काठमाडौँमा धमाधम घरका कोठा खाली हुन थाले, घरबेटीले घटाउन थाले भाडा

काठमाडौं । जडिबुटी नरेफाँटका प्रकाश सुवेदीको तीन तलाको घर अहिले खाली छ । कुनै बेला एउटै कोठालाई साढे ६ हजारसम्म लिने सुवेदीले घर खाली भएपछि दश हजारमा तीनवटा कोठा भाडामा दिने निर्णय गरे । उनले सस्तोमा कोठा भाडामा दिने थाहा पाएपछि उनको घरमा अहिले छिमेकीकै घरमा बस्ने डेरावाला सरेका छन् । बानेश्वरकी रिना कार्कीको घर पनि आँशिक खाली भएको छ । घरमा बसेकाहरु पनि यो भन्दा सस्तो भाडा पाएर अन्तै जाने हुन् की भन्ने त्रासले सताएको कार्की बताउँछिन् ।

राजधानी काठमाडौँ, जहाँ देशका ७७ वटै जिल्लाबाट अनेकन सपना बुनेर मानिसहरु भित्रन्छन् । उच्च शिक्षा, रोजगारी, बालबच्चाको राम्रो शिक्षालगायतको उद्धेश्य बोकेर कैयौँ मानिसहरु काठमाडौं उपत्यका भित्रिने गरेका छन् । काठमाडौलाई नै कर्मथलो बनाउनेहरु बढेपछि पछिल्लो समय काठमाडौमा मानिसहरुको चाप बढ्दै गइरहेको यथार्थपनि छर्लंग नै छ ।

मानिसहरुको अत्यधिक चाप भएपछि काठमाडौमा कोठा पाउन निकै मेहनत गर्नुपर्ने अवस्थासँगै चर्को भाडा असुल्थे घरबेटी । कतिपय घरबेटीको जिविकोपार्जनको मुख्य स्रोत नै घरभाडा बनेको थियो । तर, कोरोनाभाइरसको महामारीसँगै अहिले अवस्था फरक बनेको हो । अर्थात उपत्यकामा भाडामा लगाइने कोठाहरु खाली हुन थालेका छन् भने विगतको तुलनामा यस्तोमा पनि पाउन थालिएको छ ।

कोरोना माहामारीका कारण चैत ११ देखि भएको लकडाउनका कारण कैयौँ गाउँघर फर्केका छन् । व्यापार, व्यवसाय, शिक्षा, रोजगारी सबै बन्द छन् । कर्मथलोमा बाँच्न नसक्ने देखेपछि जन्मथलोतिर गएकाहरु फर्केका छैनन् । जसका कारण अहिले काठमाडौंमा घरभाडामा सहजै पाउन थालिएको हो । त्यसैले त सुवेदी र कार्की जस्ता कयौँ घरबेटीले अहिले भाडा घटाएरै भएपनि भाडामा बस्नेहरुलाई घरमा राखिरहेका छन्।

घरमात्र होइन व्यावसायिक सटरहरुमा पनि अधिंकाश टु लेट लेखेर फोन नम्बर छोडेको देखिन्छ । काठमाडौमा झण्डै ४० प्रतिशत पसल तथा व्यवसाय खाली हुँदै गएको राष्ट्रिय व्यवसायी महासंघले बताउँदै आएको छ । कोरोनाअघिसम्म काठमाडौँमा कतिपयले घर भाडामा लगाएर राम्रो आम्दानी हुने लोभमा धमाधम घर समेत बनाए । तीनै घरबेटी अहिले घर खाली हुँदा अन्य घरमा बस्ने डेरावाललाई कम भाडादरको लोभ देखाएर तानिरहेका छन् । मानौँ अहिले काठमाडौँमा घरबेटीहरुबीच भाडा घटाउने प्रतिस्पर्धा नै चलेको छ, जसरी बैंकहरुबीच ऋणी तानातानको प्रतिस्पर्धा चलिरहेको छ ।

कोरोना माहामारी तत्काल अन्त्य हुने नदेखिएपछि घर फर्केकाहरु अहिले नै काठमाडौ आइहाल्ने पक्षमा छैनन् । बरु उनीहरु अहिले काठमाडौंमा बस्दै आएको कोठामा भएका सामान अन्यत्र व्यवस्थापनमा जुटेका छन् । कसैले गाउँनै लगेका छन् भने कसैले आफन्त या अन्य सस्तो पर्ने ठाउँमा व्यवस्थापन गरिरहेका छन् । यसो त कुनैबेला चर्को भाडा असुल्ने काठमाडौँका अधिकांश घरधनीले महामारीको समयमा समेत घरभाडा छुट दिएनन् । सरकारले एक महिलानाको घरभाडा छुट दिन आग्रह गरेपनि अधिकांश घरबेटीले बहानाबाजी गरेर छुट नदिएका हुन् ।

डेरावाल संघका अध्यक्ष बलबहादुर खनालका अनुसार देशभर ६७ प्रतिशत डेरावाला छन् । अहिले काठमाडौंमा रहेका करिब १८ लाख मानिस बाहिरिएका छन् । त्यसमा १० लाख पुनः फर्कने सम्भावना रहेको छ । ‘कोरोना माहामारीपछि अहिले मानिसले जन्मथलो रोज्न थाले, पहिले कर्मथलो रोज्थे । आर्थिक रुपमा कर्मथलोमा अभाव भयो त्यसकारण जन्मथलो रोजे’, उनले भने, ‘ जन्मथलोमा कम्तिमा आफूसँग भएको जग्गा जमिन सदुपयोग गरेर भएपनि जीवन गुजारा त चल्छ ।’

कोरोना माहामारीकै कारण अहिले वैदेशिक रोजगारमा गएकाहरु विस्तारै फर्कँदैछन् । अहिले मािसनलाई बहाल तिरेर वस्नुभन्दा गाउँमै बस्नु उपयुक्त हो भन्ने भएको छ । खनाल भन्छन्, ‘गाउँका मानिस शहरमा नआउँदा आर्थिक गतिविधि न्युन हुँदोरहेछ भन्ने अहिले प्रमाणित भएको छ। हरेक शहरमा खुलेका पसलमा एक दुई प्रतिशत ग्राहक पनि आउँदैनन्, किनभने बाहिरका मानिसहरु पैसाको पोको बोकेर काठमाडौ छिरेकै छैनन् । घरबहाल घटेको छ तर पनि बस्ने मानिस छैनन् ।’

आफूहरुले ५० प्रतिशत छुटको माग गर्दा घरबेटीहरुले बेवास्ता गरेको उनले बताए । उनले भने, ‘घरबेटी र डेरावाला दुबै बाँचोस भनेर ५० प्रतिशत छुट मागेका थियौँ । तर बेवास्ता भयो । हिजो भाडामा प्रतिस्पर्धा गरेर कोठा भाडा बढाउँथे, अहिले घटाउन प्रतिस्पर्धा भएको छ । तर पनि बस्ने मान्छे छैनन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *