काठमाडौं। पैसा कमाउनको लागि दिनरात मेहनत गर्नुपर्छ । कैयौं पटक त यस्तो हुन्छ कि मेहनत गरेर पनि केही हात लाग्दैन । के तपाइँले कहिल्यै सोच्नुभएको छ कि सुतिरहँदा तपाइँ लाखौं रुपैयाँ कमाउँदै हुनुहुन्छ ? शायद सुत्दा पैसा कमाएको सपना देख्नुभएको होला । तर, एक ट्याक्सी ड्राइभरले भने मस्तसँग सुतेर लाखौं रुपैयाँ कमाएका छन् । यो कुरा थाहा पाउँदा तपाइँलाई आश्चर्य लाग्यो होला तर यो सत्य हो ।

बिजनेस इनसाइडरको रिपोर्टअनुसार लस एन्जल्सका २६ वर्षका यी युवक एसियन एन्डी नामको युट्युब च्यानल चलाउँछन् । उनले ७ घण्टा सुतेर त्यसको लाइभस्ट्रिम गरे । उनले सुतेर लाइभस्ट्रिम गरिरहेका बेला उनलाई कसैले डोनेसन दिए भने चर्को संगीत बज्थ्यो

र उनलाई आएको सन्देश कम्प्युटरले अर्को आवाजमा पढ्थ्यो । सुतिरहेका उनलाई उठाउन मानिसहरुले धेरै प्रयास गरे । यस क्रममा धेरै मानिसहरुले उनलाई पैसा पठाए ।

भिडियो अपलोड गरेपछि ती युवकले १६ हजार डलर (१८ लाख ५० हजार रुपैयाँ) कमाएका छन् । अहिलेसम्म यो भिडियो लाखौंले हेरेका छन्। उनले आफूलाई यति धेरै डोनेसन गर्नेहरुलाई धन्यवाद

दिएका छन् र आफू एक ट्याक्सी ड्राइभर भएको खुलासा गरेका छन् । उनका अनुसार उनी दिनमा मुस्किलले १६ डलर कमाउन सक्थे । उनले सुतेर यति धेरै पैसा कमाउनु सपनाजस्तै भएको बताएका छन् ।