रुसमा बनेको भ्याक्सिन प्रभावकारी भएको दाबी कति दमदार ?

रुसका वैज्ञानिकले आफ्नो देशमा बनेको कोरोनाभाइरस भ्याक्सिनबारे पहिलो रिपोर्ट प्रकाशित गर्दै भ्याक्सिनको सुरुवाती परीक्षणमा यसले रोगबाट लड्ने प्रतिरोधी क्षमता विकसित गराएको जानकारी दिएका छन् ।

मेडिकल जर्नल द लान्सेटमा प्रकाशित रिपोर्टमा खोप परीक्षणमा भाग लिने सबै व्यक्तिमा कोरोनाभाइरससँग लड्नका लागि एन्टीबडी बनेको र यसले कुनै गम्भीर साइड इफेक्ट पनि नगरेको उल्लेख गरिएको छ ।

रुसले अगस्ट महिनामा नै स्थानीयका लागि यो भ्याक्सिन प्रयोग गर्न मञ्जुरी दिएको थियो । यससँगै अनुसन्धानको डाटा प्रकाशित हुनु अघि नै खोपलाई मञ्जुरी दिने रुस पहिलो देश बन्यो ।

यद्यपि, विशेषज्ञले भ्याक्सिनको परीक्षण निकै कम स्तरमा गरेकोले यो प्रभावकारी र सुरक्षित भएको प्रमाणित गर्न मुश्किल भएको बताए ।तर रुसले आफ्नो परीक्षणको हालै प्रकाशित परिणामलाई आलोचनाको जवाफ बताएको छ । केही पश्चिम विशेषज्ञले जुन गतिले यो भ्याक्सिन बनाइएको छ, त्यसमाथि चिन्ता जताएका छन् र अनुसन्धानकर्ताले सायद पूरा प्रक्रिया पालना नगरेको पनि आशंका ती विशेषज्ञले गरेका छन् ।

गत महिना रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यो भ्याक्सिनले सबै आवश्यक प्रक्रिया पूर गरेको बताउँदै उक्त भ्याक्सिन आफ्नी एक छोरीलाई समेत दिइएको दाबी गरे ।

रिपोर्टले के भन्छ ?

यो भ्याक्सिनलाई स्पुतनिक–भी नाम दिइएको छ । यो भ्याक्सिनको दुईवटा ट्रायल जून र जुलाईको बीचमा गरिएको थियो । द लान्सेटका अनुसार हरेक ट्रायलको क्रममा ३८ स्वस्थ स्वयंसेवकलाई भ्याक्सिन दिइयो र त्यसको तीन हप्तापछि बूस्टर भ्याक्सिन दिइयो ।

यी परीक्षणमा भाग लिनेहरुको उमेर समूह १८ देखि ६० वर्ष रहेको छ । उनीहरुलाई ४२ दिनसम्म निगरानीमा राखियो र तीन हप्ताभित्र सबैमा एन्टीबडी बिकसित भएको पाइयो । यद्यपि, लगभग सबैमा जुन सबैभन्दा सामान्य साइड–इफेक्ट पाइएको थियो त्यो टाउको र जोर्नी दुखाई थियो ।

तेस्रो चरणको ट्रायलका लागि करिब ४० हजार व्यक्तिलाई समावेश गरिन्छ । यी सबै भिन्न भिन्न उमेर र भिन्न भिन्न रिस्क ग्रुपका थिए ।

तर अझै लामो यात्रा गर्न बाँकी नै छः

फिल्लिपा रोक्स्बी, बीबीसी स्वास्थ्य संवाददाताःबेलायतका केही वैज्ञानिकले ताजा नतिजाले निश्चित रुपमा उत्साह बढाएको बताए । यद्यपि, यसले अझै लामो यात्रा निश्चित गर्न बाँकी नै छ ।

भ्याक्सिनको फेज टुको ट्रायलमा सबैमा एन्टीबडी प्रतिक्रिया देखिएपनि यसको अर्थ यसले भाइरसबाट सुरक्षा दिन्छ भन्ने नै छैन । यो कुराको अझै पुष्टि हुन बाँकी छ ।

यो परिणामले हामी यो भन्न सक्छौं कि यो भ्याक्सिनको डोज १८ देखि ६० वर्षका स्वस्थ व्यक्तिमा ४२ दिनसम्म सुरक्षित देखिन्छ । तर कोरोनाभाइरसको अत्यधिक खतरा भएका ज्येष्ठ नागरिक र कुनै स्वास्थ्य समस्या जुधिरहेका मानिसहरुलाई यसले सुरक्षा दिन्छ त ? र भविष्यमा यो भ्याक्सिनले यी मानिसहरुलाई कहिलेसम्म सुरक्षित राख्न सक्छ भन्ने प्रश्नको जवाफ पनि पाउन सकिएको छैन ।

यो प्रश्नको जवाफ धेरैभन्दा धेरै परीक्षण र योजना नै नबनाएको परीक्षणमार्फत् मात्रै पाउन सकिन्छ ।यहाँ यो बुझ्न जरुरी छ कि एउटा भ्याक्सिनको असर सबैमा एउटै हुन्छ भन्ने जरुरी छैन ।

कस्तो प्रतिक्रिया छ ?

भ्याक्सिन बनाउने क्रममा रुसी लगानी कोषका प्रमुख किरिल दिमित्रिकले एक पत्रकार सम्मेलनमा भनेका थिए, ‘यो रिपोर्ट ती हरेक व्यक्तिका लागि जवाफ हो जसले यसबारे शंका गरिरहेका थिए र रुसमा बनेको या भ्याक्सिनको आलोचना गरिरहेका थिए । ’उनका अनुसार ट्रायलको अर्को चरणका लागि तीन हजार व्यक्तिलाई पहिले नै चयन गरिसकिएको छ ।

रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले उच्च जोखिममा रहेकालाई ध्यानमा राख्दै नोभेम्बर वा डिसेम्बरसम्म भ्याक्सिन दिन सुरु गरिने जानकारी दिए ।तर विशेषज्ञले भ्याक्सिन बजारमा ल्याउने बेलासम्म एउटा लामो यात्रा निश्चित गर्न अझै बाँकी भएको भन्दै चेतावनी दिएका छन्।

लण्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा माइक्रोबायल प्याथोजेनेसिसका प्राध्यापक ब्रेन्डेन वेनले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘यो रिपोर्ट यस्तो छ कि जे छ राम्रो छ ।’

यस्तै विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरी करिब १ सय ७६ भ्याक्सिनमा काम चलिरहेको छ जसमध्ये करिब ३४ को मानिसमाथि परीक्षण परीक्षण गरिएको छ । यीमध्ये ८ वटा तेस्रो चरणमा छन् ।

स्रोतः बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *