प्रचण्डलाई नेकपामा कार्यकारी अधिकार ! ‘मूलतः’ हट्यो

२४ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अधयक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकको एजेण्डा तय गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका ओली र अर्का अध्यक्षबीच बुधबार भएको भेटमा एजेण्डाबारे सहमति जुटेको हो । ‘कार्यदलको प्रतिवेदनलाई नै उहाँहरुलाई अन्तिम रुप दिनु भएको छ’ स्रोतले भन्यो, ‘कार्यकारी अध्यक्षको मूलतः शब्द हटेको छ ।’

कार्यदलको प्रतिवेदनमा यो प्रतिनिधिसभाको कार्यकालभर अध्यक्ष ओलीले नै सरकारको नेतृत्व गर्ने र अर्का अध्यक्ष प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्ने भनिएको छ ।

प्रचण्डको अधिकारबारे कार्यदलको प्रतिवेदनको भाषा यस्तो छ, ‘अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकारसहित मूलतः पार्टीका बैठकहरुको सञ्चालन, निर्णय कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने ।’

कार्यकारी अधिकारसहित मूलतः पार्टी सञ्चालन गर्ने भनेपछि वरिष्ठ नेता माधवकुमार नेपालले त्यसमा प्रश्न उठाएका थिए । पछिल्लो सचिवालय बैठकमा नेता नेपालले कार्यदलको प्रतिवेदन अपूर्ण भएको भन्दै केही प्रश्न उठाएका थिए ।

बुधबारको छलफलमा ओली, प्रचण्डलाई पार्टीमा कार्यकारी अधिकार दिन सहमत भएका छन् । आफूसँग सहमति र महासचिव विष्णु पौडेलसँग परामर्श गरेर पार्टी सञ्चालनको अधिकार प्रचण्डलाई दिन उनी सहमत भएका हुन् ।

त्यही सहमतिअनुसार बैठकको स्थायी कमिटी बैठकको एजेण्डा तय गरिएको छ ।स्रोतका अनुसार ओली र प्रचण्ड २६ गते बोलाइएको स्थायी कमिटी बैठक छोट्याउने पक्षमा छन् । ‘उहाँहरु एकैदिनमा बैठक सक्ने तयारीमा हुनुहुन्छ’ एक नेता भन्छन्, ‘तर बैठक सकिने नसकिने अरु नेताहरु कसरी प्रस्तुत हुन्छन् भन्नेमा भरपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *