । अवश्य पनि, उनीहरु आफ्नो गृहनगर र गाउँमा लाहुरे भनेर चिनिने छैनन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *