कास्कीमा कांग्रेसको सानदार तयारी, एकैपल्ट खटिए ३ हजार ५ सय सिपाही !

पोखरा – आगामी मंसिर १४ गते कास्कीमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि नेपाली कांग्रेसले ३ हजार ५ सय ५१ सदस्यीय चुनावी प्रचार मोर्चा तयार पारेर राजनीतिक सिपाही परिचालन गरेको छ ।

जिल्ला सभापति कृष्ण केसी संयोजक रहेको मोर्चाको मूल समितिमा निर्वाचन हुने क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति माधवप्रसाद बाँस्तोला ‘मधु’ र पोखरा महानगरका सभापति बजिरमान श्रेष्ठ सहसंयोजक रहेका छन् ।

उपनिर्वाचनका क्रममा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले वडा तहसम्म नै चुनावी दस्ता खडा गरेको छ । कास्की क्षेत्र नम्बर २ का नेता कार्यकर्ताको भेलाले पोखरा महानगर–४ मा नेता तथा पूर्वमन्त्री यज्ञबहादुर थापालाई संयोजक तोकेको जनाइएको छ ।

महानगर–७ मा शुक्रराज शर्मा, वडा नम्बर ८ मा तारानाथ रानाभाट, वडा नम्बर ९ मा वीरेन्द्रनारायण बिजुक्छे, वडा नम्बर ११ मा शारदा पौडेल, वडा नम्बर १५ मा बिन्दादेवी आलेराना, वडा नम्बर १६ मा कुमार खड्का निर्वाचन परिचालनको नेतृत्व गर्ने जिम्मेवारीसहित संयोजक बनाइएको छ ।

यसैगरी पोखरा महानगर–१७ मा कृष्णबहादुर केसी, वडा नम्बर २० मा बिन्दुकुमार थापा, वडा नम्बर २१ मा गुरु बराल र वडा नम्बर ३३ मा जीवन परियारलाई संयोजक बनाइएको छ ।

भेलाले २६ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकारमा सक्रिय राजनीति छाडेका तर समाजमा प्रभाव जमाउन सक्ने पुराना कांग्रेस नेता कार्यकर्तालाई समावेश गरिएको छ ।

कांग्रेसले जितेर देखाउने रणनीति अनुसार विभिन्न उपसमिति समेत तयार पारेको छ । कांग्रेस कास्कीका सभापति कृष्ण केसीले जिम्मेवारी पाएका संयोजकहरूलाई आ–आफ्नो क्षेत्रमा पुगेर यथाशक्य काम थाल्न निर्देशन दिएका छन् ।

कांग्रेसले पुराना नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । प्रतिस्पर्धामा सत्तारुढ नेकपाबाट स्व. रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराई चुनावी मैदानमा छिन् ।

स्व. अधिकारीको निधनका कारण भावनात्मक भोट तान्न विद्यालाई उम्मेदवार बनाएपनि कम्युनिस्ट सरकार बदनाम भएको, गफ मात्रै गर्ने र काम केही देखाउन नसकेकाले कारण कांग्रेसले जित्ने सम्भावना रहेको कांग्रेस नेताहरूको दाबी छ ।

Source :mediadabali

Leave a Reply

Your email address will not be published. Required fields are marked *