ब्राजिललाई पछि पार्दै भारत बन्यो दोस्रो बढी कोरोना संक्रमित भएको देश

काठमाडौं– कोरोना भाइरस संक्रमित संख्याका आधारमा तेस्रो स्थानमा रहेको भारत ब्राजिललाई पछि पार्दै दोस्रो स्थानमा पुगेको छ। सोमबार अमेरिकालाई पछ्याउँदै भारत दोस्रो स्थानमा पुगेको हो।

जोन्स होप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार भारतमा ४२ लाख ४ हजार ६१३ जना कोरोना संक्रमित पुगेका छन्। भारतको लगत्तै पछि रहेको ब्राजिलमा भने ४१ लाख ३७ हजार ५२१ जना संक्रमित पुगेका छन्। शीर्ष स्थानमा रहेको अमेरिकामा भने ६२ लाख ७६ हजार ३६५ जना संक्रमित रहेको विश्वविद्यालयको तथ्यांक छ।

मृतक संख्याका आधारमा भने भारत तेस्रो स्थानमा नै छ। भारतमा ७१ हजार ६४२ जना संक्रमितको मृत्यु भएको छ भने ब्राजिलमा १ लाख २६ हजार ६५० संक्रमितको मृत्यु भएको छ। शीर्ष स्थानको अमेरिकामा १ लाख ८८ हजार ९४१ जनाको मृत्यु भएको तथ्यांक विश्विद्यालयले अद्यावधिक गरेको छ।

भारतमा २४ घण्टामा ९० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार ९० हजार ८ सय २ संक्रमित थपिएका हुन्। यस्तै, २४ घण्टामा १ हजार १६ जनाको मृत्यु भएको छ।

सबैभन्दा धेरै संक्रमित निको भएको देशको शीर्ष स्थानमा भने ब्राजिल छ। त्यहाँ ३५ लाख २२ हजार १५५ जना निको भइसकेका छन्। दोस्रो स्थानमा रहेको भारतमा ३२ लाख ५० हजार ४२९ जना निको भएका छन् भने अमेरिकाले भारतलाई पछ्याइरहेको छ। अमेरिकमा २३ लाख १५ हजार ९९५ जना निको भएका छन्।

हाल विश्वभरमा २ करोड ७१ लाख ३ हजारभन्दा बढी संक्रमित रहेका छन् भने १ करोड ८१ लाख ३७ हजारभन्दा बढी निको भएका छन्। विश्वभर मृतकको संख्या ८ लाख ८३ हजार ३९९ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *